coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फुटबल प्रशिक्षक संघको कार्यसमिति पूर्ण

पोखरा– निर्वाचनको झन्डै १५ महिनापछि मात्रै अखिल नेपाल फुटबल प्रशिक्षक संघको कार्यसमितिले पूर्णता पाएको छ। महासचिव र कोषाध्यक्षकै मनोनयन नहुँदा कार्यसमितिमा केवल अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूले मात्रै काम गर्दै आएका थिए। संघको पोखरामा आयोजित बैठकले रिक्त रहेको महासचिव र कोषाध्यक्ष मनोनीत गरेको छ। महासचिवमा राजेश खड्गी र कोषाध्यक्षमा उर्जन श्रेष्ठलाई मनोनीत गरिएको संघका अध्यक्ष लामाले जानकारी दिए।

संघका अध्यक्ष विनोद लामाको अध्यक्षतामा बसेको बैठकले संघमा रिक्त रहेको महासचिव तथा कोषाध्यक्ष मनेनीत गर्दै कार्यसमितिलाई पूर्णता दियो। अध्यक्ष लामाले संघको २०७४ माघ २३ गते निर्वाचित कार्यसमितिले १५ महिनापछि महासचिव र कोषाध्यक्ष मनोनीत गर्दै कार्यसमितिलाई पूर्णता प्रदान गरिएको बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान अन्तर्गत गठित संघ १६ वर्षअघि स्थापित भएको हो। १६ वर्षअघि संघ स्थापना गरिए पनि निष्क्रिय रूपमा रहेको थियो। निष्क्रिय संघलाई निर्वाचनमार्फत ब्युँझाइएको हो। राजुकाजी शाक्य संघका तत्कालीन अध्यक्ष थिए। उनको समयमा संघले प्रभावकारी काम भने गर्न सकेको थिएन। लामो समयपछि फेरि संघलाई जीवन्तता प्रदान गर्ने उद्देश्यसहित निर्वाचनबाट नयाँ कार्यसमितिमा महासचिव र कोषाध्यक्ष चयन गर्दै आगामी दिनमा अझ नयाँ ढंगले काम गर्ने प्रतिबद्धतासमेत संघले व्यक्त गरेको छ।

संघले फुटबलको विकासका लागि प्रशिक्षक संघले अहम् भूमिका खेल्ने बताउँदै फुटबलको विकास र विस्तार गर्न एन्फासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रस्ट पारेको छ। महासचिवमा नियुक्त हुने राजेश खड्गी २०५३ सालदेखि फुटबलमा आबद्ध छन्। उनले आरसिटीबाट व्यावसायिक फुटबल करियर सुरु गरेका थिए। त्यसपछि २०५५ सालमा मनाङ मस्र्याङ्दीमा ६ वर्ष बिताए। ६ वर्ष बिताउने क्रममा दुई सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको संघले जनाएको छ। त्यसपछि थ्री स्टार क्लबका आबद्ध हँुदै ६ वर्ष रहे। नेपाली फुटबलमा राष्ट्रिय टोलीको उपकप्तानसमेत सम्हालेका उनी फुटबल खेलाडीबाट विश्राम लिँदै प्रशिक्षणतर्फ अग्रसर  छन्।

२०६४ सालमा उत्कृष्ट खेलाडीसमेत घोषित हुँदै पुरस्कार पाउँदा उनी फुटबलको उद्धरार्धमा पुगिसकेका थिए। दुई वर्षअघि मात्रै उनले एएफसी सी लाइसेन्स लिएका थिए। उनले एनआइएस प्रशिक्षण कोर्ससमेत गरिसकेका छन्। कोषाध्यक्षमा नियुक्त भएका उर्जन श्रेष्ठ एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। उनले पनि लामो समय नेपाली फुटबलमा बिताइसकेका छन्। दुई पटक थ्री स्टारलाई लिग विजेता बनाउँदा उनी महत्त्वपूर्ण खेलाडी थिए।

प्रकाशित: ५ जेष्ठ २०७६ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App