coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

यस्ता छन् कार्कीविरुद्धका सात अभियोग

काठमाडौं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको प्रस्तावबारे सत्तागठन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र अनिर्णीत रहे पनि संसद्मा मंगलबारदेखि उक्त प्रस्तावबारे छलफल सुरु भएको छ।

सत्तारुढ दल माओवादीका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद भानुभक्त ढकाल समर्थक रहेको कार्कीविरुद्धको महाभियोग प्रस्ताव एक साताअघि संसद्मा दर्ता भएको थियो। प्रस्तावमा एमालेका एक सय सात र माओवादीका ५० जना सांसदले हस्ताक्षर गरेका छन् । संविधानको धारा २३८ को उपधारा ४ (ग) बमोजिम संसद्मा दर्ता गरिएको उक्त प्रस्तावमा कार्कीलाई  राज्यविरोधी जघन्य अपराध गरेको समेत आरोप लगाइएको छ ।

प्रस्तावमा कार्कीले अख्तियारजस्तो संवैधानिक निकायलाई आफू अनुकूल प्रयोग गरी चरम भ्रष्टाचार र पदको दुरूपयोग गरेको आरोपसमेत छ ।

कार्कीविरुद्ध महाभियोग लगाउनुका कारण

– सार्वजनिक महŒवका विषयमा छलफल गर्न संसद्ले बोलाउँदा डाक्टरले नबोल्नू भनेको छ भन्ने गरेको । तर, सोही समयमा टेलिभिजनका पत्रकारसँग कुरा गरेको । कार्कीले सार्वभौम संसद्लाई अपहेलना गरी चुनौती दिएको ।

–व्यवस्थापिका, न्यायपालिकाले जारी गरेको म्याद तामेलीमा अवरोध सृजना गरी जघन्य अपराध गरेको । न्याय दिने संस्थालाई अनुचित विलम्ब गरी अदालतको अपहेलना गरेको  ।

–नजिकका नातागोताविरुद्ध परेका भ्रष्टाचारजन्य मुद्दालाई प्राकृतिक न्याय सिद्धान्त र मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नम्बर विपरीत आफैंले निर्णय गरी उजुरी तामेलीमा राखेको ।

–नाता पर्ने व्यक्तिले लगानी गरेको किस्ट मेडिकल कलेजलाई क्षमताभन्दा बढी एमबिबिएस कोटा बढाउन दबाब दिएको । काठमाडौं मेडिकल कलेजको एमबिबिएस प्रवेश परीक्षामा अनावश्यक हस्तक्षेप गरेको ।

–दलका नेता, सुरक्षा अंगका प्रमुखको गुप्तचरी गर्न, कल डिटेल बुझ्ने, फोन ट्यापिङ गर्नेजस्ता जासुसी कार्यमा संलग्न रही राज्यविरोधी कसुरमा संलग्न रहेको ।

–अख्तियार दुरूपयोग अनुसन्धान आयोगभित्र छुट्टै गुट खडा गरी अन्य आयुक्तलाई जानकारी नदिई, निर्णय प्रक्रियामा सामल नगराई अपारदर्शी र एकलकाँटे रूपमा आफूअनुकूल काम गरेको ।

–काठमाडौं उपत्यका विकास प्राधिकरण लगायत सरकारी निकायमा भएका अनियमितताबारे परेका उजुरीलाई अपारदर्शी रूपले तामेलीमा राखेको ।

–कसैले गल्ती, अनियमितता वा भ्रष्टाचार गरे÷नगरेको बारे रखबारी गर्नुपर्नेमा पद र शक्तिको दुरूपयोग गरी गुप्तचरी संस्था, प्रहरी, प्रशासनलाई आफूअनुकूल चल्न र निर्णय गर्न बाध्य पारी अख्तियारको दुरूपयोग गरेको ।

–भ्रष्टाचारजन्य क्रियाकलापको गम्भीर अनुसन्धान गरी प्रमाणका आधारमा मुद्दा दायर गर्ने संवैधानिक अधिकार हुँदा त्यसो नगरेर उल्टै पत्रकार सम्मेलन गरी अनुसन्धान गर्दैछौं भनी प्रचार गरेर व्यक्तिलाई बदनाम गरेको ।

शाहीले मंगलबारको संसद् बैठकमा कार्कीििवरुद्ध महाभियोग लगाउनुपर्ने कारण सुनाएपछि एमाले सांसद ढकालले ती अभियोगमा समर्थन जनाएका थिए । उनले कार्कीविरुद्धका अभियोग अझैं थुप्रै रहेको उल्लेख गर्दै महाभियोग सिफारिस समितिले धेरे खोज्न सक्ने बताए।

कार्कीले संवैधानिक निकायको दुरूपयोग गरी समान्तार सरकार चलाउने उद्देश्यले काम गरेको समेत सांसद ढकालको भनाइ छ । शाहीको प्रस्तावलाई समर्थन जनाउँदै ढकालले मुख्य सचिव लगायतका कर्मचारीलाई १३ पाने सम्पत्ति विवरण मागेर हैरान पारेको समेत खुलाए। ‘पछिल्लो समयमा कार्की सानातिना भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने र आफू अरबौं कमाउन लागे,’ ढकालले भने।

त्यस्तै अघिल्लो वर्ष संसद्को अर्थ समितिले आफ्नो कार्यक्षेत्र बाहिर गएर गरिरहेको क्रियाकलाप रोक्न निर्देशन दिएपछि  अख्तियार प्रमुख कार्कीले तत्कालीन समितिका सभापतिलाई नै पत्र काट्ने काम गरेको ढकालले खुलाए । नागरिक समाजका अगुवा र सामाजिक अभियन्तामाथि कार्की पूर्वाग्रही रूपमा लागेको समेत महाभियोग प्रस्तावलाई समर्थन जनाउने सांसद ढकालले बताए।

प्रकाशित: १० कार्तिक २०७३ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App