६ वैशाख २०८१ बिहीबार
राजनीति

गलत सूचनाका कारण रिगा सम्मेलनमा गयौँः सांसदद्वय

काठमाडौं– स्वतन्त्र तिब्बत सम्वन्धी कार्यक्रममा सहभागी भएर आलोचित बनेका समाजवादी पार्टीका सांसदद्वय एकबाल मियाँ र प्रदीप यादवले आफूबाट गल्ती भएको स्वीकारेका छन्। 

प्रतिनिधिसभाका सदस्यद्वय एकवाल मियाँ र प्रदीप यादवले गलत सूचनाका कारण तिब्बतसम्बन्धी सम्मेलनमा सहभागिता हुन गएको प्रति दुःख व्यक्त गरेका हुन्। सांसदद्वयले जारी गरेको विज्ञप्तिमा व्यक्तिगत हैसियतमा निजी तवरबाट टर्की, स्वीट्जरल्याण्ड र लाट्भियाको भ्रमणमा गएका बेला लाट्भियाको राजधानी रिगामा कानून निर्माताहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको भन्ने गलत सूचनाका कारणले अनभिज्ञतावश सहभागी हुन पुगेको उल्लेख छ।

'जब हामीलाई सम्मेलनका बारेमा यथार्थ जानकारी भयो, हामी तत्काल सम्मेलनस्थल छोडी स्वदेश फर्कियौँ, गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएको प्रति हामी दुःखी छौँ' सांसदद्वय मियाँ र यादवले संयुक्तरुपमा हस्ताक्षर गरी जारी गरेको वक्तव्यमा भनिएको छ।

नेपालको संविधान, प्रचलित कानूनले निर्धारण गरेका अन्तरराष्ट्रिय सम्बन्ध तथा सरकारको एक चीन नीतिप्रति प्रतिबद्धता र दृढ समर्थन रहेको उनीहरुले बताएका छन्। प्रतिनिधिसभा नियमावली २०७५ ले सदस्यका लागि निर्धारण गरेका शर्तबन्देजलगायत पालना गर्नुपर्ने आचार संहितासम्बन्धी व्यवस्थालाई पूर्ण रुपमा पालना गरिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ। अाफूहरुले आजै सभामुख कृष्णबहादुर महरालाई भेटी घटनाका बारेमा यथार्थ जानकारी गराएको संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद मियाँले बताए। गत वैशाख २४ देखि २७ सम्म रिगामा सांसदहरुको तिब्बतसम्बन्धी विश्व सम्मेलन भएको थियो।

सत्तारुढ पार्टीकै सांसद ‘फ्रि तिब्बत’ अभियानमा सहभागी भएपछि चिनियाँ पक्षले असन्तुष्टि जनाएको थियाे। चिनियाँ असन्तुष्टिपछि समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री यादवले बुधवार विज्ञप्ति जारी गरेर सांसद यादवको सहभागिताबारे पार्टीलाई कुनै जानकारी नभएको र यसबारे उनीसँग स्पष्टिकरण लिइने बताएका थिए।

प्रकाशित: ६ जेष्ठ २०७६ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App