७ वैशाख २०८१ शुक्रबार
समाज

हाजार्ड चेल्सी छोड्ने मुडमा

लन्डन– चेल्सीका मिडफिल्डर इडेन हाजार्डले आफ्नो भविष्यका बारेमा निर्णय लिइसकेको खुलासा गरेका छन्।

गत आइतबार इङ्लिस प्रिमियर लिगको अन्तिम खेलमा लेस्टर सिटीविरुद्ध गोलरहित बराबरीमा रोकिएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका हाजार्डले यस्तो खुलासा गरेका हुन्। यद्यपि उनले अहिले नै आफ्नो निर्णय भने सार्वजनिक नगर्ने बताएका छन्। सिजनको अन्त्यसँगै हाजार्ड स्टाम्फोर्ड ब्रिजबाट स्पेनिस महारथी रियाल मड्रिड जाने खबर सार्वजनिक भइरहेका छन्।

सन् २०१२ मा फ्रान्सेली क्लब लिलेबाट चेल्सी भित्रिएका हाजार्डको क्लबसँगको सम्झौता सकिन अझै एक वर्षको समय बाँकी छ। चेल्सीले गत सिजन नै हाजार्डसँग नयाँ सम्झौताको प्रयास गरे पनि उनले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।

‘हो, केही साताअघि मैले मेरो भविष्यका बारेमा निर्णय लिइसकें। तर यसमा मेरो एकल निर्णयले मात्र महत्त्व राख्दैन,’ हाजार्डले भने, ‘अहिले म मेरो निर्णय सार्वजनिक गर्न चाहान्नँ।’

मे २९ मा हुने आर्सनलविरुद्धको युरोपा लिग फाइनलपछि मात्र निर्णय सार्वजनिक गर्ने हो भन्ने प्रश्नमा हाजार्डले भने, ‘हुन सक्छ। हामी अहिले युरोपा लिगको फाइनलमा केन्द्रित छाैं र त्यसपछि मात्र केही भन्न सकिन्छ।’

२८ वर्षे हाजार्डले सिजनको सुरुआतमै आफ्नो भविष्यका बारेमा अन्तिम निर्णय होस् भन्ने चाहना भए पनि क्लबले बेवास्ता गर्दा सिजन अवधिभर नै आफ्नो सरुवाको खबर सार्वजनिक भइरहेको बताएका छन्।

‘म २०१८–२०१९ सिजनको सुरुआतमै मेरो भविष्यका बारेमा निर्णय होस् भन्ने चाहन्थें, तर त्यो सम्भव भएन,’ हाजार्डले भने, ‘म अझै कुरिरहेको छु, साथै मेरा समर्थक पनि। जब तपार्इं मैदानमा हुनुहुन्छ तपाईं खेलमा मात्र केन्द्रित हुनुहुन्छ। मैले पनि त्यही गरिरहेको छु। म मैदान उत्रँदा उत्कृष्टभन्दा उत्कृष्ट प्रदर्शन गर्न केन्द्रित हुन्छु।’

चेल्सीले तेस्रो स्थानमा रहँदै सिजनको अन्त्य ग-यो।

केही समयअघि चेल्सीका प्रशिक्षक माउरिसियो सारीले आफू अझै हाजार्डको भविष्यका बारेमा अझै अन्योलमा रहेको बताएका थिए।

हाजार्डले पटकपटक रियालका प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा खेल्ने सपना रहेको प्रतिक्रिया दिँदै आएका छन्।

‘म अन्य चेल्सी समर्थकजस्तै हाजार्ड क्लबमा बसेको हेर्न चाहन्छु,’ सारीले भने, ‘तर अहिले म उनको निणर्यबारे अनविज्ञ छु।’

 

 

प्रकाशित: ५ जेष्ठ २०७६ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App