coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मोवाइल खाद्य परीक्षण भ्यान प्रयोगविहीन

काठमाडौं - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा भएका चारवटा घुम्ती खाद्य परिक्षण भ्यान ल्याइएको एक वर्षसम्म पनि प्रयोगमा आउन सकेको छैन। युरोपबाट गत वर्ष वैशाखमा चारवटा भ्यान ल्याइएको थियो। भ्यान लिएलगत्तै खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि भ्यान परिचालन हुन सकेको छैन।

इटालीबाट ल्याइएका प्रति भ्यानको लागि ७ करोड खर्च भएको थियो। चारमध्ये दुई भ्यान विभागको नियमित कार्यक्रमअन्तर्गत र दुई भ्यान प्रधानमन्त्री विशेष कार्यक्रममार्फत खरिद गरिएको हो। ‘अनियमितता भएको भनेर उजुरी परेको छ। अनुसन्धान जारी छ,’ अख्तियार दुरुपयोग अनुसन्धान विभागका प्रवक्ता प्रमोदकुमार कोइरालाले भने।

खरिद प्रक्रिया नमिलेकै विषयलाई लिएर मोबाइल भ्यान समयमै परिचालन हुन नसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सूचना अधिकृत सचितकुमार वाइबाले जनाए। ‘खरिद प्रक्रिया नमिलेकाले अख्तियारमा उजुरी परेको जानकारी मात्र पाएको छु,’ अधिकृत वाइबाले भने। आफू नयाँ भएकाले पूर्ण विवरणबाट अनभिज्ञ रहेको उनले बताए।

खरिद प्रक्रियाका बारे उजुरी परेपछि भ्यान परिचानल हुन नसकेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए। ‘खरिद प्रक्रिया त नियमसंगत नै थियो। कतैबाट उजुरी परेछ। त्यसपछि छानबिनको लागि रोकिएको थियो,’ प्रवक्ता वस्तीले भने। भ्यान किन्नका लागि आर्थिक वर्ष २०७३/०७४ को जेठ २१ मा सम्झौता भएको थियो। ६ महिनाभित्र भ्यान लिइने भनिए पनि आपूर्तिकर्ताले समयमै दिन सकेन। आएको बजेट फ्रिज नहोस् भनेर विभागले बैंक एलसीमार्फत बजेट बचत गरेको थियो। त्यसैलाई अनियमिता भनिएको उनले बताए।

भ्यान किन्नका लागि आर्थिक वर्ष २०७३/०७४ को जेठ २१ मा सम्झौता भएको थियो। ६ महिनाभित्र भ्यान लिइने भनिए पनि आपूर्तिकर्ताले समयमै दिन सकेन। आएको बजेट फ्रिज नहोस् भनेर विभागले बैंक एलसीमार्फत बजेट बचत गरेको थियो। त्यसैलाई अनियमिता भएको भनिएको विभागको भनाइ।


विभागले ती भ्यान उपत्यकासहित बाहिरका कार्यालय विराटनगर, धनगढी, भैरहवामा पठाउने योजना थियो। अख्तियारले काम रोकेपछि हेटौंडामा विभागकै पुरानै भ्यान पठाइएको छ। खाद्य मिसावटलाई प्रभावकारी रुपमा परीक्षण गर्न विभागले आधुनिक मोबाइल भ्यान झिकाएको विभागका खरिद इकाइका अधिकृत भगिरथ आचार्यले बताए। अख्तियारमा उजुरी परेपछि मोबाइल भ्यान परिचालनसँगै अन्य गतिविधिमा पनि अवरोध आएको छ। भ्यान युरोपियन स्ट्यान्डर्डका आधुनिक भएको र भ्यानभित्र रहेका प्रविधि सञ्चालनका लागि दक्ष जनशक्ति, सामग्री, इन्धन तयारी अवस्थामा राख्नुपर्छ। भ्यानमा रहेका प्रविधि सञ्चालनका लागि केही कर्मचारीलाई छिट्टै युरोप पठाउने तयारी भइरहेको आचार्यले जानकारी दिए।

विदेशबाट तालिम लिएर आएका प्रविविधज्ञले अन्य कर्मचारीलाई पनि तालिम दिनुपर्छ। उपत्यकाबाहिर जाने भ्यानमा लगातार ३६ घण्टा चल्ने गरी इन्धन तयारी अवस्थामा राख्नुपर्छ। खाद्य परीक्षणका लागि आवश्यक साना उपकरण तथा रसायनीक सामग्रीको लागि पनि बजेट तयारी हुनुपर्छ। त्यसका लागि नयाँ आर्थिक वर्षदेखि चालू हुने गरी बजेट माग गरिरहेको विभागका अधिकारी बताउँछन्।

विभागले उपत्यकाबाहिर २४ वटा कार्यालय खडा गरेको अवस्थामा हाल आएका चारवटा मोवाइल भ्यानले पुग्ने अवस्था नरहेको र खाद्य परीक्षणलाई थप प्रभावकारी पार्न थप प्रविधि र जनशक्ति तयार गर्न जनशक्ति दरवन्दी सर्वेक्षण गरी सरकारमा पठाइसकेको विभागले जनाएको छ। हाल पुरानोसहित जम्मा ५ वटा मोबाइल भ्यान छन्। ती मध्येमा चारवटा आधुनिक भ्यान हुन्। यी भ्यानले जुन ठाउँमा पुग्यो त्यही ठाउँको नमुना तुरुन्तै परीक्षण गरी कारबाही गर्नसक्ने क्षमता राख्छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App