नियात्रा

शैलुङ डाँडामा चुर्लुम्मै

शनिबार, ०४ जेठ २०७६, ०९ : १७ दीपेन्द्रसिंह थापा

छिनमै घाम, छिनमै बादल। कहिले कुहिरो र सिर्सिरे बतास। एकै छिनमा पानी नै बर्सिन पनि के बेर ! चिसो याममा बुरबुरती खस्ने हिउँको सौन्दर्य त अवर्णनीय छँदै छ।
पहिलोचोटि शैलुङ पुग्दा मनमा लाग्यो, ‘सुन्दर चञ्चलतासहित प्रकृतिको उन्मत्त बैँस प्रदर्शित हुने कुनै दिव्य क्रीडास्थलमा पो छु कि म ?’ सय वटा थुम्काका लुङ शैलुङ, त्यो पनि मालाका लुङजस्तै लहरलहरमा मिलेका। कतै जोल्ठिएजस्ता, कतै अङ्कमाल गरेजस्ता र कतै आपसमा मिलेर टाँसिएजस्ता । अनेक बान्कीका थुम्काहरू। जता हे¥यो त्यतै  कलात्मक परिदृश्य। हेरेर र घुमेर त, खै को पो अघाउला र यहाँ पुग्नेहरू जस्तो लाग्ने। मेरो मन पनि लुटपुटिनुसम्म लुटपुटिरह्यो। आँखाहरूले तनतनी सौन्दर्य पिई नै रहे, नथाकी।

कस्तो भव्य थुम्काथुम्की ! सिपालु कलाकारले सीप लगाएर सुमसुम्याएर राखेजस्ता। सुकिला, सफा र स्निग्ध। मसिनामसिना भुइँघाँस र भुइँफूलहरू। मानौं, दुबोजस्तै देखिने एकनासका घाँसे गलैँचाले छोपिएका छन् थुम्काहरू।

‘दुबोजस्तै देखिए पनि यो दुबोचाहिँ  होइन है, शेर्पा भाषामा यसलाई चरिल भनिन्छ,’ भर्खर चिनजान भएर गफिँदै गरेकी साथी आङ डोमा शेर्पाले परपर कुहिरोसँग लुकामारी खेल्दै चरिरहेका चौरीका हुललाई लक्षित गर्दै भनिन्, ‘पौष्टिक आहारयुक्त घाँस हो  यो पनि। यो घाँस खाँदा बाक्लो हुन्छ चौरीको दूध।’ शैलुङ महोत्सवले जुराएको संयोगका कारण शेर्पा समुदायका मान्छेहरूसँग चिनजान र सँगै घुमफिर गर्ने रमाइलो अवसर मिलेको थियो मलाई। हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका केही कलाकारहरू पनि त्यहाँ पुगेका थिए। कुरा गर्दा थाहा भयो, मौलिक सांस्कृतिक चेत बोकेका शेर्पा कलासंस्कृतिकर्मीहरूको छाता संस्था रहेछ यो। देशविदेशमा छरिएर रहेका शेर्पाहरूलाई आफ्नो भाषा, संस्कृति र मौलिक चिनारीको एउटै मालामा उन्न सक्रिय। काठमाडौँको बौद्धमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले शेर्पा समुदायको बसोबास रहेका देशभित्रका विभिन्न जिल्ला र विदेशमा समेत शाखा स्थापना गरिसकेको थाहा पाइयो। क्या गज्जब, संस्कृतिको संरक्षण र उन्नयनमा यसै गरी गतिशील बन्नुपर्छ सबैका पाइलाहरू !

चौरी गाईको हुलको बीचबाट लुसुक्क पसेँ म एउटा गोठमा । ठुलो ताउलोमा भकभक दूध उमाल्दै थिए चौरीधनी फुर्पा शेर्पा । छुर्पी मात्र किनिएन त्यहाँ, चौरी गाईको दूध पनि चाखियो । शैलुङका पोषिला घाँस र जडिबुटी खाने चौरीको दूधको स्वादको त के बयान गर्नु छ र ?

दोलखा र रामेछाप दुबै जिल्लाको शिर हो, शैलुङ। पानीढोलोको आधारमा एकातिर पानी बग्ने भाग दोलखा र अर्काेतिर पानी बग्ने जति रामेछाप। दोलखाका शैलुङ र मेलुङ दुई गाउँपालिका पानीढोलोको एकातिर पर्छ भने रामेछापको दोरम्बा गाउँपालिका अर्कोतिर। यी ३ गाउँपालिकालाई अँगालेर आफ्नो बृहत् प्राकृतिक, जैविक र सांस्कृतिक पहिचानमा फैलिएको छ शैलुङ।

‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई...’ बोलको गीत सानै छँदा सुनेको थिएँ, कुन्ती मोक्तानको स्वरमा। त्यो गीत सुनेकै आधारमा शैलुङ क्षेत्रको एक खालको बिम्ब बनेको थियो मेरो मानसमा। प्रत्यक्ष अवलोकनको साइत चाहिँ ०७६ को वैशाख १३ देखि १५ गतेसम्म सञ्चालित प्रथम शैलुङ महोत्सवले जुरायो।

काठमाडौँबाट बनेपा हुँदै विपी राजमार्गमा केही समय यात्रा गरेपछि पुगिन्छ सित्खा। त्यहाँबाट बाटो मोडिन्छ रामेछापको भित्तापट्टि। काठमाडौँबाट झन्डै ६ घण्टा लाग्छ मोटरमा शैलुङ क्षेत्रको खोलाखर्क पुग्न। काठमाडौँदेखिकै हिसाब गर्दा जम्माजम्मी १ सय ३१ किलोमिटर मात्र हो रे मोटर बाटोको दूरी त। सित्खाबाट उँभो लागेपछिको बाटो जति कच्ची छ, त्यत्तिकै घुमाउरो, भिरालो र अप्ठ्यारो पनि। धेरै समय बाटोको त्यही दुरूहताले लिइदिन्छ। अपेक्षा गरौं, कुनै दिन यो बाटोको स्तरोन्नति भयो र पिच भयो भने अहिलेभन्दा छिट्टै पनि पुग्न सकिएला। ३१ सय ५० मिटर अग्लो शैलुङको भ्यूटावरभन्दा थोरै तल पर्छ खोलाखर्क। त्यहीँसम्म सर्रसर्र पुग्छ अहिले गाडी।  
रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने खोलाखर्कमै आयोजना गरिएको थियो प्रथम शैलुङ महोत्सव। एकातिर प्राकृतिक सौन्दर्यको मनोहारी आकर्षण, अर्कोतिर महोत्सवको रौनक। सौन्दर्यमाथि सौन्दर्य, आकर्षणमाथि आकर्षण र रौनकमाथि रौनक। प्रकृति सिर्जित भव्यता र दिव्यताको आँगनमा मानव सिर्जित उत्सवीय चहलपहल।

खोलाखर्क पुगेर गाडीबाट ओर्दिंदा पुलकित बन्यो मेरो मन। अहा, प्रकृति र संस्कृतिले सुसज्जित शैलुङ। महोत्सवस्थलमा कलाकारहरूले तताउँदै थिए माहोल। महोत्सवको उद्घाटनपूर्व प्रधानमन्त्री प्रचण्डद्वारा गराउने भनेर व्यापक प्रचार गरिए पनि उनको हेलिकेप्टरलाई किन हो त्यो दिन शैलुङको मौसमले स्वागत गरेन। अनि उद्घाटन गर्ने मौका पाए गाडीबाटै गएका सांसद्ले। दोलखाका सांसदद्वय पार्वत गुरुङ र शान्ति पाख्रिन र रामेछापका सांसद श्यामकुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेपछि ३ दिनसम्म महोत्सव चल्यो। जनप्रतिनिधिका हैसियतले उनीहरूले एकीकृत विकास योजना बनाएर दोलखा र रामेछाप दुई जिल्लाको साझा सम्पत्तिका रूपमा रहेको शैलुङको विकासमा आफूहरू जुट्ने प्रतिबद्धता व्यक्त गरे।    

पर्यटकीय सम्भावना प्रचुर छ शैलुङमा। यहाँ आन्तरिक र बाह्य पर्यटक भित्र्याएर  आर्थिक समृद्धिको ढोका खोल्न आतुर देखिन्छन् स्थानीय। शैलुङमा चौरी चराउने गोठालोको गीत गाएर दुई दशकअघि नै चर्चित बनेकी कुन्ती मोक्तानलाई आफ्नै आँगनमा पाउँदा शैलुङबासी कम्ती हौसिएनन्। उनको गीतमा मज्जैले नाचे, कम्मर मर्काईमर्काई।

अझ आदिबासी जनजातिका सांस्कृतिक प्रस्तुति धेरै रुचाए दर्शकले। शेर्पा समुदायको स्याब्रुमा खुट्टा चाल्दा होस् या तामाङसमुदायको सेलोमा कम्मर भाँच्दा। मगर समुदायले प्रस्तुत गरेको टप्पा त्यस्तै। सबै दमदार। कुनैमा कमी थिएन स्थानीयता, मौलिकता र माटोको सुगन्ध। कृषिजन्य सामग्री, हस्तकला, जडीबुटी, चौरी गाईका दूधबाट बनेका परिकारहरू। यस्तै सामग्रीहरुको बढी व्यावसायिक आकर्षण देखिन्थ्यो महोत्सवस्थलका स्टलहरूमा।

महोत्सवको रमझम हेर्दाहेर्दै साँझ परिसकेको पत्तै भएन। महोत्सवको व्यवस्थापकीय संयोजक दाबा सङ्बु शेर्पाकै निम्तोमा म त्यहाँ पुगेको थिएँ। बसोबासको प्रबन्ध उहाँले नै मिलाइदिनुभयो। खोलाखर्कको हरियो चउरमाथि सानो टेन्टभित्र घुस्रेर स्लिपिङ ब्यागभित्र छिर्दा पनि जाडोजाडो नै लाग्यो। नयाँ ठाउँ, जङ्गल नजिकको चउर। एउटा सानो टेन्टभित्र एक्लै रात बिताउनु पर्दा थोरैथोरै डर, अलिकता उत्सुकता, नयाँ ठाउँको माटोको बास्ना सबैसबै कुराले नयाँपन अनुभूति गरायो। नितान्त फरक र शान्त तरिकाले रात कटाइयो। बिहान ब्युँझेपछि हेर्दा अलिकति पर त चौरी गाईका हुल पनि खुला चउरमा आकाशको चकमन्नता हेर्दै बिहानको प्रतीक्षा गरिबसेका रहेछन्। चौरी गाईलाई खुला छाडेर पालिने रहेछ त्यहाँ। दिनभरि थुम्काथुम्की चहार्दै चर्ने र राती चाहिँ गोठालो बास बस्ने गोठ नजिकै चउरतिर आफू खुसी रात बिताउने।

बिहान सबेरै खोलाखर्कबाट भ्यूटावरतर्फ लख्रकलख्रक उकालो लागियो। करिब १ किलोमिटर जति हिँडेपछि पुगिन्छ। डाँडा (३१५० मिटर)मा छ भ्यूटावर। यहाँबाट देखिन्छ चारैतिर झल्झलाकार हिमाल। आँखाअघिल्तिर चाँदीका घेराजस्तै सगरमाथा, रोल्बालिङ, जुगलदेखि अन्नपूर्ण हिमशृङ्खलासम्म अवलोकन गर्न सकिन्छ। यस्तै चन्द्रागिरि, नगरकोट, चिसापानी डाँडा, नमोबुद्ध, धुलिखेल लगायतका भूभागका साथै महाभारतको चुरेरेन्चसम्म देख्दा कसको मन रोमान्चित नहोला ?
सुमसुम्याई राखूँझैँ, त्यही लडीबुडी खेली राखूँझैँ लाग्ने प्रिय थुम्काथुम्की। अनेक थुम्काथुम्की स्पर्श गर्दै शैलुङे डाँडा घुम्दा असीमित आनन्दानुभूति हुन्छ। केही थुम्काका आफ्नै चिनारी पनि छन्। एउटा थुम्काको नाम बाघढुङ्गा। त्यहाँ  बाघको आकारजस्तो ठुलो ढुङ्गा छ, नजिकै गँगटा र गाईको आकारका ढुङ्गा पनि छन्। अर्को थुम्कामा पुग्दा देखिन्छ बौद्ध धर्मावलम्बीको पूजास्थल।

अर्को थुम्कामा पुग्दा जार काट्ने तरबार देख्न सकिन्छ, ढुङ्गाकै। त्यहाँबाट केही पाइला हिँडेर अझै अगाडीको थुम्कामा पुङ्दा पद्मसम्भवका पाइलालाई पनि ढुङ्गाको मूर्तिमा सुरक्षित गरेर राखेको देख्न सकिन्छ।

थुम्कामै रहेको शैलुङ देवीथानमा पुगेपछि केही शेर्पा दिदीबहिनीहरूले प्रार्थना गर्न सुरु गरे आफ्नै भाषामा। एउटै लयमा सबैले गाए, ‘सोसो ल्हार ग्यालो...।’ भाषा नबुझेर के भयो त, त्यो लयभित्र निहित मिठास, संवेदना, समर्पण, श्रद्धाभावजस्ता पक्षले ध्यान तान्यो मेरो।
नजिकै राजभीर भन्ने ठाउँमा रहेको गुम्बाको आफ्नै प्रसिद्धि छ। त्यहाँ वृद्धाश्रम बनाउने प्रयास भएको स्थानीयबाट सुन्दा खुसी लाग्यो। कामना छ, छिटै पूरा होस् ! जजसले जेजे भने पनि मानवताको पूजा नै ठुलो धर्म हो भन्ने लाग्छ मलाई।

हिन्दू र बौद्धमार्गीहरूको साझा पवित्र भूमिका रूपमा पनि चिनिन्छ शैलुङलाई। जनविश्वसअनुसार बौद्ध परम्पराका प्रथम अवतार साङ्गे म्हार्मोचे, पाँचौं पद्मसम्भव र सातौं गौतम बुद्धले पनि यस क्षेत्रमा तपस्या गरेको उल्लेख गरिन्छ।
प्राकृतिक सौन्दर्यले सजिएको यस क्षेत्रमा प्राचीन कालका अनेक ऋषिमुनि र तपस्वीहरूले तपस्या गरेका यहाँका गुफाहरू पनि हेर्न लायक छन्। शैलुङ्गेश्वर महादेवको मन्दिर पनि एउटा भव्य ओडारभित्र नै छ। त्यहाँ पुग्दा भक्तजनहरू लामबद्ध भएर पूजामा जुटेको देख्न पाइयो। परम्परा, आस्था र विश्वास आआफ्ना।

धार्मिक सद्भाव, समन्वय र सहिष्णुता पनि झल्किन्छ यस क्षेत्रमा। अर्को थुम्काको चैत्यगुम्बाप्रति आस्था प्रकट गरेर शैलुङ्गेश्वर गुफामा पुग्दा त्यहाँका महादेवप्रति पनि श्रद्धा प्रकट गर्दै गरेको दृश्य आफ्नै आँखाले देखेँ। आहा, नेपालीनेपालीबीचको एकताभावलाई धर्म, संस्कृति, परम्पराले पनि कति सुन्दर रूपमा जोडिराखेको छ ! नेपालको जुन भूभागमा पुग्दा पनि भावनात्मक एकत्वको प्रकटीकरण देख्दा निकै खुसी हुन्छु म।

माथिमाथि मसिनामसिना घाँसले मात्र छोपिँदा गलैचा ओछ्याएजस्ता सफा, सुन्दर र हरिया थुम्काहरू। तलतल अनेक बोटबिरुवा र जडीबुटीले घेरिएएका जङगलहरू। गोब्रेसल्ला, डिङग्रे सल्ला, दियालो सल्ला यहाँ देखिएका अनेक थरी सल्लाका रूख चिनाए मलाई एक जना चौरी गोठाला दाइले। खर्सुङ, च्यातु अनि अरू केकेका रूख पनि चिनाए। पाँचऔंले, चिराइतो, मजिटो जटामसी, दाप्सिङ आदि जटिबुटीका नाम खर्र भन्न भ्याए। काँडे भ्याकुर, मिपिर, चाँचर, क्यार्लाङ, ढेडुचरा केकेकेके चराचुरुङ्कीका नाम सुनाए र देखे जति चिनाए पनि। घोरल, मृग, थार, कस्तुर, बँदेल आदि जङ्गली जीवजन्तुको साझा वासस्थान शैलुङ। लाग्यो, वनस्पतिशास्त्र, जीवशास्त्रजस्ता विषयका जिज्ञासुका लागि खुला विश्वविद्यालय हो यस क्षेत्र।

‘वैशाखदेखि असोजसम्म जता हे¥यो त्यतै हरियाली। असोजदेखि पुससम्म पहेँलपुर भुइँफूल। पुसको अन्तिमदेखि फागुनसम्म हिउँले सेताम्मे। फागुनदेखि वैशाखसम्म चिमाल र लालीगुराँस फुलेर ढकमक्क,’ शैलुङका सामाजिक अभियन्ता दाबा सङ्बु शेर्पाले सुनाए, ‘मौसम अनुसारको सौन्दर्यले छाड्दैन शैलुङलाई।’
दुई दिनसम्म चुर्लुम्म डुबेँ म शैलुङको सौन्दर्यमा। प्रकृतिले लेखेको अधिक सुन्दर काव्यको रसास्वादन गरेझैँ लाग्यो। एउटा अलग्गै आभास दिन्छ प्रकृतिको यस्तो सामीप्यले। चौरी पालन शैलुङबासीको एउटा प्रमुख पेसा। खर्कखर्कमा गोठ बनाएर बस्छन् चौरीका गोठाला। चौरी गाईको दूधबाट गोठमै बनाइएको ताजा छुर्पी आफन्तलाई उपहार लैजान मन लाग्यो मलाई पनि।

तेस्रो दिन अर्थात् शैलुङबाट फर्कने बिहान। चौरी गाईको हुलको बीचबाट लुसुक्क पसेँ म एउटा गोठमा। ठूलो ताउलोमा भकभक दूध उमाल्दै थिए चौरीधनी फुर्पा शेर्पा। छुर्पी मात्र किनिएन त्यहाँ, चौरी गाईको दूध पनि चाखियो। शैलुङका पोसिला घाँस र जडिबुटी खाने चौरीको दूधको स्वादको त के बयान गर्नु छ र ?
‘वर्षमा ५ लाख जतिको छुर्पी र घ्यु बेच्ने गरेको छु,’ आफ्नो पसिनाको कमाइप्रति गर्व छ २१ वटा चौरीका धनी फुर्पालाई। चिसो छल्न एकै छिन उनीसँग अँगेनाको छेउमा बसेर गफिँदा उनी मलाई सुनाउँदै थिए, ‘ यही आम्दानीले त काठमाडौँमा पढ्ने दुई छोराको खर्च धानेको छु।’ यिनको पसिनाको कहानी सुनेपछि मेरो मनले भन्यो, ‘क्याबात, शेर्पा दाइ !’  लाग्छ, यस्तै असल मान्छेका इमान र पौरखले नै त मेरो देशको जग धानिएको छ।

 





 


यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...