coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काफल बेचेर पढाई खर्च

पाल्पा- पढाई खर्च जुटाउनका लागि पाल्पाको ग्रामीण भेगका बालबालिका बिहान र बेलुकाको समयमा काफल बेच्ने गरेका छन्। रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका बालवालिका काफल बेच्ने गरेका हुन्।

पश्चिम पाल्पाका स्थानीयहरुले मौसमी फल काफल बेचेर घर खर्च जुटाउने गरेका छन्। गाउँका जंगल तथा भीर पाखामा फल्ने मौसमी फल टिपेर नजिकको बजार वा सदरमुकामसम्म ल्याई बिक्री गरेर उनीहरुले दैनिक उपभोग्य सामग्री खरिद गर्ने गरेको काफल व्यापारीले बताए। वैशाख तथा जेठ महिनामा गाउँघरका जंगलमा पाइने काफल मौसमी फल टिपेर बिक्री गरी घर खर्च जुटाउने गरेका छन्। उनीहरुले संकलन गरेका फल नजिकको बजार सडक छेउमा बसेर बिक्री गर्ने गर्दछन्।

रैनादेवी छहरा गाउँपालिकाको हार्थोक–अधाँखाँची सडकखण्डमा काफल बेच्न बालबालिकाको हानथाप नै हुन्छ। स्थानीय सोमहर आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययन गर्ने केशव वास्ताकोटीले आफुले बिहान ९ बजेसम्म काफल बेचेर ५ सयदेखी एक हजार रुपैयाँसम्म कमाई गर्ने बताए। उनीसँगै रहेकी पार्वतीले पनि कपी कलम किन्न साथीहरुसँग मिलेर काफल बेचेर आमालाई पैसा दिँदै आएको बताईन्।

रिब्दीकोट गाउँपालिका–३ मालमुलमा तम्घास–रिडी–पाल्पा–बुटवल सडक खण्डकोसडक छेउमा बसेर उनीहरुले काफल बेच्ने गरेका हुन्। सडकमा ओहोरदोहोर गर्ने बस, जिप, मोटसाइकलका यात्रुहरुलाई उनीहरुले काफल किनिदिन आग्रह गर्ने गरेका छन्। एक मानालाई पचास रुपैयाँमा बेच्ने गरेका १३ वर्षिय सुजन विकले भने,‘आठ कक्षामा पढ्छु। बिदामा घर आएर काफल बेच्ने गरेका छौँ।’साथी टिका विक र विजय विकसँगै काफल बेच्ने गरेको उनले बताए।

पोखरामा पढ्दै गरेको बताउँदै विकले वार्षिक परीक्षापछि घरविदामा आएको बताएका छन्। आठदश दिन घरमा बसेर पोखरा जाने उनको भनाई छ। उनीहरुले दैनिक काफल बेचेरै कम्तीमा चार/पाँचसय रुपैयाँ कमाउने गरेको सुनाए। बोटमा चढेर टिप्न मात्र समस्या हुने गरेको तर बेच्न सजिलो हुने उनीहरुको भनाई छ।

 

प्रकाशित: ६ जेष्ठ २०७६ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App