७ वैशाख २०८१ शुक्रबार
समाज

म्याग्दीमा व्यावसायिक एभोकाडो खेती

मंगला गाउँपालिका–२ बाबियाचौरमा व्यावसायिक एभोकाडो खेतीसम्बन्धी तालिममा प्रयोगात्मक अभ्यास गरिँदै। तस्बिरः हरिकृष्ण गौतम/नागरिक

म्याग्दी– जिल्लाको मंगला गाउँपालिकामा पहिलोपटक एभोकाडोको ‘व्यावसायिक खेती तथा नर्सरी व्यवस्थापन’ विषयक तालिम सुरू भएको छ। थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडो खेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक तथा मञ्जुश्री नर्सरी हाउसको व्यवस्थापनमा बाबियाचौरमा तीनदिने तालिम सञ्चालन गरिएको हो।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले तरकारी तथा फलफूल खेतीबाट छोटो समयमै मनग्ये आम्दानी गर्न सकिने भएकाले तालिमअनुसार व्यावसायिक खेतीमा सक्रिय हुनेलाई अनुदानसमेत दिइने बताए। ‘यहाँको हावापानीमा एभोकाडो खेती सम्भव छ,’ रोकाले भने, ‘फलफूल खेतीमा गाउँपालिकालाई पकेट क्षेत्र बनाउने लक्ष्य छ।’ गाउँपालिकाभित्रका सबै बस्तीको माटो परीक्षण गरी अनुकूलअनुसारका फलफूल खेतीका लागि कृषकलाई अनुरोध गरिने बताए।

एभोकाडो खेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक तथा मञ्जुश्री नर्सरी हाउसको व्यवस्थापनमा बाबियाचौरमा तीनदिने तालिम सञ्चालन गरिएको छ।


उनले गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले समेत प्राथमिकता दिएकाले आगामी वर्षसमेत तालिमसहित अनुदानमा बिरुवा वितरण गरिने बताए। एभोकाडो विज्ञ जीवनप्रसाद राईले पछिल्लो समयमा एभोकाडो फलप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको बताए। उनले केही जिल्लामा व्यावसायिक खेती सुरु भएको बताए।

‘उष्ण र समशितोष्ण हावापानीमा गर्न सकिन्छ,’ प्रशिक्षक राईले भने, ‘बिक्री गर्न बजारमा जानै पर्दैन, घरदैलोमै खोसाखोस हुन्छ।’ समुद्री सतहबाट दुई हजार पाँच सय मिटरसम्म यसको खेती गर्न सकिन्छ। नगदे फलका रूपमा पनि मानिने विज्ञ राईको भनाइ छ। बिरुवा रोपेको चारदेखि ६ वर्षभित्रै उत्पादन दिने भएकाले पनि पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन मञ्जुश्री नर्सरी हाउसले गाउँपालिकासँग सहकार्य गरेको सञ्चालक पुष्कर विकले बताए।

नेपालीमा एभोकाडोलाई ‘घिउ’ फल भनेर चिनिने गरेको उनले बताए। एभोकाडोले फल दिन थालेपछि ५० वर्षसम्म एउटै बिरुवाले फल दिइरहने भएकाले पनि गाउँपालिकाले एक हजार बिरुवा वितरण गर्ने भएकाले तालिम आवश्यक भएको विकको भनाई छ। तालिममा सातवटै वडाका ३५ जना किसान सहभागी छन्। प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकाडोको माग र उपभोक्ता दिनदिनै बढ्दै गएका छन्। बुधबार सम्पन्न हुने तालिममा गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, वडा अध्यक्ष धनबहादुर खातीलगायत वडाका जनप्रतिनिधि सहभागी थिए।

तालिमको अवसरमा मंगला माविका कृषि विषयमा अध्ययरत विद्यार्थीले समेत प्रयोगात्मक अभ्यासमा सहभागिता जनाएका थिए। मंगला गाउँपालिकाभित्रका सातवटै वडामा सुन्तला खेती हुने भएकाले पनि एभोकाडो खेतीको सम्भावना अत्यधिक रहेको बताइएको थियो। जिल्लामा कृषि तथा फलफूल खेतीमा अन्य स्थानीय तहको तुलनामा मंगलाले प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App