७ वैशाख २०८१ शुक्रबार
अन्य

रोकिएन ट्राफिक प्रहरीलाई घुस दिने प्रवृत्ति

–महानगरीय प्रहरी वृत्त जगातीबाट जगाती चेकप्वाइन्टमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा२०च ८२०९ नम्बरको बोलेरो चालक खोटाङ, चिसापानी बस्ने बर्ष ३३ को केशवबहादुर तामाङलाई पक्राउ गरेको छ। गत जेठ १ गते इटहरीबाट काठमाडौं आउँदै गरेको वाकर बोकेको बोलेरो गाडीलाई चेकजाँच गर्दा तामाङले प्रहरीलाई १०० दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेकाले निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

आर्थिक वर्ष २०७४–७५ मा ट्राफिक नियम उल्लंघन गरेर ट्राफिक प्रहरीलाई रंगेहात घुस दिने २९ जना सवारीचालकलाई मुद्दा चलाएको महाशाखाले जनाएको छ।  


–महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा९५प ४२९ नम्बरको मोटरसाइकल चालक भरत केसी र यमन दाहाल पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी सवारी चलाइरहेका उनीहरूलाई गत शनिबार तीनकुने सडक खण्डमा चेकजाँच गर्दा कारवाहीबाट बच्नको लागि ट्राफिक प्रहरीलाई पाँच सय रूपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा पक्राउ परेका हुन्। उनीहरूलाई नगदसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ट्राफिक नियम उल्लंघन गरेर ट्राफिक प्रहरीलाई घुसवापत रकम दिएर कारवाहीमा परेका केही प्रतिनिधिमूलक घटना हुन् यी। पछिल्लो समय ट्राफिक प्रहरीलाई ट्राफिक नियम उल्लंघन गरेबापत सोझै नगद पैसा बुझाउने चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले धमाधम कारवाही गरेको छ। महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने चालकले सोझै ट्राफिक प्रहरीलाई नगद पैसा दिने चालकलाई अभद्र व्यवहार अनुसार मुद्दा चलाउने गरेको छ। महाशाखाका अनुसार ट्राफिक प्रहरीलाई घुस दिने सवारीचालकलाई २०७४ साउन १ गते देखि कारवाही गर्न थालिएको हो। महाशाखाका अनुसार हालसम्म ट्राफिक प्रहरीलाई घुस रकम दिएको आरोपमा ७२ जनाविरुद्ध मुद्दा चलाइएको छ।

महाशाखाका अनुसार गत वर्षको तुलनामा ट्राफिक नियम उल्लंघन गरेर सवारीचालकलाई घुस दिने प्रवृत्तिमा कमी आएको छैन। चालू आवको ९ महिनामा ४३ जना सवारीचालक घुस रकमसहित पक्राउ परेका छन्।


आर्थिक वर्ष २०७४–७५ मा ट्राफिक नियम उल्लंघन गरेर ट्राफिक प्रहरीलाई रंगेहात घुस दिने २९ जना सवारीचालकलाई मुद्दा चलाएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गत वर्षको तुलनामा ट्राफिक नियम उल्लंघन गरेर सवारीचालकलाई घुस दिने प्रवृत्तिमा कमी नआएको तथ्यांकले देखाएको छ।चालू आवको ९ महिनामा ४३ जना सवारीचालक घुस रकमसहित पक्राउ परेका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले ड्युटीमा खटिएको कर्मचारीलाई जबर्जस्ती घुस दिने कार्य निरुत्साहित गर्न घुस दिनेलाई पनि मुलुकी अपराध संहिता ऐनको दफा ११८ अनुसार अभद्र व्यवहार अनुसार मुद्दा चलाउँदै आएको बताए। ‘सार्वजनिक सेवालाई चुस्तदुरुस्त र शुद्धीकरण गर्न घुस दिनेलाई पनि कारवाहीको दायरामा ल्याएका छौं,’ उनले भने, ‘ट्राफिक नियम उल्लंघन गरेर ट्राफिक प्रहरीलाई घुस दिनेका मुद्दा दिनदिनै बढेको छ।’ मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ११८ मा अभद्र व्यवहार गर्न नहुने प्रावधान अनुसार कारवाही गर्दै आएको छ।

‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्नु हुँदैन,’ ऐनमा उल्लेख छ।  उक्त नियम उल्लंघन गर्नेलाई कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी घुस दिने सवारीचालकलाई  मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार मुद्दा चलाउन थालिसकेको छ।

महाशाखाका प्रवक्ता जयराम सापकोटाले घुस लिने मात्र होइन, दिनेलाई समेत मुलुकी अपराध संहिता ऐन, २०७४ अन्तर्गत मुद्दा चलाउन थालिएको बताए।

महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने चालकले सोझै ट्राफिक प्रहरीलाई नगद पैसा दिने चालकलाई सार्वजानिक मुद्दा चलाउने गरेको छ। महाशाखाका अनुसार ट्राफिक प्रहरीलाई घुस दिने सवारीचालकलाई २०७४ साउन १ गते देखि कारवाही गर्न थालेको हो। 


‘ट्राफिक नियम उल्लंघन गर्ने चालकले सोझै ट्राफिक प्रहरीलाई रकम बुझाएर ट्राफिक प्रहरीकै  बद्नाम गर्नेलाई समातेर मुलुकी अपराध संहिता ऐन अनुसार कारवाही गरिरहेका छौं,’ प्रवक्ता सापकोटाले भने, ‘सवारीचालकले नियम उल्लंघन गरेको खण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई जरिवाना रकम तिर्ने होइन, सम्बन्धित ट्राफिक कार्यालय गरेर भौचर काटेर जरिवाना बुझाउने व्यवस्था गरिएको हुन्छ।’

प्रकाशित: ६ जेष्ठ २०७६ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App