coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

जटिल मानिएको धावनमार्ग निर्माण सम्पन्न

भैरहवा - गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ। समय समयमा विविध कारणले अवरोध हुँदै आएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा महत्वपूर्ण र मुख्य काम धावनमार्ग अन्ततः मंगलबार तीन किलोमिटर पिचिङ गर्दै सकिएको हो।

तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइ धावनमार्गको चार तहको कालोपत्रे गर्दै रनवेको काम सकिएको हो। आयोजनाअन्तर्गत अहिले रहेको पुरानो विमानस्थलको धावनमार्गलाई ट्याक्सी वे बनाउने उद्देश्य अनुरुप काम सुरु भएको छ। हाल सञ्चालित १५ सय मिटरको रनवेको दुवैतर्फ दुई सय मिटर थप गरी एक हजार नौ सय मिटर लम्बाइ र २३ मिटर चौडाइको ट्याक्सी वे को चौथो तहको कालोपत्रे (पिच)को काम सुरु गर्ने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए। रनवे निर्माण सम्पन्न भएसँगै अब मार्किङको र लाइटिङको अधययन सुरु भएको छ। अध्ययनपछि काम तुरुन्त सुरु गरी रनवेमा उडान गर्न सकिने उनले बताए।

रनवे पिच गरेसँगै विमानस्थलको करिब ७३ प्रतिशत काम सम्पन्न भइसकेको छ। १६ प्रतिशत विद्युत्को काम र ११ प्रतिशत अन्य सिभिल काम बाँकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। जुन तोकिएको समयसम्म समानान्तर रुपमा हुन्छ। भूकम्प तथा नाकाबन्दीका कारण एक वर्ष लम्बिएको आयोजनाको धावनमार्ग, टर्मिनल, टावर भवनको काम असारसम्म सक्ने लक्ष्य लिइएको छ। धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने छ। सन् २०१९ भित्रै यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने अधिकारीले बताए। हालसम्म विमानस्थलको ६ वटा विमान पार्किङ गर्ने एर्पोनको काम सम्पन्न भइसकेको छ। त्यस्तै विमानस्थलको टर्मिनल भवन, प्रशासनिक भवनको पेन्टिङ र फिनिसिङको काम भइरहेको छ। त्यस्तै कन्ट्रोल टावरको काम अन्तिम चरणमा पुगेको छ भने विमानस्थलको स्ट्रक्चरल कम्पोनेन्टमध्येको आगमनतिरका सबै संरचना तयार भइसकेका छन्। छाना फिटिङका लागि कालाजिप रुफिङ सिट भारतबाट हिँडिसकेको छ भने आएको एक महिनाभित्र छानाको सबै काम समपन्न हुने उनको भनाइ छ।

त्यस्तै प्रस्थानतर्फको ढलानको काम सकिएर छानाको काम भइरहेको छ। विद्युत् सबस्टेसन, अग्नि नियन्त्रक कक्ष, पानी ट्यांकी, सुरक्षाकर्मीको आवास गृह निर्माणलगायत काम अन्तिम चरणमा पुगेका छन्। समग्रमा संरचनाको काम पूरा भइसकेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए। भौतिक कामसँगै प्रविधिक कामहरु पनि भइरहेको छ भने केही प्रक्रियामा छन्। एयर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरण आयात तथा जडान प्रक्रियाका लागि बोलपत्र तथा अन्य प्रक्रियागत कामलाई तीव्रता दिइएको छ। आवश्यक उपकरण अन्तर्रााष्ट्रिय बोलपत्र आह्वान (आइसिपी) प्रक्रियाबाट खरिद भइसकेको र केही आउने प्रकियामा रहेको उनले बताए। विमानस्थलमा चाहिने सञ्चार तथा सेफ्टी इक्विपमेन्टका लागि ठेक्का भइसकेको छ। यो कामका लागि एरो थाई कम्पनीले जिम्मा पाएको छ। एरो कम्पनीले ५४ करोडमा यो ठेक्का लिई अहिले करिब १२ प्रतिशत काम पनि गरिसकेको आयोजनाले जनाएको छ। प्राविधिक कामको सर्भेका लागि आउदो २१ गते अमेरिका र थाइल्यान्डबाट प्रविधिक आउन लागेको अधिकारीले बताए।

‘आइकाओ’बाट प्रमाण पत्र प्राप्तिलगायत सम्पूर्ण कार्य सम्पन्न गरी सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई लक्षित गर्दै विमानस्थलमा परीक्षण उडानभन्दा पहिले नै भौतिक पूर्वाधारसहित तोकिएको समयावधिभित्र संरचना निर्माण हुन्छ। ‘विमानस्थलमा कार्गो भवनको काम पनि तीव्र गतिमा भइरहेको छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘प्राधिकरणको करिब एक अर्ब लागतमा बन्दै गरेको उक्त भवनको पनि १८ प्रतिशत काम समपन्न भइसकेको छ।’

यो विमानस्थलको आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान भर्ने क्षमता रहेको छ। ‘यो विमानस्थलमा त्रिभुवन विमानस्थलमा आउने सबै जहाज प्वाइन्ट एयर वस ३३०, बोइङ ७७७ लगायत जहाज अवतरण गर्न सकिन्छ। दैनिक १६ हजार यात्रुलाई सेवा दिने दीर्घकालीन लक्ष्य रहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा टर्मिनल भवन मात्र केही सानो भए पनि अन्य भौतिक संरचना अत्याधुनिक र स्तरीय रहेको छ। यो आयोजना ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ लगानीमा कार्यान्वयन भइहरेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार यो विमानस्थल ‘फोर ई’ स्तरको विमानस्थल हो। वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित निर्माण भइरहेको यो विमानस्थल निर्माणको जिम्मा चीनको नर्थवेस्ट सिभिल एभिएसनले पाएको छ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App