६ वैशाख २०८१ बिहीबार
समाज

बुबाले आत्महत्या गरेपछि छोरी पढाइ छोडेर मेलापातमा

कैलाश मावि दोबामा अध्ययरत कुमारीका भाइबहिनीसँगै आमा। कुमारी यसै विद्यालयबाट एसइई दिएर पढाइ छोडेर बसेकी छन्। तस्बिरः हरिकृष्ण गौतम

म्याग्दी– दैनिकज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उत्तरी अन्नपूर्ण गाउँपालिका–१ दोबाका अमबहादुर राम्जालीले दुई वर्षअघि आत्महत्या गरे। चरम गरिबीका कारण छोराछोरीलाई पेटभरी खानसमेत दिन नसकेको पीरले राम्जालीले आत्महत्या गरेका थिए। तर, गरिबीका कारण अमबहादुरले संसार छोडे पनि उनको परिवारलाई भने दुःखले छोडेको छैन।

अमबहादुरको मृत्युपछि उनका श्रीमतीसहित पाँच छोराछोरीको झन् बिचल्ली भएको छ। अमबहादुरकी श्रीमती डल्लीलाई पाँच छोराछोरीका लागि बिहान–बेलुकी हातमुख जोड्न, शैक्षिक सामग्रीसहित आवश्यक खर्च जुटाउन धौ–धौ परेको छ।

१० कक्षामा अध्ययनरत अमबहादुरकी माहिली छोरी कुसुम अहिले आफ्नो पढाइमा भन्दा परिवारको खाँचो टार्न बाध्य छन्।उनी पढाइबाट उब्रेको समय अर्काको मेलापात गरेर पढाइ र घरखर्चका लागि आर्थिक जोहो गरिरहेकी छन्।

बिदा र फुर्सदको समयमा गाउँमा काम गरेर संकलन गरेको आर्थिकले घरखर्च र शैक्षिक सामग्री खरिद गर्ने गरेको कैशाल मावि कक्षा १० मा अध्ययरत कुसुमले बताइन्।उनले छिमेकी र आफन्तसँग मागेर खानुपर्ने बाध्यता लुकाउन कैयौं रात भोकै सुत्नुपरेको अनुभव पनि सुनाइन्। अहिले उनीहरू अर्काको घरमा आश्रय लिएर बसिरहेका छन्।

गरिबीकै कारण जेठी छोरी कुमारीले एसइई उत्तीर्ण गरेपछि पढाइ छोड्नुप-यो। उनले उच्च अध्ययन गर्न छोडेर दैनिक छिमेकीको खेतमा काम गर्ने गरेकी छन्। उनले आफूले पढाइ छोडे पनि भाइबहिनीको पढाइलाई निरन्तरता दिन अर्काको खेतीपातीमा काम गर्ने गरेको वडा सदस्य मनकुमार गर्बुजाले बताए। गर्बुजाले भने, ‘गरिबीकै कारण पढाइ छोडेर मजदुरी गर्नुपर्ने बाध्यता छ।’ गाउँलेको खेतबारी तथा मेलापर्वमा होटल गरेर कुमारीले खर्च जुटाउने गरेकी छन्।

उनका अनुसार कुमारी पढाइमा अब्बल भएपनि गरिबीकै कारण उनले अगाडि पढ्न पाइनन्। गाउँबाट उच्च शिक्षाका लागि सदरमुकाम जान सक्ने अवस्था नभएकाले उनी घरमै बसेको गर्बुजाले बताए।घरकी जेठी छोरी कुमारीको ज्यालामजदुरीबाट कुसुमले कक्षा १०,कुमारले कक्षा ८, करिना कक्षा ४ र काजल कक्षा ४ मा अध्यय गर्न पाएका छन्।करिना र काजल जुम्ल्याहा हुन्।‘बिहान एक छाक खाएर बेलुका भोकै सुत्छौं,’ आँखाभरि आँसु पार्दै कुमारीले भनिन्।

वातावरण पाए कुमारीले राम्रो पढ्नसक्ने सम्भावना रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर गर्बुजाले बताए।उनले विद्यालयबाट समेत आवश्यक सहयोग गर्ने गरेको बताए।‘उनीहरूलाई सहयोगको आवश्यकता छ,’ गर्बुजाले भने, ‘आफ्नो खर्च आफैं जुटाउनुपर्ने अवस्थामा छन्।’

प्रकाशित: ८ जेष्ठ २०७६ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App