७ वैशाख २०८१ शुक्रबार
समाज

बस्नेतको स्वार्थले प्रक्रिया मिचेर ठेक्का

सिक्टा सिँचाइ आयोजनाको निर्माणाधीन पूर्वी नहर। तस्बिर: नागरिक

नेपालगन्ज - सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माणका लागि तत्कालीन आयोजना निर्देशक रमेश बस्नेतले नियम, प्रक्रिया सबै मिचेरै भए पनि हतारमा ठेक्का सम्झौता गराए। साढे ५३ किलोमिटर नहर निर्माण गर्न बस्नेतकै अग्रसरतामा ठेकेदार ‘कुमार कालिका जेभी’ले २०७४ साउन १० गते (२४ जुलाई २०१७) तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रुपैयाँमा सम्झौता गरेको थियो।

सम्झौताका क्रममा आयोजना कार्यालयले जति हतार गरे पनि अहिले कामको गति निकै सुस्त छ। एकैपटक तीन अर्बभन्दा बढीको ठेक्का सम्झौता गराउन तत्कालीन आयोजना निर्देशक बस्नेतले ठूलै कसरत गरेको उनका पूर्वसहकर्मी सम्झिन्छन्। ‘कुनै पनि आयोजनामा जिम्मेवारी सम्हाल्न आउने प्रमुखको स्वार्थ नै जति सक्यो धेरै र हतारमा ठेक्का सम्झौता गराउने हुन्छ,’ आयोजनाका एक पूर्वअधिकारीले भने, ‘सिक्टाको पूर्वी नहरमा ठेक्का सम्झौता गराउँदा रमेश बस्नेतले ठूलै कसरत गर्नुभयोे र सफल पनि हुनुभयो।’

त्यतिबेला व्यक्तिगत स्वार्थका कारण ठेक्का सम्झौतामा हतार गरे पनि अहिले काम सुस्त गतिमा चलिरहेको उनले बताए। सम्झौता अनुसार सबै काम सम्पन्न गर्न ठेकेदारलाई २८ महिनाको समय दिइएको छ। ठेकेदारले २०७६ कात्तिक २५ गतेभित्र पूर्वी मूल नहरको सबै काम सक्नुपर्छ। उक्त नहरको सर्भे डिजाइन फेल भएपछि दोस्रोपटक डिजाइन परिर्वतन गरिएको छ। ठेक्का सम्झौता गराउने होडले हतारमा गरिएको डिजाइन फेल भएको कर्मचारी बताउँछन्। नहरको ठेक्का सम्झौता हुनुअघि सर्भे, डिजाइन र इस्टिमेट गर्ने जिम्मा आयोजनाले एक परामर्शदाता कम्पनीलाई दिएको थियो। 

स्रोतका अनुसार ठेक्का स्वीकृत गराउने आयोजना निर्देशकले कुल बजेटको एकदेखि दुई प्रतिशतसम्म कमिसन पाउँछन्। कमिसनको लोभमा निर्देशक बस्नेतले पूर्वी नहरको ठेक्का सम्झौता हतारमा गराएका थिए। आफ्नै पालामा भएको पूर्वी नहरको कामप्रति बस्नेत नै केही समयपछि असन्तुष्ट देखिए। उनी भन्थे, ‘पूर्वी नहरको काम जुन हिसाबले अघि बढ्नुपर्ने हो, त्यसरी हुन सकेको छैन।’ आफूले ठूलै जोखिम उठाएर ठेक्का सम्झौता गराएको उनको भनाइ थियो।  
एक दशकअघि सुरु भएको आयोजनाले पश्चिम र पूर्वी नहरबाट बाँकेको कुल ४२ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने अनुमान छ। पश्चिम मूल नहर गुणस्तरहीन बनेपछि परीक्षणका क्रममा पटक–पटक भत्किइरहेको छ। ४५ किलोमिटर लामो पश्चिम मूल नहर (हेडवक्र्सदेखि ३५ किलोमिटर खण्ड) परीक्षणका क्रममा पहिलोपटक २०७३ असार १४ गते ढकेरीस्थित झिझरी खोला छेउमा र पछिल्लोपटक २०७५ साउन ७ गते ढकेरीकै चंगाई नाला नजिक भत्किएको थियो।

सिक्टाको पश्चिम मूल नहर कमसल निर्माण गरी अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार ‘सिटिसिई कालिका जेभी’का बहालवाला र पूर्वकर्मचारी तथा परामर्शदाता कम्पनी लगायतविरुद्ध साढे आठ अर्ब बराबरको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो। अहिले उक्त मुद्दा अदालतमा विचाराधीन छ। तत्कालीन निर्देशक बस्नेतले पनि विशेष अदालतमा मुद्दा खेपिरहेका छन्। ठेकेदारलाई उन्मुक्ति दिएर अनियमितता गरेको लगायत अभियोग बस्नेतमाथि लाग्दै आएको छ।

सिक्टाको पूर्वी नहरमा ठेक्का सम्झौता गराउन बस्नेत दुईपटक आयोजना निर्देशक बनेका थिए। जबकि आयोजना निर्देशकमा सहसचिव स्तरको दरबन्दी हुनुपर्छ। तत्कालीन सिँचाइ मन्त्री दीपक गिरी र वर्तमान सिँचाइ मन्त्री वर्षमान पुनलाई रिझाएर उपसचिव स्तरका बस्नेत दुईपटक निर्देशक भएका हुन्।
पछिल्लोपटक मन्त्री पुनले सिक्टामा आफ्नो अनुकूल काम गर्न बस्नेतलाई आयोजना निर्देशक बनाएका थिए। दुईपटक निर्देशकको जिम्मेवारीमा रहँदा बस्नेतले नियम मिचेर थुप्रै काम गरेको उनका पूर्वसहकर्मी बताउँछन्। ‘उहाँ (रमेश बस्नेत) अलि जंगी स्वभावको हुनुहुन्छ, नियम कानुन पछि हेर्दै गरौंला अहिले काम गरौं भन्नुहुन्थ्यो,’ पूर्वसहकर्मीले भने, ‘पूर्वी नहरको सम्झौता हतारमा हुनुको कारण पनि यही हो।’

हतारमा पूर्वी नहर ठेक्का सम्झौता गर्ने होडका कारण सर्भे डिजाइनमा समस्या आएको र राज्यको करोडौं रुपैयाँ नोक्सान भएको कर्मचारी बताउँछन्। आयोजनाका एक इन्जिनियरले हतारमा ठेक्का सम्झौता गर्ने होडले गर्दा पूर्वी नहरको सर्भे डिजाइन परिवर्तन गर्नुपरेको बताए। ‘त्यतिबेलाका आयोजना निर्देशकको व्यक्तिगत स्वार्थका कारण हतारमा सर्बे गरेर डिजाइन गरियो र हतारमै ठेक्का सम्झौता गरियो,’ उनले भने ‘आखिरमा अहिले कामको यो हालत भएको छ, ठेक्का सम्झौता गराउन सफल हुनेले त केही पाए होलान्, तर अहिले त्यसको असर हामीले खेप्नु परेको छ।’

नयाँ डिजाइन अनुसार मूल नहरलाई करिब दुई मिटरसम्म गहिरो र केही चौडाइ बढाइएको छ। ‘सर्भे डिजाइन अनुसार नै टेन्डर स्वीकृत भएको हो, अहिले डिजाइन परिर्वतन भएपछि गहिराइ र चौडाइ बढेको छ,’ उनले। डिजाइन परिवर्तन भएपछि नहरमा कटान र पटान धेरै गर्नुपर्ने देखिएको सम्वद्ध ठेकेदार कम्पनीले जनाएको छ। उक्त नहरको सर्भे, डिजाइन र इस्टिमेट गर्ने जिम्मा पाएको परामर्शदाताले आयोजना कार्यालयसँग भुक्तानी समेत लिइसकेको छ।

सम्झौताको गतिभन्दा पूर्वी नहरको काम सुस्त चल्दा स्थानीय बासिन्दा चिन्तित छन्। अबको ६ महिनाभित्रै सम्पन्न गरिसक्नुपर्ने नहरमा ठेकेदारले अहिलेसम्म २५ प्रतिशत मात्र काम गरेको आयोजना कार्यालयले जनाएको छ। अगैयास्थित हेडवक्र्सबाट राप्तीपारिको नौ हजार हेक्टर क्षेत्रमा पूर्वी नहरबाट सिँचाइ सुविधा पु-याउने लक्ष्य छ। यहाँका स्थानीय बासिन्दा वर्षौंदेखि सिँचाइको आसमा बसिरहेका छन्।

आयोजना निर्देशक कृष्णप्रसाद नेपालले पूर्वी नहरको कामको गति विभिन्न कारणले गर्दा अपेक्षा अनुसार अघि बढ्न नसकेको बताए। ठेकेदारले अहिलेसम्म ६० करोड भुक्तानी लिइसकेको उनले जनाए। उनले भने, ‘ठेकेदारले काम त गरिरहेको छ, तर पानी परेर काम गर्ने वातावरण बनिराखेको छैन।’

प्रकाशित: ५ जेष्ठ २०७६ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App