८ वैशाख २०८१ शनिबार
कला

दरबार हत्याकाण्डमा ‘दरबारको दुःखान्त’

काठमाडौं– १८ वर्षअघि भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी एक सैन्य अधिकारीले उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्बन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ पाठकमाझ ल्याउने भएका छन्। २०५८ जेठ १९ गते राती नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति तत्कालिन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले लेखेको यो पुस्तक पाठकमाझ ल्याउन लागेका हुन्।

झण्डै १७ वर्ष तत्कालिन राजा, रानी र युवराजको एडिसीका रूपमा दरबारमा बिताएका रानाले दरबार र हत्याकाण्ड सम्बन्धी हालसम्म बाहिर नआएका महत्वपूर्ण र रोचक प्रसंगहरूलाई पुस्तकमा समेटेका छन्। पुस्तक किताब किताब पब्लिसर्सले प्रकाशन गरेको हो।

एडिसी रानाले राजदरबारमा अकल्पनीय हत्याकाण्ड भएयता १८ वर्ष आफ्नो जीवन उकुसमुकुस र छटपटीबाट गुज्रिएको बताए। ‘दरबारको दुःखान्त पुस्तक मेरो त्यही छटपटीको अवतरण हो’, उनले भनेका छन्। प्रमुख एडिसी रानाले १९ अध्यायमा बाँडिएको पुस्तकमा आफूले आँखैअगाडि देखेको जेठ १९ को घट्ना र त्यसपछिका दृश्यावलीलाई वर्णन गरेका छन्। ‘बिलियर्ड हलको प्रलयकारी दृश्य, मेसिनगनको फायर हुँदाहुँदै राजालाई त्यहाँबाट निकाल्दाको क्षण, घाइते राजाको प्राण बचाउन दौडाउँदाको अवस्था र अस्पतालको कोलाहल मेरो आँखाभरि झलझली घुमिरहन्छ’, उनले भनेका छन्।

पुस्तकले तत्कालिन राजपरिवारका सदस्यहरूको स्वभाव, शैली, राजा वीरेन्द्रको रानी ऐश्वर्य, छोरा दीपेन्द्र र भाइहरू ज्ञानेन्द्र–धीरेन्द्रसँगको सम्बन्धलगायत थुप्रै निजी प्रसंगहरू समेटेको छ।

राजा वीरेन्द्रले महत्वपूर्ण राजनीतिक निर्णयहरू लिँदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीलगायतका नेतासँगको व्यक्तिगत सम्बन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण आदिबारे पनि पुस्तकमा राखिएको छ।

प्रकाशित: ६ जेष्ठ २०७६ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App