coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

उपत्यकामा बढ्यो सवारी दुर्घटना

काष्ठमण्डप– काठमाडौं उपत्यकामा १० महिनाको अवधिमा  सवारी दुर्घटनामा परेर धेरै जनाले ज्यान गुमाएका छन्। गत साउनदेखि वैशाख मसान्तसम्म  उपत्यकामा २ सय ११ जना सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन्।

अघिल्ला आवको तुलनामा यो दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या उच्च हो। ‘गत वर्षको वर्षभरिमा सवारी दुर्घटनामा परेर एक सय ९४ जनाले ज्यान गुमाएका थिए,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले भने, ‘तर, चालू आवको १० महिनामा  सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या २ सय ११ पुगेको छ।’

महाशाखाको आकँडाले पनि सवारी दुर्घटनामा परेर पैदलयात्रुको अत्यधिक मात्रामा ज्यान जाने गरेको देखिएको छ।  ‘गाडी चलाउनेले जेब्राक्रसमा नै तीव्र गतिमा हुइक्याउँदा पैदल यात्रुले अनाहकमा ज्यान गुमाइरहेका छन्,’ ट्राफिक इन्जिनियर आशिष गजुरेल भन्छन्, ‘राजधानीकै अधिकांश सवारी चालकलाई जेब्राक्रस कसका लागि बनाइएको भन्ने ज्ञान छैन।’

जेब्राक्रसमा पैदल यात्रुलाई पहिलो प्राथमिकता दिनुपर्ने विश्वव्यापी चलन हो। तर, नेपालमा भने जेब्राक्रसमै पैदल यात्रु मारिने गरेका छन्।  ट्राफिक इन्जिनियर गजुरेलले काठमाडौं उपत्यकाका सडक पैदलयात्रुमैत्री नभएको बताउँछन्। ‘उपत्यकाको सडक पैदलयात्रुमैत्री नै छैन। जसको कारणले बारम्बार दुर्घटनामा परेर पैदलयात्रुले अनाहकमा ज्यान गुमाउन बाध्य भइरहेका छन्,’ उनले भने, ‘फराकिला सडक बनाएर मात्रै हुँदैन। पैदलयात्रीलाई कसरी सुरक्षित बनाउनेतर्फ ध्यानै गएको छैन।’

उनका अनुसार विकसित मुलुकमा सवारी दुर्घटना न्यूनीकरण भइरहेको छ। तर, नेपालजस्तो विकासोन्मुक मुलुकमा भने वर्षेनी सवारी दुर्घटना बढ्नु दुर्भाग्य हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटाले चालकको लापारवाहीकै कारणले पैदलयात्रु असुरक्षित भइरहेको बताउँछन्। ‘जेब्राक्रसमा बाटो काट्दा पैदल यात्रुको ज्यान जानु चालकको गम्भीर लापरवाही हो, त्यस्ता चालकले उन्मुक्ति पाउँदैनन्,’ उनले भने, ‘जेब्राक्रसमा ठक्कर दिएर मार्ने चालकलाई सवारी ज्यान मुद्दा चलाउन निर्देशन दिएको छु।’

उनका अनुसार जेब्राक्रसमा नै यात्रु असुरक्षित हुनु गम्भीर चुनौती हो। प्रवक्ता सापकोटाले ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न  जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए। ‘विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर ट्राफिक जनचेतना जगाउने काम गरिरहेका छौं,’ उनले भने, ‘चालक र पैदलयात्रु दुवैलाई विभिन्न जनचेतनामूलक कार्यक्रममा सहभागिता गराइरहेका छौं।’

सवारी तथा यातायात व्यवस्था ऐनको दफा १३७ अनुसार पैदल यात्रीले जेब्राक्रसिङ, सब–वे, ब्रिज वा त्यस्तो बाटो काट्न निर्धारण गरिएको ठाउँबाट मात्रै बाटो काट्नुपर्ने प्रावधान छ। तर, ऐनमा जेब्राक्रसमा सवारी दुर्घटना गराउनेलाई के कारबाही गर्ने भन्ने प्रष्ट छैन। ऐनको दफा १६१ अनुसार सवारी चालकले जानाजानी दुर्घटना गराएर पैदलयात्रुको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुन्छ। सवारी दुर्घटनाकै कारण कुनै व्यक्तिको मृत्यु भएमा दुईदेखि १० वर्षसम्म कैदको व्यवस्था पनि ऐनमा छ।

उपत्यकाभित्र सवारी दुर्घटनामा मारिनेको संख्या  
आर्थिक वर्ष                              दुर्घटना     मृत्यु
२०७२/७३                                ५६६८    १६६
२०७३/७४                                 ५५३०    १८२
२०७४/७५                                 ६३८१    १९४
२०७५/७६ (वैशाख मसान्तसम्म)    ६९८२    २११

प्रकाशित: ६ जेष्ठ २०७६ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App