६ वैशाख २०८१ बिहीबार
अर्थ

धातु तथा खनिजको उत्खननलाई सरकारले प्राथमिकता दिनुपर्छ: मुख्यमन्त्री शाही

काठमाडाैं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बहुमुल्य धातु तथा खनिजको उत्खननलाई संघ र प्रदेशका सरकारले प्राथमिकता दिनु पर्ने बताएका छन्।

सोमबार ललितपुरमा नेपाल सुनचाँदी रत्न आभूषण महासंघको छैटौ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री शाहीले खनिजको उत्खननलाई संघ र प्रदेशका सरकारले योजना बनाएर काम गर्नु पर्ने आवश्यकता रहेको बताएका हुन्। कार्यक्रममा मुख्यमन्त्री शाहीले नेपालको बैदेशिक व्यापार घाटा कम गर्दै राष्ट्रिय उत्पादकत्व बढाउन आफ्नै देशको खनिज पदार्थले महत्वपूर्ण भूमिका खेल्ने भएकोले नेपालमा सम्भावना भएका बहुमुल्य धातु तथा खनिजको उत्खननलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन्।

शाहीले नेपालको कर्णाली प्रदेश बहुमुल्य धातु तथा खनिजको लागि धेरै सम्भावना भएको क्षेत्र भएकोले सबै तहका सरकारले ध्यान दिन पनि आग्रह गरे।

कार्यक्रममा नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बहुमुल्य पत्थर तथा आभूषण बनाउन प्रयोग हुने धातुको कारोबारको स्पष्ट नीति नहुदा कारोबार गर्ने र उपभोक्ता मारमा परिरहेको गुनासो गरे। सरकारले गरगहना बनाउन प्रयोग हुने सुन चाँदीको आयात गर्न र तयारी गरगहना विदेश निर्यात गर्न स्पष्ट कानुनी ब्यवस्था मिलाउन माग पनि गरे।

पछिल्लो केहि वर्ष यता सुन चाँदीको अवैध कारोबार तथा ओसारपसार बढेको भन्दै सरकारले आयातमा निश्चित कोटा परिमाण तोकेको छ। यो व्यवस्थालाई व्यवसायीहरुले बिरोध गर्दै आएका छन्।

प्रकाशित: ६ जेष्ठ २०७६ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App