coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिआइएका पूर्वअधिकारीलाई जेल सजाय

बेइजिङ – चिनियाँ एजेन्टलाई महŒवपूर्ण सैन्य गोपनीयता दिएको अभियोगमा सिआइएका एक पूर्वअधिकारीलाई २० वर्षको जेल सजाय तोकिएको अमेरिकी न्याय विभागले बताएको छ। ६२ वर्षीय केभिन मालोरीविरुद्धको अभियोगमा गत जुनमा दुई सातासम्म सुनुवाई भएको थियो। सुनुवाईबाट उनले चीनसमक्ष कैयौं गोप्य विवरण उपलब्ध गराएको पुष्टि भएकाले उनलाई जेल सजाय भएको बताइएको छ।

चिनियाँ म्यानडारियन भाषामा पोख्त रहेका मालोरी भर्जिनिया राज्यस्थित लिसबर्गका बासिन्दा हुन्। उनी सिआइएमा रहँदा उच्च तहको सुरक्षा संयन्त्रमा रहेको र उनीसमक्ष अति नै संवेदनशील कागजातको पहुँच हुने गरेको बताइएको छ। उनीविरुद्ध चीनलाई २५ हजार डलरमा गोप्य विवरण बेचेको आरोपमा मुद्दा चलाइएको थियो। अदालतमा भएको सुनुवाई प्रक्रियामा उनीविरुद्धको अभियोग पुष्टि गर्नका लागि सिसिटिभी फुटेज पेश गरिएको थियो। सो फुटेजमा उनले पोस्ट अफिसमा महŒवपूर्ण वर्गीकृत कागजातलाई स्क्यानिङ गरेर डिजिटल मेमोरी कार्डमा राखिरहेको देखिएको छ। चिनियाँ एजेन्टसँग भेट्नका लागि उनी सन् २०१७ को मार्च र अप्रिलको बीचमा चीनको सांघाई गएको पनि अमेरिकाको न्याय विभागलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

‘मालोरीले हाम्रो देशलाई ठूलो संकटमा पारेनन् मात्रै उनले त राष्ट्रिय सुरक्षाका मामिलामा हाम्रा नागरिकका जीवनलाई खतरामा पनि पारे,’ अमेरिकी न्यायाधिवक्ता जाचरी टर्विलिगरले जारी गरेको एउटा विज्ञप्तिमा भनिएको छ। ‘यो मुद्दामार्फत देशका नागरिकको विश्वास तोड्ने र राष्ट्रिय सुरक्षामाथि खेलवाड गर्ने सबैलाई सन्देश पुग्न आवश्य रहेको छ,’ न्यायाधिवक्ता जाचरीको विज्ञप्ति उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। ‘हामी यस्ता विषयमा अति नै कडा बन्ने छौं र राष्ट्रिय सुरक्षाका विषयमा कसैसँग पनि सम्झौता गर्ने छैनौं,’ विज्ञप्तिमा भनिएको छ।

अमेरिकी न्याय विभागका अनुसार मालोरीले सरकारी निकायसँग सम्बन्धित कैयौं संवेदनशील क्षेत्रमा काम गरेका थिए। उनले सिआइएका लागि गोप्य अधिकारीका रूपमा काम गरेका थिए भने सुरक्षा अनुसन्धान निकायका लागि गुप्तचर अधिकारीका रूपमा पनि काम गरेका थिए। ‘यो मुद्दाले चीनले कसरी पूर्व अमेरिकी गुप्तचर अधिकारीलाई निशानामा राख्ने र उनीहरुलाई देश र सहकर्मीविरुद्ध धोका दिने गरेको छ भनेर भन्नका लागि आधार मिलेको छ,’ अमेरिकी सहायक महान्यायाधिवक्ता जोन डिमर्सलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। यही महिनाको सुरुवाततिर सिआइएकै पूर्वअधिकारी जेरी चुन सिङ लीलाई पनि चीनका लागि जासुसी गरेको अभियोगमा दोषी ठहराइएको थियो। त्यसैगरी गत जुन महिनाको अन्त्यतिर पूर्व अमेरिकी गुप्तचर अधिकारी रोन रकवेल हान्सेनलाई पनि चीनका लागि जासुसी गर्न प्रयास गरेको अभियोग लागेको थियो।

प्रकाशित: ५ जेष्ठ २०७६ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App