coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ताप खोलाको पुल निर्माण सुरु

सप्तेश्वर र खार्मी जोड्ने ताप खोलामा पुल निर्माणका लागि जग खनिँदै। तस्बिर: दमन राई/नागरिक

खोटाङ – केपिलासगढी गाउँपालिका प्रवेश गर्ने प्रमुख मार्गको तापखोलामा मोटरेबल पुल निर्माण थालिएको छ। सो गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने हुर्लुङ–जालपा–बाक्सिला सडकखण्डअन्तर्गत ताप खोलामा गाउँपालिकाकै तीन करोड ८३ लाख २६ हजार रुपैयाँ लागतमा पुल निर्माण थालिएको हो।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी जोड्ने २५ मिटर लम्बाइको पुल निर्माणका लागि गत फागुन १ गते सम्झौता गरिएसँगै निर्माण थालिएको सो गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत छविलाल राईले बताए। निर्माण कम्पनी सूर्य कन्स्ट्रक्सनले २ वर्षभित्र पुल निर्माणको काम सक्नेगरी ठेक्का लिएको हो। कम्पनीले पुल निर्माणको जिम्मा सुनिल राईलाई दिएको गाउँपालिकाले जनाएको छ।

सो सडकमा पक्की पुल नहुँदा अधिकांश विकासनिर्माणका काम प्रभावित भएका थिए। त्यसैले गाउँपालिकाले पुल निर्माणको कामलाई आव २०७५/७६ कै प्राथमिकताको आयोजनाका रूपमा अघि सारेको जनाएको छ। पुल निर्माणपछि विकासनिर्माणको वातावरण बन्ने गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए। ‘खोलामा पुल नहुँदा गाउँपालिकाको सिंगो विकासनिर्माणमा असर पुगिरहेको छ,’ अध्यक्ष राईले भने, ‘ताप खोला पुल गाउँपालिकाको प्रमुख चुनौतीको रूपमा रहेकाले प्राथमिकतामा राखी काम गर्ने योजना बनाएका हौं।’

२०६९ सालमा ट्र्याक खोलिएको हुर्लुङ–जालपा–बाक्सिला (३० किलोमिटर) सडक खुले पनि बीचमा पर्ने सो खोलामा पुल नहुँदा वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ।

२०६९ सालमा ट्र्याक खोलिएको हुर्लुङ–जालपा–बाक्सिला (३० किलोमिटर) सडक खुले पनि बीचमा पर्ने सो खोलामा पुल नहुँदा वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ। केपिलासगढी जोड्ने दिक्तेल–खार्मी हुँदै चोखुम–बाक्सिला सडकको ट्र्याक खुले पनि हुर्लुङ–जालपा–बाक्सिला सडक बढी उपयोगमा आइरहेको छ।
साप्सु खोलाको मोटरेबल पुलको ठेक्का

रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने साप्सु खोलामा निर्माण गरिने मोटरेबल पुलको ठेक्का लागेको छ। विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को काम सकिएको केही समयपछि रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्डे र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाबीच रहेको साप्सु खोलाको पुलको ठेक्का लागेको हो।
पुलको ठेक्का सूर्य एन्ड सन्स प्रालि धरानले पारेको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। ४० मिटर लम्बाइको पुल चार करोड ९७ लाख १५ हजार आठ सय ३६ रुपैयाँमा ठेक्का लागेको अध्यक्ष राईले जानकारी दिए। सो पुल निर्माणका लागि प्रदेश १ बाट एक करोड ३५ लाख रुपैयाँ ससर्त अनुदान विनियोजन गरिएको उनले बताए।

सडकबीच पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कात्तिक २९ गते सडक विभाग पाटनढोका ललितपुरमा निवेदन दिएको थियो। साप्सु खोलामा पक्की पुल बनेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकाका याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङलगायतका स्थानीयलाई सदरमुकाम आउजाउ गर्ने सबैभन्दा छोटो बाटो खुल्नेछ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाहेक दक्षिणी गाउँपालिकालाई समेत यो सडक र पुलले साविकको सदरमुकाम दिक्तेलसँग जोड्नेछ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App