coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सिडिओले सिकाए लोकसेवामा परीक्षा दिने तरिका

दुलेगौँडा(तनहुँ)– निजामति सेवामा आदिवासी जनजातिको पहुँच र सहभागिता बढाउन जिल्लाको खैरेनीटारमा नेपाल आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीको आयोजनामा १५ लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरिएको छ। 

मुलुकमा बढ्दो शैक्षिक बेरोजगारीको न्युनिकरण गर्न आदिवासी जनजाति समुदायका युवा युवतीलाई लोक सेवातर्फ मोह बढाएर मुलुकको प्रशासनिक क्षेत्रमा सहभागिता बृद्धि गराउन आयोजित तयारी कक्षाको अन्तिम दिन आइतबार तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सहभागी प्रशिक्षार्थीलाई आफ्ना अनुभवहरु सुनाए। एक घण्टाको समयसम्म उनले लोकसेवा आयोगले लिने परीक्षामा सहभागिता जनाउन कसरी तयारी गर्ने, परीक्षाको बेला के–कस्ता कुरामा ख्याल राख्ने बारेमा सिकाएका थिए।  

विगत ३७ बर्षदेखि शर्मा निजामती सेवामा आबद्ध रहेर राष्ट्रको सेवा गरिरहेका छन्। उनले १३ महिनायता तनहुँमा रहेर प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन्। लोकसेवा आयोगले लिने परीक्षा उत्तीर्ण गरी निजामती सेवामा प्रवेश गर्ने अठोटका साथ कक्षामा सहभागी आदिवासी जनजाति समुदायका युवा युवतीसँगै आफ्नो लामो निजामती सेवाको यात्रामा संगालेका अनुभव साट्दै उनले भने, ‘लोक सेवामा सबैको पहुँच छ। निष्पक्ष तरिकाले परीक्षा लिइन्छ। कसैको भनसुनले पास हुन्छु भन्ने सोचाईलाई दिमागबाट हटाईदिनुस्। तपाईको आफ्नै योग्यता, क्षमता र दक्षतामा निर्भर पर्छ।’ शर्माले आयोगको लिखित परीक्षा पास गरेपछि सेवा प्रवेश गर्ने बलियो आधार तय हुने धारणा राखे। ‘अन्तरवार्ताले त्यति धेरै प्रभाव त पार्दैन्। तर तयारी भने गर्नुुपर्ने हुन्छ’, उनले अगाडि जोडे, ‘जतिसक्यो लिखित परीक्षामै राम्रो गर्नुस्।’

यसबर्ष तिनै तहको सरकारलाई आवश्यक कर्मचारीको पदपूर्ती गर्न लोकसेवा आयोगले धेरैको संख्यामा आवेदन खुल्ने भएकाले अवसरको सम्भावना उच्च भएको उनले बताए। ‘कडा मेहेनत गर्नुभयो भने यसपालि नै अवसर पाउने सम्भावना बढी नै हुनसक्छ’, प्रमुख जिल्ला अधिकारी शर्मा बताउँछन्। 

विगतको तुलनामा पछिल्लो समय प्रविधिले परीक्षाको तयारी गर्न सहज भएको उनले बताए। ‘त्यो बेलामा सामान्यज्ञानका किताब पनि बजारमा त्यति धेरै पाइँदैन्थ्यो। अहिले त किताबहरु जस्तो खोज्नुस पाइन्छ। सामाजिक सञ्जालबाट पनि परीक्षाको तयारी गर्न मिल्छ। फेसबुकमा लोकसेवाको पेज लाईक गर्नुभयो भने तयारी गर्न सजिलो हुन्छ। गुगल र युटयुबजस्ता सामाजिक सञ्जालमा खोजेका कुरा क्षणभरमै पाउन सकिन्छ’, उनले स्मरण गराए। 

प्रमुख जिल्ला अधिकारी शर्माले परिक्षाको तयारी गर्दैगर्दा विज्ञापनको बारेमा राम्रोसंग बुझ्नुपर्ने, पाठ्यक्रम, पाठ्पुस्तक र उपयुक्त सन्दर्भ सामग्रीहरु छनोट गर्ने, योजनाबद्ध ढंगले समय तालिका बनाएर पढ्ने, समय व्यवस्थापन गर्ने तौरतरिका सिकाए। पत्रपत्रिका, रेडियो र टेलिभिजनमा आउने समाचारहरु सुन्न र हेर्न सुझाव दिएका छन्। सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण हुने समाग्री लोकसेवाको परीक्षामा उपयोगी हुनेमा पनि उनले जोड दिएका छन्।  

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले अथक मेहनत गरेर लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न सहभागीलाई शुभकामना दिए। गुरुङले १५ दिनको तयारी कक्षाले निजामती सेवाको यात्रामा खाका कोरेको बताए। 

नेपाल आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीका अध्यक्ष खिमबहादुर कुमालले मुलुकको राजनीतिक एवं प्रशासनिक क्षेत्रमा आदिबासी जनजाति समुदायको सहभागिता नगन्य भएको बताए। उनले लोक सेवाको तयारी कक्षा चलाएर प्रशासनिक क्षेत्रमा सहभागिता बढाउन खोजेको जानकारी दिए।

प्रकाशित: ५ जेष्ठ २०७६ ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App