६ वैशाख २०८१ बिहीबार
समाज

मानसिक स्वास्थ्य लक्षित ‘बेड’ अभियान सुरु

काठमाडौं - नेपाल तथा विश्वमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्यालाई नियन्त्रण गर्ने उद्देश्यले मानसिक स्वास्थ्य अभियन्ता जगन्नाथ लामिछानेले ‘सबैको स्वास्थ्य, मानसिक स्वास्थ्य’ अभियान सुरु गरेका छन्। यो अभियानअन्तर्गत सोमबार सरोकारवाला, मानसिक समस्याका अनुभवीहरु बीच एक छलफल गरियो।

कार्यक्रममा उनले युट्युब च्यानलका लागि निर्मित भिडियो सामग्री प्रस्तुत गरे। पूर्वीय संस्कृतिमा प्राचीन कालदेखि मानसिक स्वास्थ्यलाई स्वस्थ राख्ने विधिको उल्लेख भएको उनले बताए। बुद्धले शरीरलाई हेर्ने विधि विपश्यना विधि प्रतिपादन गरेको, हाम्रै समाजमा योग विज्ञानको अभ्यास हुँदै आएको र यी विधिले मानसिक स्वास्थ्य स्वस्थ राख्न थेरापी उल्लेख रहेको उल्लेख छ। योग, ध्यान र खानपानलाई व्यवहारिक रुपमा अनपाउँदै गएमा मानसिक स्थिति स्वस्थ रहने सुझाएका छन्।

उनले मानसिक स्वास्थ्यका लागि ‘बेड’ सूत्र अघि सारेका छन्, ‘बि’को अर्थ ‘बडी अवेरनेस’ अर्थात् शरीरलाई हेर्ने विपश्यना विधि तथा ‘इ’ को अर्थ ‘एक्सरसाइज’ अर्थात व्यायम र ‘डि’ को अर्थ ‘डाइट’ अर्थात् खानपानलाई दैनिक जीवनमा निरन्तर लागू गरेमा शारीरिक र मानसिक स्वास्थ्य सन्तुलनमा रहने बताए। मानिसहरु आधुनिकताका नाममा तनाव र अस्वस्थ खानेकुरा खाइरहेको उनले औंल्याए।

आपूm बाल्यकालदेखि नै मानसिक रोगको शिकार भएको र घरपरिवार तथा समाजको सहयोगले पूर्ण स्वस्थ्य हुन सफल भएको बताउँदै नेपालमा विद्यमान मानसिक स्वास्थ्यलाई लुकाउने, बुझ्न नचाहने र लाञ्छना लगाउने प्रवृत्तिले रोग निको हुनुको सट्टा बल्झिने र समस्या झन् जटिल बन्ने अवस्था रहेको उनले बताए। ‘मानसिक रोग या समस्या भन्ने बित्तिकै हामीले घरभित्रै समेत लुकाउँछौं। पहिलो कुरा मानसिक रोग या समस्यालाई ठूलै अपराधको रुपमा हेर्ने मानसिकता फेरिनु पर्छ,’ उनले भने। पछिल्लो समय सामाजिक मिडिया सर्वसाधारणबीच बीच प्रभावकारी भएको र यसैमार्फत सबैसँग पुग्न सकिने भएकाले यो अभियान चलाइएको उनले बताए। तीन साताअघि मात्र फेसबुक, युट्युव च्यानल र इन्साटाग्राममा ‘जगरनाउट माइन्डसेट’ पेजमार्फत यो अभियान थालिएको बताउँदै उनले अभियानमा हजारौंले एक्येबद्धता जनाइसकेको जनाए।

अभियानले मानसिक स्वास्थ्य जनचेतनामा राम्रो भूमिका खेल्ने कार्यक्रमका सहभागीहरुले बताए। ‘मलाई मानसिक स्वास्थ्य समस्या थियो। म निको भएँ भन्नुभन्दा शक्तिशाली सन्देश के हुन सक्छ त्यसमा विचार गर्नुपर्छ,’ विश्व स्वास्थ्य संगठन नेपालका मानसिक रोग विशेषज्ञ डा. केदार मरहट्ठाले भने। उनले घरपरिवारमा हुने अटिजम, अल्जाइमरजस्ता समस्या भएको खण्डमा त्यसको जानकारी दिन सकिए समुदायमा मानसिक समस्यालाई सरल रुपमा लिने र मानसिक रोगका बिरामीलाई सहयोगी भूमिका हुने उनले सुझाए।

कार्यक्रममा नेपालमा पछिल्लो समय रक्सीसेवन, वैदेशिक रोजगार, बदलिँदो आर्थिक समस्या, बेरोजगारी, सामाजिक सञ्जालको लत जस्ता कारणले मानसिम रोग बढिरहेको वक्ताहरुले औंल्याए। सहयोगी व्यवहार भएमा हरेक मानसिक समस्या भएका बिरामीहरुले सन्तुष्टपूर्ण जीवन जिउन सक्ने र मानसिक रोग न्यून गर्न सकिने पनि कार्यक्रममा बताइयो। नुवाकोट जिल्लामा भएको एक सर्वेक्षणअनुसार कुल जनसंख्याको २५ प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक रोग भएको पाइएको छ। ती मध्ये ४० प्रशितमा डिपे्रशन र २० प्रतिशतमा आत्महत्याको सोच आउने गरेको पाइएको छ। कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, जनस्वास्थ्य अभियन्ता कोकिला वैद्यले पनि आफ्नो प्रस्तुति दिएका थिए।

प्रकाशित: ७ जेष्ठ २०७६ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App