coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बोलेका असंसदीय शब्दको अभिलेख हेर्न तीन महिना

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा बोलेका शब्द संसदीय र असंसदीय कुन कुन हुन भन्ने हेर्न तीन महिना लाग्ने भएको छ। संसदमा बोलेका शब्दहरुलाई अभिलेखमा लिपिवद्ध गर्न तीन महिना लाग्ने भएपछि प्रधानमन्त्री ओलीले संसदमा बोलेका शब्दको लिखित अभिलेख हेर्न साउन महिनासम्म कुर्नुपर्ने भएको हो।

वैशाख २४ गतेको संसद बैठकमा नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएको प्रश्न दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरो शब्द प्रयोग गरेका थिए। प्रधानमन्त्रीको उक्त शब्दावली संसदीय व्यवस्था नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ती जनाएको थियो। उक्त शब्द संसद्को रेकर्डबाट हटाउन कांग्रेसले माग गरेको थियो। विपक्षीको मागअनुसार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द हटाउन निर्देशन दिएका छन्। सभामुखको निर्देशनपछि संसदले सोहीअनुसार गृहकार्य अघि बढेको छ।

जसबाट प्रधानमन्त्री र प्रतिपक्षी नेपाली कांग्रेसका सांसदसँग भनाभन भएको थियो। असंसदीय शब्द प्रयोग भएपछि सभामुखले वैशाख २५ गतेको बैठकमा असंसदीय शब्द हटाउन ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री ओलीले जेठ १ गते विदेश भ्रमणबाट फर्कने क्रममा आफ्ना शब्द रेकर्डबाट हटाइएको नभई प्रतिपक्षीले बोलेका शब्द मात्र रेकर्डबाट हटाइएको बताएका थिए।

तर, संसद् सचिवालयले सभामुखबाट जे कुराको ध्यानाकर्षण भएको छ त्यो शब्द हटाउने जनायो। ‘सभामुखले प्रधानमन्त्रीले स्पष्टीकरण तथा सांसदको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन निर्देशन दिनु भएको छ। हामी त्यसै गर्छौं,’ संसदीय सचिवालयका ती अधिकारीले भने।
संसद्को कार्यव्यवस्था परामर्श शाखाले संसद्को अभिलेख शाखालाई पत्र पठाउँदै सभामुखले ध्यानाकर्षण गराएका असंसदीय शब्द हटाउन भनेको छ। कार्यव्यवस्थाबाट असंसदीय शब्द हटाउने मात्र भनेको तर कुन कुन शब्द असंसदीय हुन् त्यसलाई टुंगो लगाउन बाँकी नै रहेको संसद् सचिवालयका एक अधिकारी बताउँछन्।

अभिलेख राख्ने बेलामा संसदबाट हटाउन भनेका शब्द मात्र हटाइने छ तर कतिपय शब्दमा निर्णय गर्न गाह्रो भएमा थप छलफल हुने उनले बताए। यस अघिका अधिवेशनमा पनि असंसदीय शब्द रेकर्डबाट हटाइएको छ। संसद्मा प्राविधिक जनशक्तिको कमी भएका कारण अभिलेख शाखा अहिले तेस्रो अधिवेशनमा सांसदले बोलेका विषयहरु मात्र अभिलेखमा राख्ने क्रममा छ।

तेस्रो अधिवेशन पुस ११ देखि चैत १० गतेसम्म चलेको थियो। चौथो अधिवेशनको छैठौं बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका शब्द रेकर्डबाट हटाउन ध्यानाकर्षण भएकाले उनले बोलेको अभिलेख हेर्न साउन महिना पुग्ने अभिलेख शाखाले जनाएको छ। संसद्को दोस्रो अधिवेशनमा गत साउन १७ गते राजपाका सांसद प्रमोद साहले मार्ने मान्छे प्रधानमन्त्रीदेखि सभामुखसम्म भएको बताएपछि त्यसलाई कृष्णबहादुुर महराले रेकर्डबाट हटाउन लगाएका थिए।

नेकपाका गजेन्द्र महले भदौ ८ गतेको संसद् बैठकमा बोलेका शब्दलाई सभामुख महराले कुन असंसदीय शब्द हुने अध्ययन गरेर रेकर्डबाट हटाउन ध्यनाकर्षण गरेका थिए। त्यसको तीन महिना पछि अभिलेख तयार गरिएको थियो।

प्रकाशित: ४ जेष्ठ २०७६ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App