coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अझै लुकाइन्छ पाठेघर खस्ने समस्या

खोटाङ - ‘कतै लडे भने पाठेघर ठोक्किएर असह्य पीडा हुन्छ। घाँसदाउरा गर्ने क्रममा झाडी वा बुट्यानले छोए भने उस्तैगरी दुख्छ।’ यो पीडा खोटाङको रावाबेंसी गाउँपालिका–५ दुबेकोलकी फूलमाया नेपाली (परिवर्तित नाम) को हो। पाठेघर खस्ने समस्याले तेस्रो चरण पार गरेपछि उनी कहालीलाग्दो पीडा खेप्न बाध्य छिन्। पाठेघर खसेको १५÷१६ वर्ष बिते पनि उनले सामाजिक अन्धविश्वासका कारण हालसम्म उपचार गराएकी छैनन्।

यस्तै रावाबेंसी गाउँपालिकाकै २३ वर्षीय कल्पना (परिवर्तित नाम) पहिलो बच्चा जन्माएलगत्तै पाठेघर खस्ने समस्याबाट पीडित बनेकी छन्। उमेर छँदै पाठेघरले दोस्रो चरण पार गरेपछि उनलाई शारीरिक पीडा त छँदै छ, अन्य सन्तान नहुेमा उत्तिकै चिन्ता छ। तर समाजले थाहा पाए लाज हुने, घृणा गर्ने र पाठेघर खसेका महिलालाई ‘उपनाम’ लगाएर बोलाइने भएकाले उनीहरू हालसम्म आफ्नो समस्या लुकाउन बाध्य छन्। वातावरणीय कृषि तथा विकास केन्द्र (केड) को सहयोगमा हलेसी विकास मञ्च खोटाङले सञ्चालन गरिरहेको महिला प्रजनन् अधिकार कार्यक्रमका अनुसार दुबेकोलका एक सय ३ घर र वडा ४ डुम्रेधारापानीका एक सय ६३ घरमा गरिएको सर्वेक्षणका क्रममा २० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको छ।

महिलामाथि हुने सामाजिक भेदभाव र परम्परागत अन्धविश्वासका कारण पाठेघर खसेका धेरैजसो महिला उपचार गर्नुको सट्टा रोग लुकाएर पाल्न बाध्य बनेको पाइएको कार्यक्रम संयोजक वीरेन्द्र मगरले बताए। अर्कातर्फ पाठेघर खसेका महिला सामाजिक र पारिवारिक हिंसा बेहोर्न बाध्य रहेको पाइएको छ। ‘ग्रामीण क्षेत्रका कतिपय महिलाले अझै पनि पाठेघर खसेका समस्यालाई लुकाइरहेको पाइएको छ,’ मगरले भने, ‘पाठेघर खसेका महिलाको तत्कालै मृत्यु नभए पनि संक्रमण भएर घाउ हुँदा उनीहरूको जीवन कष्टमय र पीडादायी बनिरहेको छ।’

मञ्चका अनुसार दुबेकोलका २८ जना महिलामा पाठेघर खस्ने समस्या पाइएको छ। उनीहरूमध्ये दलित तीन, जनजाति ११ र खस–आर्य १४ महिलामा पाठेघर खस्ने समस्या पहिचान गरिएको मगरले बताए। यस्तै डुम्रेधारापानीमा पहिचान भएका २१ महिलामध्ये दलितमा ६ जना, जनजातिमा नौजना र अन्य खस–आर्य समुदायमा ६ जनामा पाठेघर खस्ने समस्या पाइएको छ। महिला प्रजनन अधिकार कार्यक्रमका लागि चुनिएका नमुना जोडी तथा कर्मचारीले स्थानीय महिलासँग गरेको छलफल तथा कुराकानीका आधारमा बताइएको लक्षणका आधारमा पाठेघर खसेको पत्ता लगाइएको हो। स्थानीय स्वास्थ्य संस्थाको तथ्यांकले पनि पाठेघर खसेका महिलाको संख्या भयवह रहेको देखाएको छ। सुरुमा पाठेघरको समस्या लुकाए पनि बातचितका क्रममा महिलाले आफ्नो समस्या दर्साउने गरेको संयोजक मगरले बताए। ‘सुरुमा त कुरै सुन्न मान्दैनन,’ उनले भने, ‘तर यस्तो लक्षण हुन्छ, बेलैमा उपचार गरे निको हुन्छ भनेपछि बिस्तारै सहज मान्न थाल्छन् र समस्या बताउँछन्।’ स्वास्थ्यकर्मीका अनुसार तेस्रो चरण पार गरेको पाठेघरको शल्यक्रिया गर्नुको विकल्प हुँदैन। वृद्धावस्थामा पुगेका कतिपय महिलाको स्वास्थ्यका कारण शल्यक्रिया गर्न नमिल्दा जीवनभर पीडा खेप्न बाध्य हुन्छन्।

पाठेघर खस्ने समस्याबाट जुनसुकै उमेर समूहका, जुनसुकै समुदायका, जुनसुकै वर्गमा महिला पीडित छन्। बढीजसो वृद्धामा पाठेघर खस्ने समस्या अधिक पाइए पनि युवतीसमेत यस समस्याबाट अछुतो छैनन्। पाठेघर खसेको थाहा हुनेबित्तिकै उपचार नगर्दा यसले विकराल समस्या लिने गरेको पाइएको जनाइएको छ।

रिङ प्रेसरी निकालेर फाल्छन् महिला
पाठेघर खसेका महिलाको स्वास्थ्य समस्या समाधानका लागि विभिन्न संस्था तथा स्थानीय तहले स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छन्। केही समयअघि रावाबेंसी गाउँपालिकाले पनि कुभिन्डे र डुम्रेधारापानीमा स्वास्थ्य शिविरको आयोजना गरेको थियो। सो शिविरमा रिङ प्रेसरी राखिएका कतिपय महिलाले पीडा भएपछि रिङ निकालेर फालेको पाइएको छ। पाठेघरले दोस्रो चरण पार गरेका महिलाको शरीरमा राखिएको रिङको साइज नमिल्दा पीडा हुने र आफैं निकालेर फाल्ने गरेको पाइएको कार्यक्रम संयोजक मगरले बताए। ‘बेला–बेलामा फेर्नुपर्ने रिङको साइज नमिल्दा महिलालाई पीडा हुँदो रहेछ,’ उनले भने, ‘अति नै पीडा भएपछि महिलाले रिङ निकालेर फाल्ने गरेको पाइएको छ।’ शिविरमा पुरुष स्वास्थ्यकर्मी देखेपछि पाठेघर खसेका कतिपय महिला समस्या नदेखाई घर फर्कने गरेको जनाइएको छ।

प्रकाशित: ६ जेष्ठ २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App