coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आयोग सदस्यसँग कैदीबन्दीको गुनासो

कारागारका कैदी, बन्दीका गुनासा सुन्दै आयोग सदस्य पाठक। तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्ला कारागारका कैदी, बन्दीले आफूहरुको जेल बसाइ सकसपूर्ण भएका गुनासो गरेका छन्। कारागार अनुगमनका आएका राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीपराज पाठकसँग उनीहरुले जेलभित्रको जीवन निसासिँदो रहेको दुःखेसो पोखेका हुन्।

भूकम्पबाट क्षतिग्रस्त यो कारागारमा क्षमताको १२ गुणाभन्दा बढी कैदी, बन्दी राखिएका छन्। यहाँ एक सय १५ कैदी, बन्दी राखिएका छन्। पाठक कारगारभित्र प्रवेश गर्दा कैदी, बन्दी आफ्ना कोठा र शयन कक्षमा सुस्ताइ रहेका थिए। उनीहरुको अवस्था देख्दा लाग्थ्यो, कारागारभित्रको बसाइ अस्तव्यस्त छ।

‘हामी कोचिएर उकुसमुकस साथ बसिरहेका छौँ,’ कैदी, बन्दीले अधिकारकर्मी पाठकलाई सुनाए, ‘एउटै कोठामा २४ जनासम्म बसेका छौँ।’ कारागार प्रशासनका अनुसार यहाँको क्षमता नौ जनाको मात्र हो। कैदी, बन्दीका अनुसार कारागारभित्र उभिएर हात, खुट्टा तन्काउने थोरै ‘स्पेस’ सम्म छैन। पर्याप्त शौचालय छैनन्। भएका दुईवटा शौचालय हरेक बिहान लामो समय जाममा पर्छ। खेलकुदको व्यवस्था छैन। इलम गर्ने प्रवन्ध हुन टाढैको कुरा थियो। यतिसम्मकी सानो पुस्तकालयसम्म छैन।

‘हिँडडुल गर्ने स्थान नहुँदा शरीरका हाडजोर्नी कट्कट् खान्छ,’ कैदी, बन्दीको गुनासो थियो। उनीहरुको कारुणिक अवस्था देखेर आयोग सदस्य पाठक भावुक बने। कैदी, बन्दीले भोगेका समस्या हल गर्न सरकारलाई सmुझाव दिने प्रतिवद्धता उनले जनाए। सँगै उनीहरुलाई ढाडस दिन भ्याए। ज्ञानगुणका कुरा सिकाए। बिगत भुलेर बर्तमानमा रमाउन सुझाए। आत्मबल बलियो बनाउन आग्रह गरे। ‘कानुनी ढंगले जेलबाट निस्कने कुरा सोच्नुहोस्,’ पाठकले कैदी, बन्दीलाई भने, ‘निस्केर गएपछि समाजमा पुनःस्थापित हुनेबारे योजना बनाउहोस्।’

आफूलाई सुधार गर्दै जेलबाट निस्केपछि उदाहरणीय बनेर देखाउन पाठकले उर्जा थपे। ‘समाजमा आफूलाई उत्पादनमूलक काममा लगाउनुस्,’ २०५६ अघि विद्यार्थी आन्दोलनमा आफू पनि पटक–पटक गरी तीन वर्ष जेल परेको सुनाउँदै उनले त्यतिबेला सकरात्मक सोचका साथ आत्मबल बलियो बनाएको बताए। ‘मान्छेले चाहे आफूलाई एकै दिन परिवर्तन गर्न सक्छ,’ सिद्धार्थ गौतम बुद्ध बनेको उदाहरण पेश गर्दै उनले भने।

सुविधा सम्पन्न यो कारागार भवन २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनायो। त्यतिबेला कारागारबाट २ सय १७ कैदी, बन्दी भागेका थिए। समय सहज बन्दै जाँदा कतिपय कैदी, बन्दी आफैँ सम्पर्कमा आए भने केहीलाई प्रहरीले पक्रियो। अझै केही कैदी, बन्दी फरारै छन्। भूकम्पपछिको लामो समय यो कारागार सञ्चालनमा आउन सकेन।
अन्यत्रबाट कैदी, बन्दीलाई अदालती, कानुनी र अनुसन्धानको क्रममा जिल्लामा ल्याउने र फर्काउने गर्दा झञ्झट बेहोर्नु परेपछि कम क्षतिग्रस्त महिला कारागार भवन सामान्य मर्मत गरी वर्षअघि सञ्चालनमा ल्याइएको थियो। स्थान नहुँदा यहाँ महिला कैदी, बन्दी भने राखिँदैनन्।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले ठाउँ नहुँदा धेरै कैदी, बन्दी राख्न बाध्य हुनु परेको बताइन्। उनले कैदी, बन्दीको हितलाई ध्यान दिँदै हिँडडुल र सामान्य शारीरिक कसरत गर्न कारागार परिसरमा थोरै खाली निकाल्ने र शौचालय थप्ने तयारी भइरहेको बताइन्।

प्रकाशित: ४ जेष्ठ २०७६ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App