coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘विपद् व्यवस्थापन अभ्यासले राष्ट्रिय सुरक्षामा असर गदैन’

काठमाडौं -  नेकपाका सांसद देव गुरुङले मंगलबार संसद्को शून्य समयमा बोल्दै विपद् व्यवस्थापनको नाममा शक्ति राष्ट्रका सेनासँग भएको तालिमले नेपालको राष्ट्रियता र अस्मितामा असर पुग्ने बताए। ‘शक्ति राष्ट्रका सेना ल्याएर संयुक्तरूपमा गरिने सैन्य अभ्यासले राष्ट्रको अस्मिता कहाँ पु-याउँछ,’ विपद् प्रतिकार्य अभ्यासको विरोध गर्दै सांसद गुरुङले भने। आइतबारबाट पोखरामा अमेरिकी सेना र नेपाली सेनाका साथै ६ वटा देशका सेनाबीचको संयुक्त अभ्यासलाई लक्षित गर्दै सांसद गुरुङले यस्तो बताएका हुन्।

राष्ट्रियताको स्थिति कमजोर भएका बेला र शक्ति राष्ट्रबीचको टकराब भइरहेका बेला अमेरिकी सेनाको सहकार्यमा भइरहेको संयुक्त अभ्यासले राष्ट्रियता अस्मितालाई असर पु-याउने भन्दै उनले परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको पनि उनले ध्यानाकर्षण गराएका थिए।

नेपाली सेनाले भने सांसद गुरुङले भनेजस्तो संयुक्त अभ्यासबाट राष्ट्रिय सुरक्षामा कुनै असर नपुग्ने जनाएको छ। ‘यो त विपद्का बेला कसरी प्रभावकारी काम गर्न सकिन्छ भनेर गरिने अभ्यास हो, यसबाट मुलुकको राष्ट्रिय सुरक्षामा कुनै असर पर्दैन,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने।

नेपाल भूकम्प प्रभावित क्षेत्र भएकाले ठूलो भूकम्प जाँदा कसरी तत्काल परिस्थितिको सामना गर्न सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अभ्यासलाई सिक्नका लागि यस्तो तालिमको आयोजना गरिएको पाण्डेले बताए। विगतमा गरिएका यस्तै अभ्यासका कारण २०७२ मा गएको विनाशकारी भूकम्पका बेला प्रभावकारी काम गर्न सकिएको भन्दै पाण्डेले यस्ता तालिमले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने बताए।

रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले हाल भइरहेको तालिम सांसद गुरुङले भनेजस्तो नभएको बताए। ‘यो त विपद्पूर्वको तयारीका लागि गरिएको हो, यस्ता अभ्यासले प्राकृतिक विपत्तिपछि खोजी, उद्धार र राहतमा सहयोग पु¥याउँछ,’ उनले भने। यसमा दुईवटा मात्र देशका सुरक्षा निकाय नभएर विभिन्न मुलुकका सुरक्षा निकायले संयुक्त रुपमा अभ्यास गरिरहेकाले यसलाई शंकाको दृष्टिले हेर्न आवश्यक नरहेको गौतम बताउँछन्।

डिजास्टर रिस्पोन्स एक्ससाईज एण्ड एक्सचेन्ज (डिआरईई) नाम दिइएको अभ्यास विपद् व्यवस्थापनको समयमा हुने विभिन्न खोज, उद्धार तथा राहतका कार्यलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले गरिएको सेनाको दाबी छ। संयुक्त अभ्यासमा ६ देशका ७१ सैनिक, नेपाली सेनाबाट ६० नेपाल प्रहरीबाट नौ सशस्त्र प्रहरीबाट ९ र निजामति कर्मचारीबाट ३८ जनाले सहभागिता जनाएका छन्। संयुक्त अभ्यास जेठ १२ सम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ।

अमेरिकाको प्यासिफिक कमाण्डले सन २००० देखि मानविय सहयोग र प्रकोप उद्धारमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एमप्याटमार्फत विपदका लागि सहयोग गर्दै आएको छ। नेपालमा विं सं.२०६६ मा एमप्याट टेम्पेस्ट एक्सप्रेस–१७ अभ्यासको आयोजना गरिएको थियो। त्यस्तै २०७२ मा एमप्याट टेम्पेस्ट एक्सप्रेस–२८ को पनि आयोजना गरिएको थियो।
नेपाली सेना र अमेरिकी सेनाको सहआयोजनामा सन २०११, २०१३, २०१६ र २०१८ मा डिआरईई अभ्यास आयोजना गरिएको थियो।

हाल भइरहेको यो अभ्यास पाचौँ अभ्यास भएको सेनाले जनाएको छ। पोखरामा पहिलोपटक यस्तो अभ्यासको आयोजना गरिएको सेनाले जनाएको छ। डिआरईमा अमेरिकासहित बेलायत, बेल्जियम, चीन, क्यानडा, भारत, डेनमार्क, फिलिपिन्स, इजरायल, माल्दिप्स, सिंगापुर, श्रीलंका र पाकिस्तानले सहभागिता जनाउँदै आएको नेपाली सेनाले जनाएको छ। विपद् जोखिम व्यवस्थापनका लागि भन्दै अमेरिका र बेलायतलगायतका मुलुकले आर्थिक तथा भौतिक सामग्री उपलब्ध गराउँदै आएका छन.।

प्रकाशित: ८ जेष्ठ २०७६ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App