coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय बाल यौन दुराचारीको गन्तव्य बन्दै नेपाल

काठमाडाैँ - पछिल्लो समय काठमाडाैँ उपत्यका र त्यस आसपासका जिल्लामा बाल यौनदुराचारका घटना एकपछि अर्को गर्दै बढ्न थालेका छन्।  घटना बढेसँग बाल यौन दुराचारको अभियोगमा विदेशी नागरिकसहित नेपालीसमेत पक्राउ परेका छन्। संगठित रूपमा नभएपनि कतिपय विदेशी नागरिकले नेपाललाई बाल यौन दुराचारको गन्तव्यका रूपमा लिन थालेको प्रहरी अधिकारीहरूको भनाइ छ।

अर्थिक वर्ष २०७३/०७४ साल सुरु भएयता नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १२ विदेशी नागरिकसहित १४ जना बाल यौनदुराचारीलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याइसकेको छ। पक्राउ पर्नेमा अधिकांश विदेशी नागरिक छन्।

आर्थिक वर्ष ०७३/७४ २ विदेशी र १ नेपाली नागरिक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन्। त्यस्तै आर्थिक वर्ष ०७४/७५ मा ५ विदेशी नागरिक पक्राउ परेका छन् भने आर्थिक वर्ष ०७५/७६ मा ५ विदेशी र १ नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ परेका नागरिक निदेशी नागरिक जर्मनी, युएसए अष्ट्रिया, नेदरल्यान्ड, क्यनाडा, फ्रान्स र यूकेका रहेका छन्। पक्राउ परेका अधिकांश बाल यौन दुराचारी उमेर ५० भन्दाबढी रहेको छ।

सीआइबीले झन्डै तीन वर्षमा बाल यौनदुराचारीबाट पीडित ४० जनाभन्दा बढी बालबालिकाको उद्धार गरिसकेको छ । उद्धार गरिएका बाल–बालिकाहरूको उमेर धेरैको १२ देखि १६ वर्षसम्म रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

‘दुई नेपालीसहित १२ विदेशी नागरिक यस्तो किसिमको अपराधमा संलग्न भएको पाइएकाे छ’, सीआइबीका प्रवक्ता एसपी सुदिप गिरीले भने ‘पटक–पटक विदेशी नागरिकहरू यस्तो अपराधमा संलग्न भएको खुलेपछि हामीले त्यस्ता घट्ना न्यूनीकरणका लागि विशेष निगरानी बढाएका छौं।’

पर्यटक भिसामा नेपाल आएर विदेशी नागरिकहरूले १० देखि १६ वर्षसम्मका बालकका अभिभावकलाई समेत प्रलोभनमा पारेर यौन दुराचार गरेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।

सीआईबीका प्रवक्ता गिरीले भने,'घुमाउन लिएर जाने, बच्चाहरूलाई के–के किनिदिने, रेष्टुरेन्ट लिएर जाने, परिवारहरूलाई कोही बिरामी हुँदा उपचार गराइदिनेजस्तो सहयोग गरेर बालबालिकहरूलाई यौन दुराचार गरेको पाइएकाे छ।'  पक्राउ परेका सबैजना विरूद्ध बाल यौन दुराचारको अभियोगमा अदालतमा मुद्दा चलाइएको सीआईबीले जनाएकाे छ।

नेपाली बालबालिका र तिनका अभिभावकले विशेषगरी विकसित मुलुकबाट आएका व्यक्तिहरूलाई सजिलै विश्वास गर्ने प्रवृत्ति रहेको बालअधिकारकर्मीहरू बताउँछन्। कतिपयले त्यही विश्वासका आडमा समेत बालबालिकालाई फसाएको प्रहरी अधिकारीहरूको आकलन छ।

प्रहरीका अनुसार केही विदेशी नागरिकले समाजसेवा गर्ने भनेर संस्था चलाएरै पनि बाल यौन दुराचार गरेको समेत भेटिएको छ। जनचेतना र सरकारी निकायबीच बालबालिका संरक्षणका विषयमा समन्वय नहुँदा यस्ता गतिविधि रोक्न समस्या परेको बाल अधिकारकर्मीको भनाई छ।

बाल यौन दुराचारबाट बच्न विकसित मुलुकमा सानैदेखि बालबालिकालाई नचिनेका मान्छेहरूसँग संगत गर्नु हुन्न भन्ने शिक्षा दिने गरिएको छ। नेपालमा पनि त्यस्तै शिक्षा दिनु जरुरी भइसकेको मनोविज्ञहरू बताउँछन्। बालबालिकालाई सजिलै प्रभावमा पार्न सकिने भएकाले विकसित मुलुकबाट कतिपय व्यक्तिहरू गलत नियतले नेपाल आउने गरेको प्रहरी बताउँछन्।

विदेशीबाट हुने बाल यौन दुराचार रोक्न कानुनी कारबाहीलाई प्रभावकारी बनाउनु पर्ने बाल अधिकारकर्मीहरुको भनाइ छ। बाल यौन दुराचारका मुद्दामा अधिकतम १३ वर्षसम्म जेल सजाय र क्षतिपूर्ति भराउने कानुन रहेकाे छ।

प्रकाशित: ८ जेष्ठ २०७६ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App