coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गुगलद्वारा हुवावेसँगको व्यापार सीमित

न्युयोर्क – गुगलले चिनियाँ मोबाइल कम्पनी हुवावेसँगको व्यापारलाई सीमित पारेको छ। गुगलले हुवावेलाई अबदेखि हार्डवेयर र सफ्टवेयर स्थानान्तरण नगर्ने बताएको हो। उसले मोबाइल सेवाबाट पनि हुवावेलाई वञ्चित गरिदिएको बताएको छ। यसको अर्थ गुगलको अबदेखि हुवावेबाट प्राविधिक सहायता पाउनेछैन र उसका नयाँ स्मार्टफोनहरुले लोकप्रिय गुगल एप तथा सेवामा पहुँच पाउने छैनन्।

चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेविरुद्ध अमेरिकी सरकारले लिएको पछिल्लो निर्णय स्वीकार गर्दै गुगलले यस्तो निर्णय गरेको कम्पनीका एक प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। रोयटर्स समाचार संस्थाका अनुसार नयाँ ह्वावेई स्मार्टफोनहरू गुगलका केही सेवाबाट वञ्चित हुनेछन्।

गुगलको पछिल्लो निर्णयअनुसार हुवावेले उत्पादन गर्ने नयाँ स्मार्टफोनहरु गुगलका केही सेवाबाट वञ्चित हुने समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। हुवावेका नयाँ स्मार्टफोनहरुले गुगलको एप स्टोर तथा उसको जिमेल जस्ता सेवामा अब पहुँच नपाउने रोयटर्सले जनाएको छ। गुगलको पछिल्लो निर्णयबारे हुवावेले भने प्रतिक्रिया दिन अस्विकार गरेको बिबिसीले उल्लेख गरेको छ। रोयटर्सले नाम नखुलाइन उद्धृत गरेको सुत्रअनुसार हुवावेलाई कस्ता कस्ता सेवाबाट वञ्चित गर्ने भन्ने बारे गुगल अझै छलफलमै रहेको छ। गुगलले व्यापार सीमित पारे पनि हुवावेले अझैपनि ‘ओपन सोर्स लाइसेन्समार्फत उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टम’ भने प्रयोग गर्न सक्ने बताइएको छ।

‘गुगलको तर्फबाट प्रस्ट वक्तव्य नआएसम्म यस निर्णयबाट हुवावेलाई के कस्ता प्रभाव पर्ने छन् भनेर विस्तृत बताउन गाह्रो छ,’ सिसिएस इनसाइट कन्सल्टेन्सीका बेन वुडलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘तर यदि रोयटर्सको विवरण साँचो हो भने हुवावेको उपभोक्ता व्यापारमा त्यसको ठूलै असर हुनेछ,’ उनले बताए।

‘हुवावेले उसको आफ्नै एप ग्यालरी तथा अन्य सफ्टवेयर विकास गर्न परिश्रम गरिरहेको छ। आफ्नो भाग्य आफैं निर्धारण गर्न उसले यी सबै चीज गरिरहेको मान्न कठिन छैन,’ वुडलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। गत बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई कालो सूचीमा राख्ने निर्णय गर्दै अनुमति विना उसलाई कुनै प्रविधि बेच्न अमेरिकी कम्पनीहरुमाथि रोक लगाएको थियो।

विश्वभर कैयौं सरकारहरुले सुरक्षा चिन्ता दर्साउँदै नौलो ‘फाइभ–जी’ मोबाइल सञ्जाल विकासमा हुवावेका उपकरण प्रयोग गर्न यसअघि नै रोक लगाइसकेका छन्। अमेरिकाको एक महŒवपूर्ण साझेदार राष्ट्र बेलायतले भने हालसम्म हुवावेलाई औपचारिक प्रतिबन्ध लगाइसकेको छैन। गुगलको निर्णयले हुवावेलाई अल्पकालीन क्षति पुग्ने बिबिसीले उल्लेख गरेको छ। ‘गुगलको प्लेस्टोरमा पहुँच नभएको स्मार्टफोन किन्न उपभोक्ताहरु हिच्किचाउने हुँदा उसलाई क्षति पुग्ने छ,’ बिबिसीले जनाएको छ। तर दीर्घकालमा भने स्मार्टफोन विक्रेताहरुलाई गुगलको अपरेटिङ सिस्टमको भरपर्दो विकल्प निर्माण गर्ने तर्फ गम्भीरतापूर्वक सोच्न यसले बाध्य बनाउन सक्ने अनुमान गरिएको छ। हुवावेको हकमा उसले अमेरिकी प्रविधिबाट आफू वञ्चित हुन सक्ने स्थितिको आँकलन गरिसकेको जस्तो देखिएकाले उसलाई अल्पकालीन क्षति मात्रै पुग्ने देखिन्छ। उसका स्मार्टफोन आफ्नै स्वामित्व भएका प्रोसेसरबाट सञ्चालित हुँदैछन् भने गत वर्ष सो कम्पनीका एक वरिष्ठ अधिकारीले छुट्टै अपरेटिङ सिस्टम बनाएको पनि बताएका थिए। तर जे होस् यो निर्णयले सामसुङलाई जितेर सन् २०२० मा नम्बर एक मोबाइल कम्पनी बन्ने हुवावेको लक्ष्यमा भने धक्का पुग्नेछ।

अमेरिकी वाणिज्य मन्त्रालयले हुवावेले चिनियाँ सरकारको निम्ति अमेरिकी सञ्जालमाथि जासुसी गर्न सक्ने चिन्ताकामाझ उसलाई कालो सूचीमा राखेको केही दिनपछि गुगलको यस्तो निर्णय आएको छ। नयाँ नियमअनुसार अमेरिकी कम्पनीहरुले हुवावेलाई प्रविधि हस्तान्तरण वा विक्री गर्न अब अनुमति लिनुपर्नेछ। चिनियाँ कम्पनीले ट्रम्प प्रशासनको चिन्तालाई निराधार भन्दै आफू बेइजिङ सरकारबाट स्वतन्त्र रहेको बताउँदै आएको छ।
 

प्रकाशित: ७ जेष्ठ २०७६ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App