८ वैशाख २०८१ शनिबार
अन्य

‘सहरमा बस्नेहरू आफ्नो जिम्मेवारीबाट नभागौं’

गनु साम्पाङ राई, गायक

तपाईंको विचारमा सहर भनेको के हो?
मानिसका रहर र सपना जोडिएको व्यवस्थित अनि सुविधायुक्त ठाउँलाई नै सहर मान्न सकिन्छ। गाउँगाउँ र पिछडिएका क्षेत्रबाट आएका मानिसको रूचि सहरले नै पूरा गर्छ। सहरमा पौराणिक र आधुनिक सर–सुविधा हुन्छन्। त्यहाँ विकास निर्माण र पूर्वाधारको काम व्यवस्थित किसिमले भएको हुन्छ। सहरमा बढी जनघनत्व हुने भएकाले त्यहाँको प्रशासनिक निकायको पूर्वतयारी र व्यवस्थापन पनि चुस्त पारिन्छ। अवसरको हिसाबमा पनि सहर अग्रपंक्तिमा नै रहेको हुन्छ।

घुमेकामध्ये मनपर्ने सहर कुन हो?
मलाई मनपर्ने सहर पोखरा हो। यो प्राकृतिक रूपमै सजिएको छ। यस्तै सफा र सुन्दर पनि छ। त्यहाँको भौगोलिक र प्राकृतिक पक्ष विचित्र छ। विदेशी पर्यटकलाई तान्ने अनुपम ठाउँ र पदमार्ग पोखरामा लुकेका छन्। त्यहाँ मानिसको चाप पनि कम छ। तर, पछिल्लो समय संरचना बनाउँदा ध्यान नदिँदा गाउँ पनि बिग्रिएको छ। अहिलेसम्मको अवस्था हेर्दा पोखरालाई व्यवस्थित सहर नै मानिन्छ। यहाँ जनसंख्या पनि ठिक्क छ। जनसंख्या र क्षेत्रफल मिलेकाले पोखरामा प्रदूषण कतै देखिन्न। अरु सहरलाई पनि यसरी नै विकास गर्न जरुरी छ। 

तपाईंको बुझाईमा सहरमा के–के सुविधा हुनुपर्छ?
सबैभन्दा पहिले त स्वस्थ हावा हुनुपर्छ। सहरमा मानव जीवनसँग गाँसिएका हर कुरा सहज हुनुपर्छ। यस हिसाबमा हेर्दा नेपालको भूगोल मानव स्वास्थ्यको हिसाबले ज्यादै सुन्दर छ। यहाँजस्तो मौसमी अनुकूलता संसारमा अरु सहरमा सायदै होला। दुःखको कुरा संसारलाई लोभ्याउने विविधता बोकेर पनि हामी निकै पछि परेका छौं। अन्य मानवीय आवश्यकतालाई हेर्दा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, विद्यालय, शान्ति सुरक्षालगायत हर हिसाबमा सहर व्यवस्थित हुनुपर्छ। सहरवासीको चाहना पूर्ति गर्ने जिम्मेवारी सहरी प्रशासनले लिएको हुन्छ।

‘सहर राम्रो हुन मानिसको सोचाइमा स्वच्छता चाहिन्छ, विकास मात्रै भएर हुन्न। अहिले सहरमा खुट्टा तान्नेको भीड छ।’

उसो भए हाम्रो प्रशासन कतिको जिम्मेवारी छ त?
सहर बन्नको लागि सबैभन्दा पहिलो शर्त त त्यहाँ बस्ने सबै जिम्मेवार हुनुपर्छ। सरकारी निकायमा बस्नेले आफ्नो काम पारदर्शी ढंगले गर्नुपर्छ। सहरवासी सबै मिलेर बेला–बेला सम्बन्धित निकायलाई घचघच्याइरहनुपर्छ। तर, हाम्रो सहरमा न नागरिक जिम्मेवार छन् न त सरकार नै।

सहर र गाउँको सम्बन्ध कस्तो हुनुपर्ला?
मेरो विचारमा सहर र गाउँको महत्व फरक–फरक हुन्छ। गाउँमा फरक जीवनशैलीमा मानिस बाँचेका हुन्छन् भने सहरमा पनि आफ्नै किसिमको जीवनशैली हुन्छ। सहरको जीवनशैली कुदाकुद हुन्छ। आधुनिक सेवा सुविधाको हकमा सहर अघि हुन्छ। गाउँमा सहरजस्तो सुविधा पुग्दैन। त्यसकारण पनि गाउँका मानिस सहरतर्फ लोभिन्छन्।

काठमाडौं कस्तो लाग्छ?
यहाँ बाँच्न सजिलो छ। अन्तभन्दा अवसर र सुविधा छन्। मौसम पनि सदावहार छ। प्रकृतिले हामीलाई सदावहार मौसम दिएको छ। यहाँकोे मौसम र हावापानी राम्रो भएकाले पनि विदेशी नेपालमा तानिएका छन्। यहाँ पुराना मठ–मन्दिर, धार्मिक क्षेत्र पनि छन्। गर्न चाहने र इच्छा हुनेहरूको लागि काठमाडौंमा सबैथोक पाइन्छ। मैले पनि आफ्नो करिअर काठमाडौंमै बनाएको थिएँ।

पछिल्लो समय काठमाडौंको अस्तव्यस्तता हेर्दा कस्तो अनुभूत हुन्छ?
काठमाडौं अलि बिग्रिएको छ। कतै–कतै विकास निर्माणका काम भए पनि धेरै ठाउँ अस्तव्यस्त छ। पछिल्लो समय यहाँ जनसंख्याको चाप हवात्तै बढ्यो। सहरी व्यवस्थापन राम्रो भएन। महँगी पनि चुलियो। सहरमा खानेपानीको चरम हाहाकार भइसकेको छ। यति हुँदाहुँदै पनि काठमाडौंका प्राकृतिक र पौराणिक अनौंठो पक्षलाई भुल्नै सकिन्न। प्राकृतिक दृश्य सम्झदा बसौं बसौं लागे पनि यहाँको अव्यवस्थता हेर्दा बस्न मन लाग्दैन।

तपाईंको विचारमा काठमाडौं कसरी व्यवस्थित बन्न सक्ला?
सरकारका तल्लो तहका निकायले काम गर्नुपर्छ। ती निकायले पनि दीर्घकालीन सोच र योजना बनाएर तीव्र गतिमा काम गर्न आवश्यक छ। यदि विगतदेखि नै सरकारी निकाय र सहरवासीले बेवास्ता नगरेको भए काठमाडौं यति साह्रै निर्दयी र दिक्कलाग्दो हुँदैनथ्यो होला।

उपत्यकाबाहिर अन्य कुन–कुन सहर घुम्नुभएको छ?
म पहाडमा जन्मिएकाले पनि सबैतिरका भूगोललाई बुझेको छु। नेपालका हरेक ठाउँ र सहरको फरक–फरक विशेषता छ।

विदेशका कुनै सहर घुम्नुभएको छ?
विदेशका देश खासै घुमेको छैन।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
म बसेको सहरमा सबैखाले सुविधा होऊन्। हरेक मानिस सभ्य भएको देखियोस्। सहरी सुविधामा सबैको पहुँच पुगोस्। एकले अर्काको पीडा बुझ्न सकुन्। कसैले पनि रिस डाहा नगरोस्। सुख–दुःख आइपर्दा हातेमालो गर्ने प्रवृत्ति सहरवासीमा विकास होस्।

काठमाडौंको मन नपर्ने पक्ष के हो?
यहाँका मन नपर्ने पक्ष धेरै छन्। धराप सडक, ट्राफिक जाम, अव्यवस्थित पार्किङ, भीडभाड, प्रदूषणलगायत नै यहाँको नकारात्मक पक्ष हो। यसले काठमाडौंलाई अस्तव्यस्त बनाएको छ।

सकारात्मक पक्ष?
उपत्यकामा अवसर छ। सबैखाले सेवा–सुविधा पाइन्छ, यो नै यहाँको राम्रो पक्ष हो। सांस्कृतिक सम्पदा, जात्रा पर्वहरू, मठ–मन्दिर, अनुकूल मौसम यहाँको सकारात्मक पक्ष हो।

सहरवासीको बानी कस्तो लाग्छ?
दुवै खालका मानिस संसारमा बस्छन्। तर, सहरवासी जिम्मेवारीबाट भाग्न खोजिरहेका छन्। सहरमा सबैको सोचमा एकरूपता भएन। सहर राम्रो हुन मानिसको सोचाइमा स्वच्छता चाहिन्छ, विकास मात्रै भएर हुन्न। अहिले सहरमा खुट्टा तान्नेको भीड छ। तर पनि उठ्न सकियो भने सहरमा मान्छे बन्ने ठाउँ र अवसर टन्नै छन्। अर्को कुरा, सहरमा बस्नेहरू त्यति सभ्य छैनन्। सबैले अरुको गल्ती मात्रै देख्छन्, आफ्नो गल्ती देख्दैनन्। मलाई त सहरवासीकै गलत सोच र प्रवृृत्तिले सहर बिग्रिएजस्तो लाग्छ।

तपाईंको विचारमा सहरको विकास कसरी होला?
सहरवासीमा जनचेतनाको खाँचो छ। घरभित्रको फोहर व्यवस्थापन गर्ने, हरेक व्यक्ति जिम्मेवार हुने, तोकिएको स्थानमा फोहर फाल्ने, विकास निर्माणका कामलाई समयमै सक्ने, राज्यमा बस्नेहरूले विकास निर्माणमा दुरदृष्टि राख्नेलगायत कुरामा ध्यान दिने हो भने सहर सफा बन्न सक्छ जस्तो लाग्छ।

पछिल्लोे समय घुमेको सहर?
केही समयअघि चितवन पुगेको थिएँ।

सहरमा कलाकारिता गर्न कतिको सहज छ?
सिक्ने र अनुभव गर्नको लागि सहरबजार राम्रो मानिन्छ। गाउँ–गाउँका प्रतिभा पनि सहरमै आएर फक्रिने गर्छन्। सहरमा सांगीतिक माहोल तयार गर्न सहज छ।

तपाई गायन क्षेत्रसँगै शैक्षिक क्षेत्रमा पनि आवद्ध हुनुहुन्छ, हाम्रो सहरको शिक्षा पद्धति कस्तो छ?
हामीकहाँ मिश्रित किसिमको शिक्षा प्रणाली छ। सहर र गाउँको शिक्षालाई तुलना गरिसाध्य छैन। सहरी शिक्षा प्रविधियुक्त छ। सहर र गाउँको सामूदायिक शिक्षा प्रणालीलाई हेर्ने हो भने धेरै फरक छ। सहरमा सचेत अभिभावक हुन्छन्। गाउँका अभिभावकमा अलि चेतनास्तरको कमी देखिन्छ। अर्को कुरा सहरी शिक्षा र ग्रामिण शिक्षामा राज्यको आँखा पनि भिन्न छ। सहरको शिक्षामा राज्यको जति आँखा पुगेको हुन्छ गाउँको शिक्षामा त्यति हुन्न। सहरको विद्यालयमा सरकारी अधिकारीले अनुगमन पनि गर्छन। तर, गाउँको विद्यालयमा वर्षमा एकपटक पनि अनुगमन हुन्न। त्यसकारण सरकारले नै गाउँको शिक्षा प्रणालीलाई बेवास्ता गरेको देखिन्छ।

तपाईं कुन उद्देश्यले सहर आउनुभयो?
त्यतिबेला म पढ्नकै लागि सहर आएको थिएँ। बाल्यकालदेखि संगीतमा पनि रुची राख्थे। सहर पसेर यी दुई क्षेत्रमा आफूलाई फक्राउनु पर्छ भन्ने सोच थियो। त्यही लहरमा सहर छिर्दा मैले नेपाली विषयमा स्नाकोत्तरसम्म अध्ययन गरेँ। संगीतको क्षेत्रमा पनि धेरै सफलता हात पारेँ। सहरमै बसेर दुइटा एल्बम सार्वजनिक गरेँ। २०६० सालमा रेडियो नेपालकोे लोकगीत प्रतियोगितामा प्रथम भएँ। पनि शिक्षा क्षेत्रमा प्रधानध्यापकको रुपमा काम गरिहरहेको छु।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो?
धेरै समय त काममै व्यस्त रहन्छु। अहिलेलाई त्यस्तो ठाउँ घुमौं भनेर योजना बनाएको छैन।

सहरको मनपर्ने खानेकुरा?
दाल, भात, तरकारी नै मिठो लाग्छ।

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: ६ जेष्ठ २०७६ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App