coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आइकाओले गर्‍यो बुद्ध एयरको अडिट

काठमाडौं- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपालको निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरको विभिन्न कामको सुपरीवेक्षण (अडिट) गरेको छ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सहायतामा नागरिक संसारभरका उड्डयन प्राधिकरणहरूको छाता संगठन आइकाओले कात्तिक ३ देखि ५ गतेसम्म बुद्धको अडिट गरेको हो । आइकाओले बुद्धका विभिन्न विभाग, टेक्निकल, अपरेसन, ग्राउन्ड ह्यान्डलिङ तथा जनशक्ति एकाईको अडिट गरेको थियो ।

‘अडिटका नतिजा हाम्रा लागि निकै उत्साहप्रद हुनेछन्,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘हवाई यात्रालाई थप आरामदायी र जोखिम न्यूनीकरणका लागि हामीले विगतका वर्षदेखि नै विभिन्न अन्तर्राष्ट्रिय हवाई सुरक्षण परीक्षकबाट अडिट गराउँदै आएका छौं । अहिले आइकाओको अडिटबाट पनि हामी खुसी छौं ।’

उड्डयन प्राधिकरण तथा आइकाओका प्रतिनिधि क्याप्टेन मेरी हेलेन जुब्रिकिज, क्याप्टेन माइकल ब्लेन्ड र होजे एम स्यालग्योरोले बुद्धका विभिन्न एकाइको अडिट गरेका थिए । अडिटका क्रममा आइकाओले केहीमा सुधार गर्नुपर्ने र अडिटको विस्तृत विवरण केही दिनमा उपलब्ध गराइने जनाएको छ ।

‘प्राधिकरण र आइकाओका प्रतिवेदनलाई सकेसम्म चाँडो सम्बोधन गर्ने छौं,’ प्रबन्ध निर्देशक बस्नेतले भने । बुद्धले कसरब दुई दशकदेखि उडान गर्दै आएको छ । पछिल्लो तथ्यांकअनुसार आन्तरिक उडानतर्फ यसले ६१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

हवाई यात्रा थप व्यवस्थित र जोखिम न्यूनीकरणका लागि बुद्धले आफ्ना कर्मचारी तथा विभिन्न जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरका तालिम उपलब्ध गराउन विभिन्न देश तथा ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) को प्रशिक्षण केन्द्र पठाउने गरेको छ । परनिर्भरता हटाउन बुद्धले पछिल्लो समयदेखि आफ्नै अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक पनि तयार गरिरहेको छ ।

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठवटा जहाजबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यमा उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ तथा पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार उडान पनि गरिरहेको छ । दुर्गम भेगका गन्तव्यमा उडान गर्ने योजना कम्पनीको छैन ।

यसले दैनिक ४० भन्दा बढी उडान गरिरहेको छ । बुद्धले भारतको बनारसका लागि पनि उडान गरिरहेको छ । कम्पनीसँग हाल ७२ सिट क्षमताका तीनवटा ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज सञ्चालनमा छन् । यी आठ जहाजको मूल्य करिब ६ अर्ब रुपैयाँबराबर रहेको छ ।

नेपालबाट २ घन्टा ३० मिनेट दूरीमा पर्ने सम्पूर्ण गन्तव्यमा ‘टर्बोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाइसकेको छ ।

कम्पनीले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर ह्यांगर’ पनि सञ्चालन गरिरहेको छ । यसले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमतर्फ पूर्वी तराईमा सहकारीमार्फत करिब १ हजार बिघा क्षेत्रफलमा पूर्णयान्त्रीकरण तथा ‘एसआरआई’ विधिबाट खेती सञ्चालन पनि गरिरहेको छ।

 

प्रकाशित: ९ कार्तिक २०७३ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App