६ वैशाख २०८१ बिहीबार
समाज

बिदेसिएका श्रीमानकाे प्रतीक्षामा २६ वर्ष

खोटाङ - २६ वर्षअघि बिदेसिएका श्रीमान् नरभक्त राईको हालसम्म अत्तोपत्तो छैन। त्यसबेला तीन वर्षका कान्छा छोरा विशाल हाल २९ वर्षका भए। मलेसिया पुगेको दुई वर्षसम्म सम्पर्कमा रहेका श्रीमान् त्यसपछि सम्पर्कविहीन बनेको ऐसेलुखर्क गाउँपालिका–३ जोरधाराकी दिलसरा राईले बताइन्।

‘पुख्र्यौली सम्पत्ति पुग्दो थियो, तर आफ्ना लागि आफैं कमाउँछु भन्दै विदेश जानुभएको थियो,’ दिलसराले भनिन्, ‘दुई वर्षसम्म सम्पर्क भयो। त्यसपछि अत्तोपत्तो छैन।’ कमाउन बिदेसिएका श्रीमान्को अत्तोपत्तो नहुँदा हाल दिलसरा र उनका परिवार चिन्तित छन्। लामो समयसम्म सम्पर्कमा नआउँदा हाल नरभक्त मरेको वा बाँचेको भन्नेबारे परिवारलाई कुनै जानकारी छैन। उनका चार छोरी र एक छोरा छन्। चार छोरी र कान्छो छोरा जन्मिएपछि नरभक्त मलेसिया गएका थिए। उनी विदेशमै दोस्रो विवाह गरेर बसेको हुनसक्ने परिवारको अनुमान छ।

घरको आर्थिक समस्या हल गर्न बिदेसिएका श्रीमान् उतै हराएपछि दिलसराले कष्टका साथ बालबच्चा हुर्काइन्। चार छोरीको विवाह भइसकेको छ। हाल उनी छोरासँग बसिरहेकी छन्। सम्पत्ति भित्र्याउने आशामा बिदेसिएका श्रीमान्बाट उल्टै पीडा मात्र प्राप्त भएको उनले बताइन्।

बिदेसिएका श्रीमान् बेपत्ता भएको पीडामाथि अहिले जग्गासम्बन्धी लफडाले दिलसरालाई सताएको छ। कमाइरहेको जग्गा श्रीमान्का बाजेको नाममा छ। त्यो जग्गा श्रीमान्को नाम हुँदै आफ्नो नाममा ल्याउन आफन्तबाटै बाधा अड्चन आउने गरेको दिलसराले बताइन्। ‘घरजग्गा बाजे ससुराको नाममा छ, त्यो जग्गा आफ्नो नाममा ल्याउन आफन्तले बाधा दिइरहेका छन्,’ उनले भनिन्, ‘धेरै वर्ष भयो घरजग्गाका लागि लड्न थालेको। आशा छ न्याय पाउनेछु।’

प्रकाशित: ७ जेष्ठ २०७६ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App