coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

राजस्व लक्ष्य पूरा गर्न मुलकभर टोली

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले चालु बजेटकोे संशोधित राजस्व लक्ष्य पूरा गर्न टोली परिचालन गरेका छन्। अर्थमन्त्रीले यही जेठ २ मा आठ सदस्यीय टोली बनाएर यसलाई मुलुकभर परिचालन गरेका हुन्। चालु बजेटले करिब ३५ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य राखेको थियो। यो लक्ष्य कुनै पनि हालतमा पूरा नहुने देखिएपछि अर्थमन्त्री खतिवडाले मध्यावधि समीक्षामार्फत घटाएका थिए।

राजस्व असुलीको अहिलेको अवस्था हेर्दा घटाएको लक्ष्य पूरा हुने अवस्था पनि नदेखिएकाले टोली परिचालन गर्नु परेको हो। चालु आवको जेठ ४ सम्ममा सरकारले पाँच खर्ब ६६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यको ६६ प्रतिशत मात्र हो। यसमध्ये सरकारले करबापत पाँच खर्ब १४ र गैरकरमार्फत ५२ अर्ब रुपैयाँ संकलन गरेको हो। अबको बाँकी समयमा लक्ष्य फेला पार्न सरकारलाई समस्या छ।

यस्तै यही अवधिमा सरकारको कुल खर्च सात खर्ब २३ अर्ब रुपैयाँ भएको छ। यो लक्ष्यको ५५ प्रतिशत हो। यसमध्ये चालु खर्च पाँच खर्ब ३७ अर्ब र पुँजीगत खर्च एक खर्ब ३१ अर्ब हो। टोलीमा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभागका उप–सचिव तहका आठ कर्मचारी छन्। चालु आर्थिक वर्षका लागि निर्धारित राजस्व संकलनको लक्ष्य हासिल हुने गरी ठोस र प्रभावकारी कार्य योजनासहित राजस्व संकलन कार्यमा संलग्न कार्यालयलाई परिचालन गर्न अनुगमन टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री खतिवडाले एक वर्षअघि भन्सार जाँचपास प्रक्रियामा मालवस्तुको घोषणा, वर्गीकरण र मूल्यांकनमा गरेको कडाइका कारण भन्सार राजस्व धेरै तिर्नु परेपछि व्यवसायीले खुला सीमाको फाइदा उठाउँदै अवैध निकासी तथा पैठारी गरेको आशंका मन्त्रालयको छ। यसको यथार्थ जानकारी टोलीले लिनेछ।
मन्त्रालयका अनुसार अनुगन टोलीलाई मन्त्रालय मातहतका विभाग र कार्यालयको वार्षिक कार्यक्रम तथा नियमित कामको अनुगमन गर्ने जिम्मेवारी पनि दिइएको छ। कुनै समस्या भए तत्काल समाधानका लागि पहल गर्न समेत भनिएको छ। टोलीलाई लक्ष्य अनुसारको प्रगति हासिल गर्न निर्देशन दिने, राजस्व संकलन गर्ने कार्यालयको आकस्मिक अनुगमन गर्ने, निरीक्षण गर्ने र आवश्यकता अनुसार छड्के चाँज गर्न समेत अख्तियारी दिइएको छ। तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारबाहीको सिफारिस गर्न समेत टोलीको कार्यादेश छ।

प्रकाशित: ६ जेष्ठ २०७६ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App