८ वैशाख २०८१ शनिबार
अर्थ

अस्थायी श्रमिक हटाउन चलखेल

इलाम सदरमुकामस्थित नेपालकै पुरानो इलाम चिया उद्योगअघि चिया श्रमिक। व्यवस्थापनले अस्थायी श्रमिकलाई काम नगर्न भनेपछि यहाँका श्रमिक आन्दोलनपछि सहमति जुटेपनि काममा फर्किएका छैनन्। तस्बिर : भीम/नागरिक

इलाम - श्रमिक आन्दोलनका कारण डेढ महिनापछि खुलेको नेपालकै पुरानो इलाम चिया कारखानाका अस्थायी श्रमिकलाई काम नलगाइएपछि उनीहरू रुष्ट बनेका छन्। लामो आन्दोलनपछि खुल्न लागेको बगान र उद्योगमा स्थायीबाहेकका श्रमिक ‘निकाल्न’ लागिएपछि कुनै श्रमिकले काम गरेका छैनन्। चैत १७ यता बन्द रहेको बगान र उद्योग श्रमिकका माग पूरा गर्ने व्यवस्थापन पक्षको प्रतिबद्धतापछि आइतबारबाट खुल्ने भएका थिए। तर, आइतबार काम गर्न आएका श्रमिकलाई व्यवस्थापन पक्षले ‘अब स्थायीले मात्रै काम गर्नू, अस्थायीले नगर्नू’ भनेपछि कसैले काम गरेनन्। ‘अस्थायी श्रमिकको रोजीरोटी खोस्ने अर्काे प्रपञ्च व्यवस्थापनले सुरु गरेको छ,’ इलाम बगानकी श्रमिक नेता सरस्वती चौंलागाईंले भनिन्, ‘अस्थायी र स्थायीको बहानामा कसैको रोजगारी खोस्न पाइँदैन भनेर स्थायी श्रमिकले पनि काम गर्नुभएन।’

इलाम बगानमा २६ स्थायी र ३४ अस्थायी श्रमिक छन्। अहिले बगानमा टिप्ने हरियो पत्ती नभएकाले अस्थायीलाई केही सातापछि मात्र काममा लगाउने र तत्काल नलगाउने व्यवस्थापनले उर्दी गरेको उनले बताइन्। ‘अहिले अस्थायीलाई काममा नलगाउँदा गत साउनदेखि बढेको ज्याला उनीहरूले पाउने या नपाउने भन्ने अन्योल रहन्छ,’ उनले भनिन्, ‘श्रमिकको लामो संघर्षपछि मन्त्री नै बगान आएर व्यवस्थापनलाई गराएको सहमति दुई दिन नबित्दै उल्लंघन हुने सम्भावना बढेको छ।’

कन्याम चिया बगानका अस्थायी श्रमिकलाई पनि व्यवस्थापनले हाजिर गर्न नदिई प्रतिकिलोका दरले मात्र चिया टिप्न लगाएको छ। आन्दोलनअघि स्थायीसरह दैनिक ज्यालामा काम गरिरहेका अस्थायी श्रमिक व्यवस्थापनले श्रमिकका माग पूरा गर्ने भएपछि काममा फर्किएका थिए। तर, व्यवस्थापनले अस्थायीलाई विभेद गरेको श्रमिक नेता विष्णु भट्टराईले बताए। ‘हिजो सहमति गर्दा अस्थायी र स्थायी भनेर छुट्याएको थिएन र छुट्याउने कुरा पनि भएन,’ उनले भने, ‘आन्दोलनमा सहमति गरेपछि श्रमिकबीच विभेद गर्न पाइन्न।’ दैनिक ज्याला नपाएका ८२ अस्थायी श्रमिकलाई प्रतिकिलो सात रुपैयाँमा हरियो पत्ती टिप्न लगाइएको उनीहरूले बताएका छन्।

सरकारी बगान लिजमा लिएको त्रिवेणी सांघाई समूहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र चिया श्रमिकसामु गत शुक्रबार श्रमिकका माग पूरा गर्ने बाचा गरेको थियो। कन्याम र इलाम चिया बगानै पुगेर समूह अध्यक्ष सुवास सांघाईले मन्त्रीसामु श्रमिकका माग पूरा गर्ने बताएपछि दुवै बगानमा काम सुरु गर्न श्रमिक सहमत भएका थिए। श्रमिक नेता भट्टराईले मन्त्रीकै अघि चिया बगान व्यवस्थापन प्रमुखले ज्यालाको प्रतिबद्धता गरेको र ज्याला दिने सूचना पनि उद्योगमा टाँसेकाले आफूहरू काममा फर्किएको बताए। ‘हाम्रा माग पूरा गर्न व्यवस्थापन पक्ष सहमत भएपछि काममा फर्किएका थियौं,’ उनले भने, ‘तर, मन्त्री फर्केपछि व्यवस्थापनले अर्काे तिकडम रचेको छ।’

मन्त्री विष्टले अघिल्लो शुक्रबार चिया उद्योगीलाई ‘श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन गर्न, नभए उद्योग चलाउन नसक्ने लिखित निवेदन दिन’ उद्योगीलाई निर्देशन दिएका थिए। उनको निर्देशनपछि झापाका सरकारी–निजी सबै र इलामका दुई सरकारी चिया उद्योग–बगान मात्र खुलेका थिए। सरकारी स्वामित्वकै कन्याम र इलाम चिया बगान खुलाउन उद्योगीले ढिलो गरेपछि मन्त्री विष्ट गत शुक्रबार दुवै बगान निरीक्षणमा आएका थिए।

निरीक्षणक्रममा मन्त्रीसँगै रहेका सांघाईले श्रमिकको गत साउनदेखिकै ज्याला कार्यान्वयन गर्ने बताएका थिए। नेपालमै पहिलोपटक चिया खेती सुरु भएको इलाम चिया बगान, देशकै पुरानो इलाम चिया उद्योग र इलामको ठूलो सरकारी बगान कन्यामको निरीक्षणपछि मन्त्री विष्टसामु सांघाईले श्रमिकका माग पूरा गर्ने बताएका हुन्। सरकारले उद्योगीका माग पनि बजेटमार्फत् सम्बोधन गर्ने आश्वासन दिइसकेकाले उद्योगीहरू श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन गर्न सहमत भएको उनले जनाए।
मन्त्री विष्टले रोजगारीदाताले श्रमिकको न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयनको प्रतिबद्धता गरेकाले तत्कालको समस्या समाधान भएको बताए। ‘अब रोजगारदाताले तपाइँहरूको माग पूरा गर्नुहुन्छ, काममा फर्किनुस्,’ उनले भने, ‘सरकारले तोकेको ज्याला कसैले दिन्न भन्न पाउँदैन, ऐन–कानुन कार्यान्वयन गर्दिनँ भन्न पनि पाउँदैन।’ उनले चिया क्षेत्रमा देखिएको समस्याको दिगो समाधान गर्न आवश्यक रहेको बताए। ‘उद्योगीले पनि आफ्ना समस्या राख्नुभएको छ,’ मन्त्री विष्टले भने, ‘चिया क्षेत्रजस्तो महत्वपूर्ण उद्योगका लागि सरकारले सक्दो सहायता प्रदान गर्नेछ, यसको दिगो समाधान खोज्नुपर्छ।’ सरकारको निर्णय र ऐन–नियम पालना गराउने विषयमा कसैले शंका गर्न नपर्ने उनले जनाए।  

न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन माग गर्दै इलाम, झापालगायत पूर्वका चिया श्रमिकले गत चैत १७ देखि उद्योग–प्रतिष्ठान बन्द गरेर आन्दोलन गरेका थिए। श्रमिकको न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन गर्ने उद्योगीको प्रतिबद्धतापछि अन्य उद्योग–बगान खुलेपनि इलामका कन्याम खुलाउन थप समय लागेको थियो। आइतबारसम्म कन्याम बगान खुलेपछि इलाम बगान खुलेको छैन।

प्रकाशित: ७ जेष्ठ २०७६ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App