स्मृति

मंगलमान

शनिबार, ०४ जेठ २०७६, ०९ : ५२ नागरिक

पुराना पत्रपत्रिका खोज्ने क्रममा ०४६ असारको ‘वन्दना’ त्रैमासिक फेला प¥यो। पाना पल्टाउँदै जाँदा युगकवि सिद्धिचरण श्रेष्ठसँगको अन्तरवार्तामा पुगेर म रोकिएँ। त्यसपछि म विगतमा फर्किएँ। स्कुल पढ्दै गर्दा युगकविको चर्चित कविता ‘ओखलढुंगा’ धेरै पटक पढियो। प्रकृतिको सुन्दर वर्णन गरिएको ‘ओखलढुंगा’ कवितालाई त्यतिखेर नेपाली पढाउने गुरु हरिप्रसाद शर्मा खनालले लय हालेर पढ्नुहुन्थ्यो र हामीलाई पनि लय हालेर पढ्न लगाउनु हुन्थ्यो। जति पटक पढे पनि नयाँ लाग्ने र पढिरहूँ लाग्ने उक्त कवितामा ‘...मेरो प्यारो ओखलढुंगा’ भनेर पटकपटक दोहो¥याएर लेखिएको देखेर त्यसकै सिकोमा ‘मेरो प्यारो भक्तपुर’ भनेर कविता लेखियो।  उक्त कविता रेडियो नेपालको बाल कार्यक्रमबाट प्रसारित पनि भयो सबैका प्यारा आदरणीय दाजु वासुदेव मुनालको आवाजमा।

आफूले सधैं अभिरुचिपूर्वक पढ्ने र सुन्ने गरेको ‘ओखलढुंगा’ कविताका सर्जक कस्ता होलान् भन्ने उत्सकुता मनमा सधैं हुने गर्दथ्यो। यसो त साहित्यमा रुचि हुने सबैलाई अग्रज र त्यसमा पनि धेरै चर्चित र प्रसिद्ध साहित्यकारलाई देख्ने र भेट्ने इच्छा हुन्छ नै। त्यसरी प्रत्यक्ष देख्दा वा भेट्दा अत्यन्तै गौरव महसुस हुन्छ। कविवर श्रेष्ठलाई भेट्ने इच्छा ममा पनि थियो। कस्ता होलान् त्यति मीठो कविता लेख्ने कवि भनेर अनुमान लगाउँथे। संयोग एक दिन उनै चर्चित कविताका सर्जक युगकविलाई भेट्ने सौभाग्य मिल्यो।

युगकवि सिद्धिचरण श्रेष्ठलाई हामीले सोध्यौं, ‘ओखलढुंगा’ कविता नै तपाईंको नामको पर्याय बनेको सुन्दा तपाईंलाई कस्तो लाग्छ ?’ प्रश्न सुनेर उहाँले भन्नुभयो, ‘यो कविता पाठ्यपुस्तकमा समेत धेर ै वर्ष रहेको हुँदा बढीभन्दा बढी पाठकहरूले पढे, जसले गर्दा यो कविता नै मेरो पर्याय बन्न गयो । अरू त के भनूँ ?’

कुरा २०४६ सालको। केही साथी मिलेर एउटा साहित्यिक पत्रिका निकाल्ने जमर्को गर्दै थियौं। त्यही मेसोमा पहिला निस्किसकेको, तर केही समयदेखि बन्द रहेको ‘वन्दना’ त्रैमासिक पत्रिकालाई पुनः निकाल्ने अवसर जुट्यो। म त्यस पत्रिकाको कार्यकारी सम्पादक बनाइएको थिएँ। हामी उक्त पत्रिकाको आठौं वर्षको पहिलो अंक निकाल्ने कोसिस गर्दै थियौं। धेरै जनासँग रचनाका लागि अनुरोध गरेपछि श्यामदास वैष्णव, नीरविक्रम प्यासीदेखि शिव रेग्मी, तेजेश्वरबाबु ग्वंग, पुरुषोत्तम सुवेदी, मनु ब्राजाकी, पद्मावती सिंह, शारदा शर्मा, नकुल सिलवाल, सीता पाण्डे, युयुत्सु आरडी शर्मासम्मका चर्चित कवि÷लेखकहरूका रचना प्रकाशनका लागि प्राप्त भएको थियो।

पत्रिकाको सोही अंकमा एक जना वरिष्ठ कवि÷लेखकको अन्तर्वार्ता पनि राख्न पाए पत्रिका अझै ओजपूर्ण हुने ठहरसहित् युगकविको अन्तरवार्ता लिने निर्णय गरिएको थियो। अन्तर्वार्ताका लागि समय लिने क्रममा २०४६ सालको बैशाखको कुनै एक दिन कविज्यूको ओमबहालस्थित घरमा गयौं। कविज्यूको वृद्धावस्था र आँखाको दृष्टिसमेत निकै कमजोर भइसकेको हुँदा हिँड्डुल र कामकाजका लागि उहाँका एक सहयोगी हुनुहुन्थ्यो। उहाँसँगै कुरा गरेर अन्तरवार्ताका लागि कविज्यूसँग अनुरोध ग¥यौं। औपचारिक अन्तरवार्ताका लागि अर्को दिन आउने अनुमति लिएर हामी फर्कियौं।

तोकिएको समयमा इन्द्रकुमार श्रेष्ठ ‘सरित्’, त्रिचन्द्र श्रेष्ठ ‘प्रतीक्षा’ र मसहित् हामी तीन जना कविज्यूको घरमा पुग्यौं। हजुरबुबा पुस्ताका युगकवि र नाति पुस्ताको मबीच पहिलो साक्षात्कार भयो। त्यतिखेर उहाँ हुक्कामा लामो नली राखेर तमाखु खाँदै हुनुहुन्थ्यो। सहयोगी पनि सँगै हुनुहुन्थ्यो। उहाँले नै कविज्यूसँग अन्तरवार्ताका लागि सबै प्राविधिक प्रबन्ध मिलाइदिनु भयो।

हामीले कविज्यूलाई अभिवादन गर्दै परिचय दियौं। उहाँले हामीलाई बस्नका लागि भन्नुभयो। बोल्दाखेरि उहाँको स्वरमा कम्पन हुन्थ्यो र अड्कीअड्की बोल्नुहुन्थ्यो। बोल्दाखेरि धेरैचोटि जिब्रोले ओठ चाटेर बोल्नुहुन्थ्यो। यद्यपि बोल्दाखेरि उहाँको आँखाले बाक्लो चश्माभित्रबाट हामीलाई हेरिरहेको हुन्थ्यो। पूर्णतः खुलेर नबोल्ने, धेरै हँसिलो पारामा पनि नबोल्ने (उमेरको कारणले पनि होला) र बोल्दाखेरि थोरै बोल्ने अर्थात् छोटकरीमा बोल्ने। तर जे बोल्नुहुन्थ्यो त्यो पूर्णझैं लाग्थ्यो। कविताले इसारा गरेजस्तो उहाँको बोलीले पनि धेरै कुरा इसारा नै गरेजस्तो लाग्थ्यो। बुढेसकालमा पनि उहाँको त्यो दर्बिलो आवाजले ‘क्रान्तिबिना यहाँ आउँदैन शान्ति’ भन्ने उहाँकै कवितालाई प्रतिविम्बित गरिरहेझैं लाग्थ्यो।

केही औपचारिकता पूरा गरेपछि हामी कविवरलाई प्रश्न सोध्न थाल्यौं। लामो अन्तरवार्ताको क्रममा हामीले धेरै प्रश्न सोधेका थियौं। त्यसमध्ये हामीले सोधेको पहिलो प्रश्न थियो, ‘ओखलढुंगा’ कविता नै तपाईंको नामको पर्याय बनेको सुन्दा तपाईंलाई कस्तो लाग्छ ?’

प्रश्न सुनेर उहाँ एकैछिन् सोचमग्न हुनुभयो। अनि दृष्टिलाई कतै अन्तै लगाएर भन्नुभयो, ‘यो कविता पाठ्यपुस्तकमा समेत धेरै वर्ष रहेको हुँदा बढीभन्दा बढी पाठकहरूले पढे, जसले गर्दा यो कविता नै मेरो पर्याय बन्न गयो। अरू त के भनूँ ?’ हाम्रो अनुमान थियो, यस्तो प्रश्न सुनेर उहाँ उत्तेजित हुनुहुनेछ, खुसी हुनुहुनेछ। तर उहाँमा न त्यस्तो ठूलो खुसीको भाव देखियो, नत कुनै उत्तेजनाको नै। बरु निकै शालीन र गम्भीर भएर उत्तर दिनुभयो। त्यो उत्तर हाम्रा लागि काफी थियो।

उहाँका समकालीन कविहरू हुनुहुन्थ्यो बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, गोमा, युद्धप्रसाद मिश्र आदि। हामीलाई जान्ने इच्छा थियो उहाँ कोसँग बढी निकट हुनुहुन्थ्यो भन्ने। हामीले सुनेका थियौं उहाँ गोमालाई माया गर्नुहुन्थ्यो। त्यो कस्तो माया हो थाहा थिएन। डा. तारानाथ शर्माले कहींकतै उहाँ र गोमाबीचको सम्बन्धका केही कुरा कोट्याउनुभएको कतै पढिएको थियो। त्यसैले कविवरकै मुखबाट केही संकेतहरू मिल्छ कि भन्ने हाम्रो अपेक्षा थियो। तर कविज्यूले सन्तुलित जबाफ दिनुभयो, ‘सबैकै नजिक थिएँ। तर बालकृष्ण समसँग चाहिँ उहाँको जीवनपर्यन्त सँगै बस्ने, लेख्ने र एक अर्काले एक अर्काको रचना पढ्ने हुनाले समजीसँग नै बढी घनिष्टता रह्यो।’

कविज्यू राजनीतिक चेत भएको मान्छे। उहाँका कवितामा त्यही राजनीतिक चेतका आवाज र सन्देश प्रशस्त रहिआएका छन्। त्यसैले उहाँकै मुखारविन्दबाट साहित्य र राजनीतिको निकट सम्बन्धका बारेमा जान्ने इच्छाले हामीले सोध्यौं, ‘साहित्य र राजनीति एकअर्काको कति नजिक हुन्छन् ? अलिकति कामेको स्वरमा अड्कीअड्की उहाँले भन्नुभयो, ‘भन्न त भन्छन् साहित्य र राजनीति अलगअलग हुन्छन्। तर राजनीति र साहित्य एकअर्कामा अन्योन्याश्रित हुन्छन्। राजनीतिको आश्रय साहित्य र साहित्यको आश्रय राजनीति हो। तर कोरा राजनीतिचाहिँ साहित्य होइन।’ कविज्यूको भनाइ आजपर्यन्त साहित्यको नाममा राजनीतिक नारा लेख्ने साहित्यकारका लागि गतिलो सन्देश हो भन्ने मलाई लाग्दछ।

कविवर अध्ययनशील हुनुहुन्थ्यो। आँखाको दृष्टि कमजोर भएको कारण आफूले पढ्न नसक्दा पनि उहाँ सहयोगीलाई पढ्न लगाएर सुन्नुहुन्थ्यो। त्यसैले समसामयिक साहित्यिक विचारधाराप्रति उहाँ जानकार हुनुहुन्थ्यो। उहाँको मूल्यांकनमा आजका कविहरूले विकृति र विसंगतिप्रति आक्रोश व्यक्त गर्छन् भन्ने थियो। तथापि ती अभिव्यक्तिहरू कलात्मक ढंगबाट हुनु राम्रो भए पनि नाराबाजी मात्र भयो भने साहित्यिक स्तरमा पुग्दैन भन्ने उहाँको सुझाव पनि थियो।

अन्तरवार्ताको क्रममा धेरै औपचारिक र अनौपचारिक कुरा भए। धेरै ठूला व्यक्तित्वहरू अरू कोहीबाट प्रभावित हुने गरेको तथ्यलाई बुझ्ने क्रममा कविज्यूलाई पनि यही जिज्ञासा राख्यौं। यस्तो प्रश्नको जवाफमा धेरैले विदेशी साहित्यप्रतिको मोहलाई व्यक्त गर्ने गरेको भएता पनि कविवरले भने आफूले कवि लेखनाथ पौड्यालका कविता धेरै पढ्ने गरेको र त्यसबाट ठूलो प्रेरणा लिएको बताउनु भयो। यद्यपि उहाँलाई पाश्चात्य साहित्यमा वर्डस्वर्थ, संस्कृतमा कालिदास, हिन्दीमा तुलसीदास र कविर आदि मन पर्ने पनि बताउनु भयो।

अन्तरवार्ताको क्रम अघि बढ्दै जाँदा कविज्यूले आफ्ना कवितामा प्रकृति र सौन्दर्यलाई बढी जोड दिनुभएको तथ्य अवगत हुँदाहुँदै पनि यौनसँग सम्बन्धित प्रश्न सोध्न मन लाग्यो। यसै सन्दर्भमा ‘साहित्यमा यौन पनि हुनुपर्छ भन्ने कुरालाई महसुस गर्नु भएन ?’ भन्ने प्रश्नमा उहाँले शालीन जवाफ दिनुभयो, ‘सौन्दर्य र प्रकृति भन्नु पनि यौन नै हो। हुन त यौन भन्नाले हामी नारी र पुरुषबीचको सम्बन्धलाई मात्र इंगित गर्छौं। तर यौन त विस्तृत विषय छ र वास्तवमा मान्छेको हेर्ने दृष्टिमा भिन्नता हुनुपर्छ। किनकि दृष्टिकै भिन्नताबाट हामी मसानमा जलिरहेको लासलाई पनि सुन्दर देख्न सक्छौं।’

यस्तो सुन्दर विचार सुन्दर हृदय र सुन्दर मन भएको मान्छेबाट मात्रै व्यक्त हुनसक्छ। युगकवि सिद्धिचरण श्रेष्ठ सुन्दर मन र सुन्दर हृदय भएको सुन्दर मान्छे हुनुहुन्थ्यो, त्यसैले उहाँ सुन्दर कवि हुनुहुन्थ्यो। उहाँलाई प्राकृतिक सुन्दरताले मोहित बनाउँथ्यो। त्यसैले उहाँले ‘ओखलढुंगा’ कविता लेख्नुभयो। उहाँलाई मान्छेका दुख, वेदना र पीडाले पोल्थ्यो। त्यसैले उहाँले ‘मंगलमान’ कविता लेख्नुभयो। यस्तै ‘मंगलमान’हरूको पक्षमा कविता लेख्न युवा सर्जकहरूलाई आव्हान गर्दै उहाँ भन्नुहुन्थ्यो, ‘पछौटपेनमा बाँचिरहेका हाम्रा दाजुभाइहरूको अभिव्यक्ति दिन सक्नुपर्छ।’

यसरी प्रकृतिको सुन्दरतामा मोहित भएर सुन्दर कविता लेख्ने कविले दीनदुखी र पीडितहरूको पीडाको आवाज पनि पोख्नुभयो। प्रकृति र मानवपीडाको आवाज बुलन्द पार्ने कविसँगको मेरो त्यो पहिलो भेट नै अन्तिम भेट भयो। उहाँसँग अन्तरवार्ता लिएको झन्डै तीन वर्षपछि ०४९ जेठ २२ गते उहाँको निधन भयो। बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोरा सिद्धिचरणको जन्म १९६९ साल जेठ ९ गते ओखलढुंगामा भएको थियो।

उहाँको पहिलो रचना ‘भुइँचालो’ शीर्षकको कविता हो। उहाँका ‘सिस्वाँ’ (नेवारी कवितासंग्रह), ‘फुस्वाँ’ (नेवारी काव्य), ‘उर्वशी’ (खण्डकाव्य), ‘कोपिला’ (कवितासंग्रह), ‘मेरो प्रतिबिम्ब’ (कवितासंग्रह), ‘कुहिरो र घाम’ (कवितासंग्रह), ‘बाँचिरहेको आवाज’ (कवितासंग्रह), ‘मंगलमान’ (खण्डकाव्य), ‘आँसु’ (काव्य), ‘ज्यानमारा शैल (काव्य), ‘बालिबध’ (पद्यनाटक), तिरमिरे तारा (बालकवितासंग्रह), ‘सिद्धिचरणका जेल संस्मरण’, ‘कारागारको सम्झना’ लगायतका कृतिहरू प्रकाशित छन्।)

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad