६ वैशाख २०८१ बिहीबार
समाज

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

टीकापुर - टीकापुर नगरपालिका–६ बेलुवामा गएराति एक भारतीय नम्बरको मोटरसाइकलमा विपरित दिशाबाट आइरहेको जीप ठोक्किदा एकजनाको मृत्यु भएको छ। प्रहरीकाअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक टीकापुर नगरपालिका–८ बटनपुरका २९ वर्षीय कमल साउँद रहेका छन।

उनले चलाएको यूपी ३१ एस ५१७० नम्बरको भारतीय मोटरसाइकल खक्रौलाबाट टीकापुरतर्फ आइरहेको बा १६ च ४७१० नम्बरको जीपमा ठोक्किएको टीकापुर ट्राफिक पोष्टका इञ्चार्ज सई भुवन क्षेत्रीले जानकारी दिए। उनका अनुसार करिव साढे ७ बजेतिर सो मोटरसाइकल एक साइकल यात्रीसँग ठोक्किएपछि अनियन्त्रित भई जीपमा ठोक्किन पुगेको थियो। दुर्घटनामा घाइते भएका साउँदको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

जीपका चालक नन्दराम जैशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ। मृतक साउँदको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ। यसैगरी हिजो नै जानकी गाउँपालिका–४ मुनुवास्थित झबही पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान जानुका साथै अर्का एकजना घाईते भएका छन। घाईते मोटरसाइकल चालक कृष्ण बम (२३) को नेपालगञ्जमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल पछाडी बसेका रामनारायण कठरीया (३२) को घटनास्थलमै ज्यान गएको थियो। प्रहरीकाअनुसार तिब्र गतिमा रहेको सो मोटरसाइकल सडक किनारमा रहेको पिल्लरमा ठोक्किएको थियो। त्यस्तै भजनी नगरपालिका–३ कुसुमघाटमा तीन पाङ्ग्रे ट्याम्पु पल्टिदा बर्दियाको गुलरीया नगरपालिका–४ तुल्सीपुरका गेदुवा थारु (५१) को ज्यान गएको छ। उनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा हिजो बाटोमा ज्यान गएको इप्रका भजनीका सई चंखबहादुर कठायतले जानकारी दिए।

छोरीको घरमा भेटघाटका लागि आएका थारु चढेको से १ ह २७३७ नम्बरको तीन पाङ्ग्रे ट्याम्पु सडकको कल्भर्टमा ठोक्किएर पल्टिएको थियो। ट्याम्पु चालक भजनी नगरपालिका–२ रजवाराका सन्दीप चौधरी (२३) लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App