८ वैशाख २०८१ शनिबार
समाज

यार्सागुम्बा सङ्कलन शुरु हुँदै

फाइल फाेटाे

दार्चुला– जिल्लाका हिमाली क्षेत्रमा यस वर्ष यही जेठ दोस्रो साताबाट यार्सागुम्बा सङ्कलन शुरु गरिने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गरेको ‘यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिका–२०७३’ अनुसार जेठ दोस्रो साताबाट सङ्कलन शुरु गरिने भएको हो।

यार्सागुम्बा सङ्कलनका लागि यो वर्ष परिचयत्र अनिवार्य गरिएको छ। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, जिल्लाका विभिन्न सेक्टर, रेन्जपोष्ट लगायतबाट परिचयपत्र वितरण शुरु गरिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए।

निर्देशिकाले सङ्कलकका लागि नागरिकता अनिवार्य गरेको छ। सोहि निर्देशिकाको आधारमा परिचय पत्र जारी गरिने बताइएको छ। निर्देशिकामा यार्सागुम्बा टिप्न संरक्षित क्षेत्रभित्रका जनतालाई पाँच सय रुपैयाँ, संरक्षित क्षेत्र बाहिरका सोही जिल्लाका व्यक्तिलाई एक हजार रुपैयाँ र जिल्ला बाहिरका व्यक्तिलाई दुई हजार रुपैयाँ राजस्व तोकिएको छ। जिल्लाका हिमाली भेगका स्थानीयको प्रमुख आयस्रोतको रुपमा रहेको बहुमूल्य यार्सागुम्बा सङ्कलन कार्यलाई यो वर्ष थप व्यवस्थित बनाउने गरी काम भइरहेको प्रमुख मेहताले बताए।

परिचय पत्र लिएर यार्सागुम्बा सङ्कलन गर्न जाने सङ्कलकको यो वर्षबाट पहिलो पटक वीमा गर्न शुरु गरिएको छ। यो वर्ष यार्सा सङ्कलनको अवधिमा १० जना सर्वसाधारण सङ्कलक, १० जना कर्मचारी र सुरक्षाकर्मीको वीमाको व्यवस्था गरिएको प्रमुख संरक्षण अधिकृत मेहताले जानकारी दिए। वीमा रु २० लाख बराबरको हुनेछ। 'एक महिनाको अवधिमा यार्सागुम्बा सङ्कलनको क्रममा कुनै भवितव्य घट्ना भइहाले राहत स्वरुप वीमा कार्यक्रम अघि सारिएको हो', उनले भने।

सङ्कलकलाई जोखिमपूर्ण काम गर्दा हुने क्षति कम गर्न वीमा कार्यक्रम पहिलो पटक लागू गरिएको हो। अपिहिमाल गाउँपालिकाका लोलु, रोखापु, सतगंगा, कटेली गाड, बयेली, धरमघर, क्षत्तिगाड, चाइमटेला र व्यास गाउँपालिकाका अपि फेद, नाम्पा, दुधिवन, स्याङ्पा, गल्गासे, होमदङ्ती, घट्टेखोला, मुल्तीतिछडे, सितालनौन्था लगायतका क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ।

जिल्लामा हरेक वर्ष सातदेखि आठ हजार यार्सागुम्बा संकलनकर्ता आउने गरेकाे बताइन्छ। वार्षिक झण्डै छ देखि आठ क्वीन्टल यार्सागुम्बा सङ्कलन हुने गरेको कार्यालयको तथ्याङ्क छ। रासस

प्रकाशित: ४ जेष्ठ २०७६ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App