८ वैशाख २०८१ शनिबार
समाज

आपराधिक घटनामा वृद्धि

काठमाडौं - नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारका घटनाको दर उल्लेख्य सख्यामा बढ्दै गएको देखाएको छ। राजधानी काठमाण्डौमा आइतबार आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्र्तरक्रियामा महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले यस्तो बताएका हुन्।

उनले गाँजा चरेस सेवन लगायत सामाजिक विकृति, समाजिक सञ्जालको बढ्दो दुरुपयोग लगायत कारणले हिंसाजन्य घटनामा वृद्धि गरेको बताए। उनले हत्या, हिंसा र बलात्कारका घटना गत सालको भन्दा दोब्बर बृद्धि भएको बताए। उनले निर्मला पन्त प्रकरण पछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्ने लगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भएपनि त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको बताए।

उनले पछिल्लो समय पेशेवर अपराधीबाट हुने अपराध भन्दा सामाजिक विकृतिको कारणले श्रृजित अपराध बढेको बताए। उनले ५ सय वटा हत्याका घटनामा गरेको विश्लेषणमा  १ सय ५३ वटा घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाईएको जानकारी दिए। सामाजिक सञ्जालको दुरुपयोगले पनि हत्या हिंसाका घटना बढाएको अध्ययनले देखाएको छ। उनले ४० प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण भएको बताए।

उनले बलात्कारजन्य घटनाको प्रवृत्तिमा पनि फरक आएको बताए। उनले पछिल्लो समय बलात्कारका घटनामा ६४ प्रतिशत पीडीत १८ बर्ष भन्दा मुनिका बालिका भएको र उनीहरु घरपरिवार, नातागोता, छिमेकी , सहकर्मी , शिक्षक लगायतबाट नै बलात्कृत हुने गरेको जानकारी दिए। उनकाअनुसार यसअघि १६ बर्ष भन्दा माथिका उमेर समुहका बालिकामाथि बलात्कार दर बढ्दो थियो।

प्रकाशित: ५ जेष्ठ २०७६ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App