coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजदेवी पञ्चावती मेलाः मन्दिर प्रवेश गर्नेक्रममा श्रद्धालुको मृत्यु

लहान नगरपालिका –१५ ढोड्ना स्थित राजदेवी पञ्चावती मन्दिरमा दर्शन गर्न आएका श्रद्धालुहरुको भिड। तस्बिरःमिथिलेश यादव/नागरिक

ढोड्ना– लहान नगरपालिका –१५ स्थित राजदेवी पञ्चावती मन्दिर प्रवेश गर्नेक्रममा बेहोस भएर एकजना श्रद्धालुको मृत्यु भएको छ। मृतक सुखिपुर नगरपालिका–२का ४० वर्षीय बालगोपाल यादव हुन।

मुख्य गेटबाट मन्दिर प्रवेश गरेका यादव अत्याधिक गर्मीले बेहोस भएर लडेका थिए। प्रहरी र मन्दिर समितिले उद्धार गरेर उपचारका लागि लहान अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको  इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए। भीडभाड र गर्मीका कारण धेरै मन्दिर अाएका श्रद्धालुहरु बेहोस भएका थिए।

‘मन्दिरमा हजारौं श्रद्धालु मेला भर्न आएका छन्,’ लहानकी सुनिता यादवले भनिन्,‘मन्दिरलाई चारैतिरबाट घेरेर तथा प्रवेशद्वार साँघुरो बनाइएकाले मन्दिरक्षेत्रमा भीड बढेको छ।’ श्रद्धालुको भीडलाई व्यवस्थित गर्न नसक्दा आउजाउमा समेत कठिनाई भएको उनले सुनाइन्। यसपाली मन्दिरसम्म पुग्ने बाटो तुलनात्मक रुपमा व्यवस्थित देखिएपनि मन्दिरक्षेत्र अव्यवस्थित देखिएको उनले बताइन्।

धार्मिक महत्वको राजदेवी पञ्चावती मन्दिरमा वैशाख शुक्ल पूर्णीमाको दिन शनिबार ठूलो मेला लाग्ने गरेकाे छ। मेला भर्न र भाकल चढाउन देशका विभिन्न स्थानसँगै भारतका विभिन्न सहरबाट ठूलो संख्यामा श्रद्धालुहरुको भीड लागेको छ।

थारु समुदायको बाहुल्य रहेको गाउँको बीचमा रहेको मन्दिरमा बुद्ध जयन्तीकै दिन वैशाखे पूर्णिमामा पशुपंक्षीको बलि दिइने गरिन्छ। राजदेवी मन्दिर बाराको गढीमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा बलि दिइने मन्दिरको रुपमा लिइन्छ।

यस मन्दिरमा पशुपक्षीको बलि दिएर राजदेवी माताको भाकलअनुसार पूजाअर्चना गरे सन्तान प्राप्ति, रोगव्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने विश्वास रहेको छ।

वैशाख पूर्णिमाका दिन यहाँ लाग्ने मेला भर्न वर्षैपिच्छे श्रद्धालुहरुको संख्या बढ्दै गएको मन्दिर रहेको वडाका अध्यक्ष तेजनाराण चौधरीले बताए। पछिल्लो वर्षको तुलनामा यस वर्ष बलि चढाउनेको संख्यापनि बढेको उनले बताए। स्थानीय बुढापाकाका अनुसार मन्दिर अढाई शताब्दीदेखि नै अस्तित्वमा रहेपनि विशेष पूजाअर्चना र पशुपक्षीको बलि भने ०५० पछि मात्र सुरु भएको हो।

प्रकाशित: ४ जेष्ठ २०७६ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App