coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

यो वर्ष सर्वाधिक विकास : प्रधानमन्त्री ओली

मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओली। तस्बिर : सरिता/नागरिक

धादिङ - प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा सरकारले सर्वाधिक विकास र प्रगति गरेको दाबी गरेका छन्। चालु आर्थिक वर्षमा गत वर्ष जति पनि पुँजीगत खर्च गर्न नसकेका ओलीले सर्वसाधारणसमक्ष भने सबै क्षेत्रमा विकास गरेको दाबी गरे। धादिङको गल्छी गाउँपालिकास्थित मासटारमा पर्ने मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) बिछ्याउने कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देश सभ्य, अनुशासित, शान्त र स्थिरताको बाटोतर्फ लम्केको बताए।

आफू प्रधानमन्त्री भइसकेपछिको एक वर्षमा देशको आर्थिक समृद्धि, सुशासन र आर्थिक पारदर्शिता लगायत कुरामा धेरै परिवर्तन भएको उनको दाबी थियो। आउँदा वर्षमा देशमा अझै परिवर्तन देखिने उनले बताए। ‘यो वर्ष सर्वाधिक विकास भएको छ, आउँदा वर्षमा गियर बदलेजस्तै गरेर दोब्बर, तेब्बर परिवर्तन हुनेछ, ओलीले भने, ‘यही देखेर अरु छटपटिएका छन्।’

ओलीले यो वर्ष सर्वाधिक विकास भएको दावी गरे पनि सरकारकै तथ्यांकले यसलाई गलत साबित गर्छ। सरकारी आय र व्ययको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो १० महिनामा सरकारले गत वर्षको जति पनि पुँजीगत खर्च गर्न सकेको छैन। सरकारको प्रगति उसले गरेको खर्चबाट देखिने हो। तर, प्रधानमन्त्री ओलीले भनेजस्तै मुलुकमा यो वर्ष सर्वाधिक विकास भएको देखिँदैन।

गतभन्दा यो वर्ष पुँजीगत खर्च ६ अर्ब रुपैयाँ कम ः महालेखा 

महालेखाका अनुसार यो वर्षको १० महिनासम्ममा कुल बजेट खर्च सात खर्ब आठ अर्ब रुपैयाँ भएको छ। यो प्रतिशतमा हेर्दा ५३.८५ मात्र हो। गत वर्ष वैशाख मसान्तसम्ममा सरकारले सात खर्ब ५६ अर्ब रुपैयाँ खर्च गरेको थियो। यो लक्ष्यको ५९ प्रतिशत थियो। यस्तै ओलीले विकास गरेको ढोल पिटाए पनि चालु वर्षको १० महिनामा एक खर्ब २८ अर्ब रुपैयाँमात्र खर्च गरेको छ। यो लक्ष्यको ४०.८७ प्रतिशत हो। यो गत वर्षभन्दा ६ अर्ब रुपैयाँले कम हो।

सरकारी तथ्यांकले गत वर्ष जति पनि खर्च गर्न नसकेको देखाएकाले प्रधानमन्त्री ओलीको भनाइमा सत्यता देखिँदैन। तर, ओलीले कार्यक्रममा सरकारले राम्रो काम गरेपछि जनतामा भ्रम सिर्जना गर्ने कोसिस भइरहेको दाबी गरे। शान्ति, एकता, राष्ट्रियताको बाटो हुँदै जनताले चाहेको बाटोतर्फ हिँडिरहेकाले सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सफलताका साथ सञ्चालन भइरहेको उनले दाबी गरे। ‘अहिलेको सरकार पृथकतावादलाई टुंगो लगाई अग्रगामी लक्ष्यतर्फ उन्मुख भएको छ,’ उनले भने, ‘त्यसको प्रतिफल केही वर्षमा नै आउनेछ।’

नेपाल सानो देश भनेर आफैंलाई अवमूल्यन गर्न नहुने भन्दै उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो अनुभव बाँड्नुपर्ने बताए। ‘नेपाल जस्तो सानो देशले दुनियाँका मञ्चमा पनि भूमिका देखाउने हो र भन्ने प्रश्न गरिन्छ,’ उनले भने, ‘हाम्रोभन्दा सानो देश मुलुकमा धेरै छन्, त्यसैले आफ्नै इज्जत गर्न आफैंले जान्नुपर्छ।’ प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको बताए। ‘जसको एक थोपा पनि गणतन्त्र ल्याउन भूमिका छैन, तिनले नै अविश्वास सिर्जना गरिरहेका छन् तर उनीहरुले लोकतन्त्र सिकाइरहनु पर्दैन,’ उनले भने।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले देशका आधाभन्दा बढी जनता इन्टरनेटको पहुँचबाट टाढा भएकाले इन्टरनेटको पहुँच बढाउन ‘ब्याकबोन’ परियोजना सञ्चालन गरिएको बताए। ‘सूचना प्रविधिले ज्ञान, सीप, एकता, घृणा पनि पैदा गर्छ,’ उनले भने, ‘यो सेवाले जनताको जीवनस्तर नै परिवर्तन हुनेछ।’    देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यसाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु भएको छ। पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना सुरु गरेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए। यो योजना दुई वर्षभित्र पूरा हुनेछ। अप्टिकल फाइबर बिछ्याएपछि मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग सहायक मार्गमा उच्च गतिको इन्टरनेट सेवा पुग्ने उनले जानकारी दिए।    

 

प्रकाशित: ७ जेष्ठ २०७६ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App