७ वैशाख २०८१ शुक्रबार
अन्य

महानगरभित्रका २७ सडक स्तरोन्नती हुँदै

पोखरा महानगरपालिका–२६ को खराने–राखीडाँडा खण्ड। तस्बिरः नागरिक

पोखरा– पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणको कामलाई तीव्रता दिएको छ। महानगरले कनेक्टिङ सडक निर्माण गर्नका लागि २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम थालेको हो।

महनगरका प्रमुख मानबहादुर जिसीले महानगरभित्रको २१९ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको बताए। कालोपत्रे गर्न नभ्याए पनि स्तरोन्नतिको क्रममा रहेका ती सडक अहिलेका लागि ग्राभेल हुनेछन्। ‘कालोपत्रे गर्न अहिले बजेटले पुग्दैन। त्यही भएर बहुबर्से योजनाअन्तर्गत हामीले स्तरोन्नति गर्न थालेका हौं,’ मेयर जिसीले भने, ‘गाउँलाई सहरसँग जोड्नका लागि सडक नै बलियो आधार हो।’

अहिले कच्ची रहेका ती सबै सडकमा अब बाहै्रमास सवारी चल्न योग्य बनाइने मेयर जिसीले बताए। वर्षायाममा अहिले ती सडकमा खाडल परेर र हिलोका कारण सवारी चलाउन मुस्किल हुने गरेको छ। महानगर भए पनि ग्रामीण क्षेत्रका ती सडकमा वर्षायाममा सवारी चलाउन निकै नै हम्मेहम्मे हुने गरेको छ। ‘सडक बनाउँदा कामले गर्दा सहर आउजाउ गर्न नागरिकलाई सहज हुनेछ,’ उनले भने, ‘अहिले मुस्किलले सवारी चलेका ती सडकमा अब बाह्रैमास सहज सवारी चल्नेछन्।’

महानगरको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीका अनुसार सडक स्तरोन्नतिका लागि महानगरले चालू आर्थिक वर्षमा ४० करोड रुपैयाँ छुट्याएको छ। गण्डकी प्रदेश सरकारले पनि दुई करोड रुपैयाँ दिएको छ। बहुबर्से योजनाअन्तर्गत यी सडक स्तरोन्नति गर्न एक अर्ब १६ करोड ६६ लाख रुपैयाँ लाग्ने उनले बताए। २७ मध्ये १५ वटा सडक स्तरोन्नति गर्ने काम आगामी भदौ महिनासम्म सकिनेछ। बाँकी १२ वटा सडक आगामी आर्थिक वर्षको असारसम्म सक्नेगरी सम्झौता भएको उनले बताए।

‘भौगोलिक अवस्था हेरेर सबै सडक कम्तीमा ६ मिटर फराकिला हुनेछन्। तर, ती सडक कालोपत्रे गर्ने नभई ग्राभेल मात्र हुनेछ,’ रेग्मीले भने, ‘त्यसले गर्दा सहर र गाउँलाई जोड्नेछ। अहिले महानगरभित्र परे पनि सहर र गाउँको आउजाउ निकै नै कष्टपूर्ण छ।’ १२ वटा सडक स्तरोन्नतिका लागि ठेम्क्का सम्झौता पनि भइसकेको उनले बताए। सडकसँगै नाला पनि बन्ने भएकाले यी सडकमा बाह्र्रैमास सवारी चलाउन सकिने उनले बताए। १५ वटा सडक आगामी भदौ महिनाभित्रै तयार भइसक्ने उनले बताए।

रेग्मीका अनुसार यी सडक १८–२० किलोमिटर दूरीसम्मका छन् ।  दुई वर्षअघि महानगरको नेतृत्व सम्हालेका मेयर जिसीले यो अवधिमा महानगरको केन्द्रसम्म पहुँच पु¥याउन सडक विस्तारको योजना अघि बढाएका थिए। त्यहीअनुसार गाउँसम्म आउजाउ गर्ने सडकलाई प्राथमिकतामा पारेको मेयर जिसीले बताए। अहिले स्तरोन्नति गर्न थालिएका यी सडक आगामी दुई वर्षभित्र कालोपत्रे गर्ने महानगर मेयर जिसीले बताए। कालोपत्रे गर्ने आधारको रूपमा अहिले स्तरोन्नति गर्न थालेको उनले बताए।

महानगरका धेरै बस्ती ग्रामीण भेगका वडामा पर्छन्। ती वडासम्म केन्द्र पोखरादेखि आउजाउ गर्न निकै नै कठिन छ। वर्षायाममा हिलो र हिउँदमा धुलो हुने सडकमा पानी परेको बेला सवारी चलाउन हम्मेहम्मे छ। त्यसले गर्दा महानगरका बासिन्दा भए पनि सहरसम्म आउजाउ गर्न स्थानीयले सास्ती खेप्दै आएका छन्। महानगर मेयरले आगामी वर्ष सबैतिर काम भएको देख्न सकिने गरी महानगरले विकासका कामलाई तीव्रता दिएको बताए।

प्रकाशित: ६ जेष्ठ २०७६ ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App