coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एक गाग्री पानीका लागि घण्टौं लाइनमा

खानेपानी भर्नका लागि लाइनमा बसेका सिसाखानीवासी। तस्बिरःनागरिक

बागलुङ– जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानीको चरम समस्या देखिएको छ। भौगोलिक विकटता र खानेपानी मुहानको समस्याका कारण सिसाखानीमा खानेपानीको समस्या देखिएको हो। सिसाखानीवासीले हरेक वर्षको ६ महिना खानेपानीको चरम समस्या झेल्नुपर्छ। वर्षौंदेखि यो समस्या रहे पनि समाधान हुन सकेको छैन।

डाँडामा भएको ठूलो बस्ती, विद्यालय र स्वास्थ्यचौकी वडा कार्यालयलगायतका क्षेत्रमा खानेपानीको अभाव छ। साविकको वडा नम्बर १, २, ३ र ४ मा खानेपानीको अभाव छ।

त्यति मात्र होइन, साबिकको वडा नम्बर ७ र ८ स्याला र तारञ्जालगायतका क्षेत्रमा पनि सुक्खा सुरु भएसँगै खानेपानीको अभाव देखिएको छ। खानेपानी अभाव भएपछि अहिले सिसाखानीका स्थानीयको दैनिकी खानेपानीको जोहो गर्नमै बढी बित्छ। एक गाग्री पानी जोहो गर्न घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता रहेको सिसाखानीका स्थानीय शेरबहादुर श्रीसले बताए। ‘धारोमा बिहान–बेलुका मात्र पानी आउँछ, त्यो पनि सीमित समयका लागि, पानीको माग बढी छ,’ उनले भने, ‘बिहानभरि पानीको धारोमा लाइन बसेर एक गाग्रो पानी भर्नुपर्छ, बेलुका त्यस्तै अवस्था छ। पानीको अभावका कारण दैनिक काममा समेत समस्या भएको छ।’

पानीको समस्या हुँदा खाना पकाउने, सरसफाइ गर्नेदेखि कपडा धुन, शौचालय जानसमेत समस्या रहेको श्रीसले गुनासो गरे। ‘बिहान र साँझभर धारा कुरेको पानी खानका लागि ठिक्क हुन्छ,’ उनले भने, ‘सरसफाइ र वस्तुभाउका लागि पानी पु¥याउन निकै सकस छ।’ खानेपानीको समस्याले सिसाखानकिो माइस्थान, किम्ले, घोरलचिरे, भैंसी काट्ने डाँडा, गुह्यपोखरी, माझगाउँलगायतका क्षेत्र आक्रान्त बनेको छ। खानेपानीको अभाव बढ्दै जाँदा जनजीवन नै अस्तव्यस्त हुँदै गएको स्थानीय सीता श्रीस बताउँछिन्।

‘डाँडामा बस्ती भएकाले पनि होला पानीको निकै अभाव छ, यो अहिलेको समस्या पनि होइन,’ उनले भनिन्, ‘वर्षौंदेखि यो समस्या झेल्दै आएका छौं। डोकोमा गाग्री बोकेर पानी खेप्नुपर्छ। आधा एक घण्टा हिँडेर धारोमा पुगेपछि पनि लाइन बस्नुपर्छ। नजिकको धारोमा त पानी कतिखेरसम्म आउँछ पानी भर्ने पालो आउँछ कि आउँदैन भन्ने नै थाहा हुँदैन।’ खानेपानी भर्नका लागि सिसाखानीबासीहरू रातको तीन बजेबाटै गाग्री लाइनमा राखेर धारो कुर्छन्। ‘धारोमा पानी बिहान ६ बजे आउँछ, रातीबाटै गाग्रीको लाइन सुरु भैसक्छ,’ उनले भनिन्, ‘साँझ चार बजेट पानी आउने भएपछि बिहान भर्न छुटेका भाँडाहरू लाइनमै छोडिन्छ। पानीका भाँडाहरू अहिले घरमा भन्दा धारोमा धेरै समय रहन्छन्।’

खानेपानी अभावकै कारण विद्यालयमा पनि समस्या परेको सिसाखानी माविका प्रधानाध्यापक होमबहादुर घर्तीले बताए। ‘सुक्खायाम सुरु भयो कि विद्यालयमा पानीको निकै समस्या पर्छ,’ उनले भने, ‘आफ्ना लागि पिउने पानी त विद्यार्थीलाई घरबाटै लिएर आउन भन्छौं, लिएर पनि आउँछन् शौचालयका लागि साह्रै समस्या छ।’ विद्यालयमा जाँदा आफूहरूले पानी बोतल र थर्मसमा बोकेर आउने गरेको विद्यार्थी सुनिता श्रीसले सुनाइन्। पानीकै समस्याले शौचालय र विद्यालय सरसफाइमा समेत समस्या हुने गरेको छ,’ उनले भनिन।

बर्खायाममा मूल रसाएर सहज हुने भए पनि हिउँद (पुस माघदेखि) मा खानेपानीको अभाव हुन सुरु हुन्छ। सिसाखानीको स्याला, ताकरछेडा र तारञ्जामा समेत खानेपानीको समस्या छ। अहिले पनि सिसाखानीमा डेढ सयदेखि दुई सय घरधुरी एक गाग्री पानी भर्नका लागि घण्टौं कुर्नुपर्ने बाध्यतामा छन्। सिसाखानीको गाउँको कलचौर र माझगाउँको गरी तीनवटा सार्वजनिक धारामा बिहान तीन घण्टा र बुलुका दुई घण्टा पानी आउँछ। ट्यांकी स्टक सकियो भने त्यसअगावै पनि धारो बन्द हुनसक्छ।

सिसाखानीको खानेपानी समस्या पुरानै भएको र समाधानका लागि आवश्यक प्रयास भइरहेको वडाध्यक्ष खडकबहादुर पुनले बताए। ‘खानेपानीको समस्या समाधानका लागि पानी लिफ्टिङ गर्ने प्रयासमा अगाडि बढाएका छौं, नजिकका मुहान नभएका कारण पानी ल्याउन गाह्रो छ,’ उनले भने, ‘पानी संकलनका लागि रिजर्भ ट्यांकी निर्माणलगायतका काम पूरा पनि भइसकेका छन्।

मोटरले पानी तान्ने मात्र विकल्प हामीसँग बाँकी छ।’ एक वर्षभित्र खानेपानीको समस्या समाधान गर्ने प्रयासमा रहेको उनले बताए। ‘लिफ्टिङका लागि ठूलो खर्च लाग्ने भएकाले गाउँपालिका र प्रदेश सरकारसँग पनि कुरा भइरहेको छ,’ उनी भन्छन्, ‘केही बजेट पनि व्यवस्थापन भएको छ। समस्या चाँडै समाधान हुनेछ भन्ने विश्वास छ।’

प्रकाशित: ८ जेष्ठ २०७६ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App