७ वैशाख २०८१ शुक्रबार
समाज

२४ वर्षदेखि फरार ‘मस्ट वान्टेड’ पक्राउ

सर्लाही– दर्जनौं खुनडाँका, सङ्गठित अपराध र किर्ते मुद्दामा फरार रहेका ‘मस्ट वान्टेड’ अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–२, पुर्नवास (डी) टोलका ४५ वर्षीय सञ्जिव पासवानलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सुराकीका आधारमा शुक्रबार साँझ आफ्नै घरबाट पक्राउ परेका पासवानलाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। 

२० वर्षको उमेरदेखि विभिन्न आपराधिक घटनामा संलग्न पासवान पेशेवर रुपले लुटपाट, खुनडाका लगायतमा संलग्न भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले दाबी गरे। ‘पासवान विरुद्ध सर्लाहीसहित महोत्तरी, सिरहा, सिन्धुली, रुपन्देही र भारतीय बजारमा भएका लुटपाट र अन्य आपराधिक घटनामा दर्जनौं मुद्धा रहेको पाईएको छ’, प्रउ भट्टराईले भने, ‘उनी नेपालका विभिन्न प्रहरी कार्यालय तथा भारतीय प्रहरीबाट समेत सर्वाधिक खोजीको सूचीमा परेका अभियुक्त हुन्।’ 

पासवान २०७४ साल असोज २४ गते सर्लाहीको हरिपुर नगरपालिका–९ मा कविलासी नगरपालिका–२ का सुनचाँदी व्यवसायी सुनिल साहको गोली हानी हत्या गरिएको र २०७५ साल असोज २० गते ईश्वरपुर नगरपालिका–१३, बाँके जङ्गलमा श्रीनगरस्थित एक सहकारीका सञ्चालक धनेश्वर महतोको साथबाट नौ लाख नब्बे हजार लुटपाट गरिएको घटनामा समेत संलग्न रहेको प्रहरीको दाबी छ। यस्तै, महोत्तरीमा दुईवटा डकैती, एउटा सवारी चालक अनुमति पत्र किर्ते, सिरहा, सिन्धुली र रुपन्देहीमा तीनवटा लुटपाट र भारतको विभिन्न स्थानमा ११ पटक लुटपाटको घटनामा पासवानको संलग्नता रहेको पाइएको प्रउ भट्टराईले दाबी गरे।

प्रहरीका अनुसार पासवान डकैती मुद्दामा रुपन्देहीबाट पक्राउ परी तीन वर्ष कारागार बसेर छुटेका अभियुक्त हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा पासवानले डकैती गरेरै सुखसयलसँग आफ्नो र परिवारको पालपोषण गरी चार कोठे पक्की घर बनाएको, १० कठ्ठा १० धुर जग्गा खरिद गरेको, छोरीको विवाहमा चार लाख रुपिँया दाइजो दिएको, एक थान ट्याक्टर र एक थान मोटरसाइकल खरिद गरेको पाइएको प्रहरीले जनाएको छ। 

भारत तथा मुलुककै विभिन्न स्थानमा लुक्दै आएका पासवान घर आएको भन्ने खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले पासवानलाई पक्राउ गर्नु अपराधिक घटना नियन्त्रणका लागि ठूलो सफलता ठानेको छ। 

प्रकाशित: ४ जेष्ठ २०७६ १४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App