४ वैशाख २०८१ मंगलबार
समाज

सामान्य झरीले बगायाे कालोपत्रे

नारायण नगरपालिकाले गतवर्ष कालोपत्रे गरेको अहिले वर्षातले पखालिएको सडक। तस्विरःनागरिक

दैलेख— दैलेख बजारको मुख्य भाग देवकोटा चाेकमा गत वर्ष गरिएको कालोपत्रे सडक यो वर्ष हराएको छ। दुई घण्टा परेको सामान्य झरीले दैलेख बजारको मुख्य चाेकको पिच पखालियो। जसले गर्दा कालेपत्रे सडक अहिले धुलाम्मे सडकमा परिणत भएको छ। गणेश चाेकदेखी देवकोटा चाेकसम्म गरिएको कालोपत्रे गुणस्तरहीन हुँदा वर्षदिनसम्म पनि टिक्न सकेन।

कालोपत्रे वर्षदिन पनि नहुँदै सामान्य पानीले बगाएपछि स्थानीयहरु अचम्ममा परेका छन्। मुक्तिनाथ निर्माण सेवाले भ्याट सहित २५ लाखमा कालेपत्रेको ठेक्का लिएको थियो। मुक्तिनाथबाट स्थानीय पेटी ठेकेदारले कालोपत्रे गरेका थिए। गुणस्तरहीन कालोपत्रे भएको भन्दै स्थानीयले विरोध समेत गरे। वर्षदिन ननाघ्दै कालोपत्रे उम्किदै धुलाम्मे भएपछि स्थानीयहरुले विरोध गरेका छन्। दिगो विकासका लागि नगरपालिकाले चासो नदेखाएकाले विकास वर्षदिन टिक्नै नपाएको शुसासनकर्मी निर्मल अधिकारीले बताए।

 नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेत कालोपत्रेको विषयमा खुल्न चाहेनन्।  ‘काम राम्रो भएपनि, पानी व्यवस्थापन हुन नसक्दा उप्किएको हो।’  बस्नेतले भने।

प्राविधिकलाई लिएर त्यसको कारण के हो भनेर बुझ्ने नारायण नगरपालिकका नगरप्रमुख रत्नबहादुर खड्काले बताए।

वर्षाले नै कालोपत्रे बगाएको देखेर दुःख लागेको नारायण नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए। उनले भने ‘दिगो विकास नहुँदा यस्तो समस्या झेल्नुपरेको हो।’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘गत वर्ष पिच हुन्छ यो वर्ष भत्कनु दुखद छ। अब, यसलाई चिरेर जानुपर्छ।’

नारायण नगरपालिका दैलेखले अघिल्लो आवमा ठेक्का प्रकृयाद्वारा पुरानो बजारमा गरिएको पिच पनि भत्केको छ। अन्य विभिन्न स्थानका कालोपत्रेमा पनि खाल्डो परेको छ।

कालोपत्रे भइनसक्दै उप्किन थालेपछि स्थानीयहरुले गुणस्तरको काम नभएको भन्दै नगरपालिका विरोध गरेका थिए। यद्यपि यस विषयमा सुनुवाई नभएको स्थानीयहरु बताउँछन्।

अर्कोतर्फ साहारे खानेपानी निर्माणका क्रममा पिच उम्किएको हुनसक्ने ठेकेदार कम्पनीको भनाइ छ।

प्रकाशित: ५ जेष्ठ २०७६ १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App