७ वैशाख २०८१ शुक्रबार
कला

तरबार चढाएको छौंङ्खामा ऐतिहासिक मेला

डम्बर्खुशिवालयस्थित छौंङ्खा चण्डी थानमा भालेको बलि दिँदै स्थानीय। फाइल तस्बिर : दमन राई/नागरिक

खोटाङ  - एक हजार ४ सय ७० वर्ष इतिहास बोकेको खोटाङको डम्बर्खुशिवालयस्थित छौंङ्खा चण्डीथानमा ऐतिहासिक मेला लागेको छ। जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय र भोजपुरको बालंखाको सिमानामा पर्ने बुवाँ खोलास्थित छौंङ्खा चण्डी थानमा पूर्णिमाको तृतीयको दिन पारेर सोमबार ऐतिहासिक मेला लागेको हो।

वडाध्यक्ष विदुरमान राईले नेपालकै पहिलो र पुरानो साकेला थानका रूपमा पुजिने छौंङ्खा चण्डीथानमा फेला परेको घण्टीमा विक्रम सम्बत ६०६ सालमा चण्डीस्थान स्थापना भएको उल्लेखका आधारमा यो स्थान ऐतिहासिक महत्व बोकेको स्थलमा रूपमा पहिचान भएको बताए। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले मनोकांक्षा पूरा होस् भन्ने कामना गर्दै तरबार र त्रिशुल चढाएको यो स्थानमा लागेको मेला भर्दै चण्डीथानको दर्शन गर्न खोटाङबाहेक भोजपुर, उदयपुर, धनकुटा, मोरङ, धरान, काठमाडौंलगायतका स्थानका दर्शनार्थीको भीड लाग्ने गरेको छ। मनोकांक्षा पूरा हुने विश्वासमा छौंङ्खा चण्डी थानमा सेतो बास्ने भालेको बली दिने पराम्परा छ।

ढोल, झ्याम्टा बजाउँदै चण्डी स्थानमा किराँती र गैह्र किराँतीले साकेला नाच्दै पूजाआजा गर्छन्।

सिर पूर्णिमाको पहिलो सोमबारका दिन पारेर हजारौं भालेको बली दिने गरिएको छौंङ्खा चण्डी थान संरक्षण समितिले जनाएको छ। ढोल, झ्याम्टा बजाउँदै चण्डी स्थानमा किराँती र गैह«किराँतीले साकेला नाच्दै पूजाआजा गर्छन्।

खोटाङको डम्बर्खुशिवालय, बोपुङ र भोजपुरको बालंखा, वासिमथर्पु, यूँ, थिदिंखा, पाङचाको बीचमा रहेको चण्डी स्थानमा हरेक वैशाखे पूर्णिमाको दोस्रो सोमबार र मंसिर पूर्णिमाको पहिलो सोमबारका दिन पूजाआजा गर्ने र मेला लगाउने प्रचलन छ। मंसिर पूर्णिमाको पहिलो सोमबारको दिन भोजपुरको बालंखामा पनि ठूलो मेला लाग्ने गरेको छ।

२०७५ सालमा जन्तेढुंगाको केन्द्र चिसापानीबाट काहुले हुँदै तथा भञ्ज्याङखर्क–जलेश्वरी मावि–महेन्द्रज्योती प्रावि हुँदै छौंङ्खा पुग्ने सडक बनेपछि दर्शनार्थीको भीड बढ्न थालेको वडाध्यक्ष राईले बताए।

गाउँपालिकाकै धार्मिक पर्यटनको रूपमा विकास गर्न सकिने सम्भावना बोके पनि ओझेलमा रहेको चण्डी स्थानलाई पुरातत्व विभागमा ऐतिहासिक स्थानका रूपमा समावेश गर्ने तयारी भइरहेको छ। परापूर्वकालमा नाम्नु नामका ससुरा र हाङखीम नामका ज्वाइँले भोटबाट नुन लिएर फर्कनेक्रममा फेला पारेको शिला चण्डीस्थानमा भासिएपछि यो स्थानमा पुजाआजाको सुरुवात भएको किंवदन्ती रहिआएको बुढापाकाको भनाई छ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App