८ वैशाख २०८१ शनिबार
समाज

‘नमूना घर हेर्नी चित्त बुझाउनी’

धादिङको महादेवस्थान गाविसका भूकम्प पीडितका लागि निर्माणाधिन नमूना घर। तस्बिरः शंकर श्रेष्ठ

धादिङ– भूकम्प प्र्रतिरोधी नमूना घर धादिङका चेपाङ समूदायले हेरेरै मात्र चित्त बुझाउनुपर्ने बाध्यतामा परेका छन्। ‘हामीले त सरकारले अनुदान दिएको रकमले घर पूरा गर्ने सोचेका थियौं, यत्रो धेरै खर्च लाग्नी रहेछ, महादेवस्थानका राजन चेपाङले भने, ‘यो घर त हामीले हेरेरै चित्त बुझाउने मात्रै हो।’

राजन घर बनाउने मिस्त्री हुन् । उनले डेढ महिनादेखि महादेवस्थानको बरडाँडामा निर्माणधिन नमूना घर बनाउने काम गरिरहेका छन् । उनी भन्छन्, ‘मेरो विचारमा यो घर बनाउन अहिलेसम्म १२ लाख लागिसक्यो आधा काम अझै बाँकी छ,’ काम गर्नेलाई ज्याला मात्रै केही दिन २ लाख बुझाएको छ। मैले मात्रै ४५ हजार लिइसके, यस्तो महंगो पर्ने घर बनाएर हामी बस्न सक्दैनौं।’ अनुदान लिने सबैले यसरी नै घर बनाउने पर्ने भए हामीलाई नमूना घर देखाउनु र नदेखाउनुको कुनै अर्थ छैन। नमूना घर बनाउँदा लागेको खर्च देखेर गाउँका सबै आत्तिएका छन्।

महादेवस्थान ४ भलायोखर्कका कर्णबहादुर गुरुङले नयाँ घर निर्माण गर्न भनेर सरकारले दिने अनुदान रकमको ५० हजार लिएको एक महिना बित्यो। तर उनले घर निर्माणको काम थालेका छैनन्। नमूना घर बनाउने काम नै गरिरहेका उनलाई घर निर्माण गर्न थालेर पनि पूरा गर्न नसक्नेमा चिन्ता छ।

‘घरको जग त हालौला तर कसरी पुरा गर्नी?,’ सरकारले जम्मा ३ लाख दिन्छ, नमूना अनुसार घर बनाउन १५ लाखले नधान्ने रहेछ,’ कर्णले भने, ‘नमूना नहेरुनजेल त राम्रै घर बनाउने सोचेको थिए, अब सक्दिन।’

महादेवस्थानका भूकम्प पीडितहरुले दशैंअघि नै अनुदानको पहिलो किस्ता ५० हजार बुझेका छन्। तर पूरा गर्न नसक्ने पिरले अहिलेसम्म कसैले पनि घर निर्माण थालेका छैनन्। ‘आफ्नो नाममा जग्गा नहुनेलाई त घर बनाउन समस्या छदै छ, ५० हजार अनुदान रकम लिइसकेकाहरु पनि नमूना घर निर्माण गरिरहेको हेरेपछि घर थाल्न सकेका छैनन्,’ स्थानीय शिक्षक तुलसीजंग थापाले बताए। उनले भने, ‘खर्च जुटाउन सक्नेलाई त नमूना अनुसार घर बनाउन सक्लान्,’ यो गाउँका गरिब चेपाङ तथा अन्य पछाडि पारिएका जनजाती समूदायका नागरिकका लागि यस्तो किसिमको नमूना घर देखाउनुको अर्थ छैन।’ नमूना घर गाउँको भुगोल र त्यस ठाउँका जनताको क्षमताअनुसार बनाइनुपर्ने गाउँका अगुवाहरुले बताएका छन्। ढुंगामाटोको जोडाइबाट गाउँको परिवेश सुहाउँदो घरको नमूना देखाउनु पर्ने थापाले बताए।

 

प्रकाशित: ९ कार्तिक २०७३ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App