७ वैशाख २०८१ शुक्रबार
समाज

‘मर्न लागेपछि भैँसीले भीर खोज्छ’

काठमाडौँ - सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकका विरुद्ध पाँच पत्रकार संगठनहरु एक ठाउँमा उभिएका छन्। जनपत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल प्रेस सोसाइटी र मधेसी पत्रकार समाजले विधेयकको विरोध गरेका हुन्।

शनिबार काठमाडौंमा अन्तक्र्रिया कार्यक्रम गर्दै विधेयकको विरोध गरेका हुन्। कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले मिडियालाई नियन्त्रन्त्रण गर्न यो विधेयक ल्याएको आरोप लगाए। उनले भने, 'मिडियालाई नियन्त्रण गर्न सरकारले यो विधेयक ल्याएको छ। यसको चौतर्फी विरोध भएको छ। यदी विधेयक फिर्ता लिएन भने सरकार फासीवादतर्फ अगाडि बढ्न खोजेको पुष्टि हुनेछ।'

पत्रकारहरुको आन्दोलनप्रति दृढ समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै महासचिव किरणले आन्दोलनलाई अझ सशक्त बनाउन आग्रह समेत गरे। त्यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले मिडियासँग डराएर विधेयक ल्याएको आरोप लगाए।

उनले गाउँघरमा चलनमा रहेको उखान ‘मर्न लागेपछि भैँसीले भीर खोज्छ’ भनेजस्तै यो सरकारले आफैँलाई घात हुने गरी प्रेसविरोधी कानुन ल्याउन लागेको समेत आरोप लगाए। उनले यो अभियानमा जनमोर्चा नेपालले सधैँ पत्रकारहरूको साथ दिने बताउँदै सरकारले घुँडा नटेकेसम्म दृढतापूर्वक उभिन पत्रकार संस्थाहरूलाई आग्रह पनि गरेका छन्।

जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि देशभर कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै यसलाई अझैं सशक्त बनाउने बताए। कार्यक्रममा २२ दिन प्रहरी हिरासतमा बिताएर रिहा भएका जनपत्रकार सङ्गठन काठमाडौँ जिल्ला संयोजक जितेन्द्र महर्जनलाई सम्मान समेत गरिएको थियो।

प्रकाशित: ५ जेष्ठ २०७६ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App