८ वैशाख २०८१ शनिबार
समाज

सर्लाहीको भैरवपुरमा ठेउला फैलियो

सर्लाही- जिल्लाको लालबन्दी नगरपालिका अन्तर्गत भैरवपुर स्थित दलित बस्तीमा डेढ महिनादेखि ठेउला रोगको संक्रमण देखिएको छ।

राम र पासवान समुदायको मात्र बस्ती रहेको दलित टोलमा हालसम्म ५० जनाभन्दा बढी ठेउला रोगको संक्रमणबाट ग्रसित भएको फेला परेको उक्त टोला पर्ने लालबन्दी नगरपालिका–३ का वडाअध्यक्ष रामनारायण सिंहले जानकारी दिए। विशेष गरी महिला र बालबालिकालाई ठेउलाको प्रकोप देखिएको छ।

 ‘चैतदेखि नै टोलका महिला एवं बालबालिका ठेउला रोगबाट संक्रमित भएका रहेछन्’, वडा अध्यक्ष सिंहले भने, ‘तर देवी रिसाएर शरिरमा विमिरा आएको भन्दै भित्र भित्रै लुकाउँदा हाँमीहरुले ढिला थाहा पायौं।’ ४० घर रहेको दलित टोलमा चैत यता पहिलो र दोस्रो लटमा ठेउला निस्केका बिरामी ठिक भईसकेका र अहिले फेरि १०–१२ जनामा देखिएको छ।

मंगलबार दिउँसो वडाअध्यक्ष सिंहले ठेउलाको प्रकोपबारे खबर गरेपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, प्राथमिक स्वास्थ्यक केन्द्र लालबन्दीका प्रमुख डा. चन्दन चौधरी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमख सुर्यनारायण चौधरी लगायतको टोली दलित टोलमा पुगेको थियो। डा. चौधरीले बिरामीको अवस्था हेर्दा ठेउला देखिएको बताए। ‘हामी आज नै १० जनाको रगत संकलन गरेर जनकपुर स्थित डब्लुएचओको ल्याबमा परीक्षणका लागि पठाउँदै छौं’, उनले भने, ‘त्यसपछि मात्र कन्फर्म गर्न सकिन्छ।’ सरसर्ती हेर्दा भने ठेउला नै देखिएको उनले बताए।

रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेहरुमा ठेउलाले अत्यन्त छिटो संक्रमण गर्ने भएकाले चैतदेखि गाउँमा फरक–फरक मानिसहरु यसको प्रकोपबाट पीडित भइरहेको पाईएको डा. चौधरीले जानकारी दिए। स्वास्थ्यकर्मीका अनुसार ठेउलाले संक्रमण गर्दा पानीले भरिएको पिलपिलाउँदा फोकाहरु शरिरका सम्पूर्ण भागमा निस्कने गर्दछ।

प्रकाशित: ७ जेष्ठ २०७६ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App