५ वैशाख २०८१ बुधबार
राजनीति

नेकपाका एक वर्ष : नीति भन्दा व्यक्ति हावी

काठमाडौं– ठीक एक वर्ष अगाडि आजकै दिन राष्ट्रिय सभागृहको हलमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए ‘कतिलाई लाग्ला नेकपामा किन दुई अध्यक्ष? टेम्पो चलाएको हो र? ‘जेट विमान’मा दुई जना नै पाइलट हुन्छन्।’ दुई अध्यक्ष राखेको विषयमा सर्वत्र आलोचना हुन थालेपछि ओलीले अन्य पार्टीलाई थोरै अट्ने सानो टेम्पोको संज्ञा दिएर आफ्नो पार्टीलाई धेरै अट्ने ‘जेट विमान’को रुपमा प्रस्तुत गरेका थिए। दुई पार्टीबीचको एकता र ओलीले बोलेको उक्त वाक्यले आज ठिक एक वर्ष पूरा गरेको छ।

त्यसोत पार्टी एकताको एक वर्षसम्म नेकपा नीतिले भन्दा पनि व्यक्तिको निर्णय बढी हाबी भएको छर्लङ्गै देखिन्थ्यो। दुई अध्यक्षकै ठाडो आदेशमा पार्टी सञ्चालन भइरह्यो।

एक वर्षको अवधिमा ओलीले भनेको नेकपाको ‘जेट विमान’ ले गती लिन सकेन। तर एक वर्ष पुग्ने अन्तिमतिर ‘जेट विमान’ले उडान त भर्न खोज्यो तर पुरै यात्रु पनि अटाउन सकेन, अर्थात एकता प्रक्रियाको सबै काम टुंग्याउन सकेन्।

त्यसोत पार्टी एकताको एक वर्षसम्म नेकपा नीतिले भन्दा पनि व्यक्तिको निर्णय बढी हाबी भएको छर्लङ्गै देखिन्थ्यो। दुई अध्यक्षकै ठाडो आदेशमा पार्टी सञ्चालन भइरह्यो। पार्टी एकता घोषणापछि नेकपाले तीन महिनाभित्र एकता प्रक्रियालाई टुंग्याउने भने पनि त्यो सम्भव भएन। वर्ष दिनको अवधिमा केन्द्रीय सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र जनवर्गीय संगठनको नेतृत्व टुंगिएको छ।

एक वर्षको बैठकमा के–के भयो ?

पार्टी एकताको एक वर्ष पूरा हुँदा नेकपाको केन्द्रीय समितिको बैठक जम्मा एक पटक बस्यो। लामो समयसम्म केन्द्रीय समितिको बैठक नबसेपछि गत फागुन ११ गते नौ जना केन्द्रीय सदस्यले बैठक माग गर्दै अध्यक्षद्वयलाई सम्बोधन गरेर महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएका थिए।

त्यसैगरी नेकपाको स्थायी कमिटी बैठक पनि दुई पटक मात्रै बसेको छ। ०७५ को दसैं अघि र ०७५ मंसिर २८ देखि पुस १३ सम्म बैठक बसेको थियो। पहिलो स्थायी कमिटी बैठकमा सामान्य छलफल मात्र भएको थियो। उक्त बैठकले केहि निर्णय गर्न सकेन्। दोस्रो स्थायी कमिटी बैठकमा नेता वामदेव गौतमले फरक मत व्यक्त गरेका थिए। अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमाथि भीम रावल र हरिबोल गजुरेललगायतले सुझाव दिएका थिए। त्यसपछि एकता प्रक्रिया टुंग्याउनका लागि उक्त बैठकले नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाएको थियो। स्थायी कमिटी बैठकमा केहि सदस्यहरुले दिएको सुझाव नसमेटिएको भन्दै नेकपाको राजनीतिक प्रतिवेदन अहिलेसम्म छापिन सकेको छैन्।

एकता प्रक्रिया टुंग्याउन नेकपाले चार वटा कार्यदल बनाएको थियो। एकता प्रक्रिया टुंग्याउन बनेको नेकपाको सबै कार्यदल खारेज भइसकेको छ, तर एकता प्रक्रियाको काम भने अझैं टुँगिन सकेको छैन्। नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार अध्यक्षद्धयको हस्तक्षेपपछि कार्यदल खारेज भएको हो।

पहिलो कार्यदलमा एकीकरणको लागि कमिटी गठन

प्रवास एकीकरणका लागि नेकपाले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएको थियो। जसमा बिन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठक सदस्य थिए। प्रदेश १ एकीकरणका लागि भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले सदस्य रहेको कमिटी गठन गरेको थियो। प्रदेश २ एकीकरणका लागि सत्यनारायण मण्डल, विश्वनाथ शाह, नागेन्द्र चौधरी र प्रभु साह सदस्य थिए। प्रदेश ३ एकीकरणका लागि अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल सदस्य रहेका थिए। गण्डकी प्रदेश एकीकरणका लागि किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी सदस्य रहेका थिए। प्रदेश ५ एकीकरणका लागि शकंर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन सदस्य रहेका थिए। कर्णाली प्रदेश एकीकरणका लागि युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा थिए। सुदूरपश्चिम प्रदेश एकीकरणका लागि भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी सदस्य थिए।

पहिलो कार्यदललाई सघाउन दोस्रो कार्यदल

नेकपाको दोस्रो कार्यदलमा भने पहिलो कार्यदललाई सहयोग गर्न गठित जिल्लास्तरीय कार्यदल बनेको थियो। जसमा पूर्वएमाले र पूर्वमाओवादीका सबै जिल्लाका इन्चार्ज, सहइन्चार्ज र पदाधिकारी रहेका थिए। जिल्ला तहको संख्या प्रदेशमा बनेको कार्यदललाई बुझाउने दोस्रो कार्यदलको जिम्मा थियो।

प्रदेश कमिटी टुंग्याउन तेस्रो कार्यदल

तेस्रो कार्यदल दुई सदस्यीय बनेको थियो। जसमा रामबहादुर थापा बादल र विष्णु पौडेल सदस्य रहेका थिए। उनीहरुले प्रदेश कमिटीको सदस्यको खाका पेस गर्ने थियो। अहिले नेकपाको प्रदेश कमिटी टुंगिएको छ।

चौथो कार्यदल विघटनपछि असन्तुष्टीका चाङ

नेकपाको चौथो कार्यदल रामबहादुर थापा बादल, विष्णु पौडेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लेखराज भट्ट, शंकर पोखरेल, बेदुराम भुसाल र रघुवीर महासेठ गरी नौ सदस्यीय बनेको थियो। उक्त कार्यदलले पोलिटब्युरो गठन, विधान परिमार्जन, प्रदेश कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र तल्लो तहको एकता प्रक्रियाको कामको खाका तयार पारेर पुस मसान्तसम्म बुझाउनुपर्ने जिम्मेवारी दिइएको थियो। तर यो कार्यदल पनि विघटन भयो।

सचिवालयले ९ फागुनमा एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन बनेको कार्यदल भंग गराएपछि नेकपामा फेरि विवाद शुरु भयो। कार्यदल विघटन भएपछि कार्यदलमा रहेका ९ सदस्यमध्ये ५ जना सदस्यहरु वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्टले असन्तुष्ट जनाएका थिए। उनीहरुले फागुन १२ गते ७ पृष्ठ लामो ८ बुँदे समानान्तर प्रतिवेदन समेत बुझाए। कार्यदललाई  सचिवालयबाट भंग गराउने काम पार्टी विधानको धारा ३३ (ग) विपरीत भएका उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। उनीहरूले पोलिटब्युरो सदस्य नभएको जिल्लामा वरिष्ठतम केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज बनाउनुपर्ने लगायतका सुझाव दिएका थिए। उक्त प्रतिवेदनमा उल्लेख भएअनुसार विधानको धारा १८ (घ) २ अनुसार १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्दा केन्द्रीय कमिटीमा रहेको पूर्वघटकको सदस्य संख्याको अनुपातमा राख्नुपर्ने छ। त्यस्तै २२१ सदस्यीय सल्लाहकार प्रस्ताव गरिएको थियो। कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलको अनिच्छाले काम हुन नसकेको आरोप लगाइएको थियो।

माधव नेपालको 'माझी छौ कि कोहि किनारा लगाइदेउ’ प्रसंग

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र माधवकुमार नेपाल ०७५ असोज ५ गते देश बाहिर गएको बेला नेकपाको सचिवालय बैठक बसेको बसेको थियो। उक्त बैठकले पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो। तर नेता नेपालले फरक मत राखेका थिए। नेपाल स्वदेश आएलगत्तै ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिका गएका थिए भने दाहाल श्रीमती सीताको उपचारको लागि थाइल्याण्ड गएको बेला कार्यबाहक अध्यक्ष नेता नेपालले पाए। कार्यबाहक अध्यक्ष भएकै बेला ०७५ असोज ११ गते संसदमा उनले ‘मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेउ, माझि छौ कि कोहि किनारा लगाइदेउ’ भन्दै गर्जिएपछि नेकपाभित्रको विवाद सतहमै छताछुल्ल भयो। त्यसोत दुवै अध्यक्ष देशबाहिर रहेका बेला नेपालले स्थायी कमिटी सदस्यहरुलाई बोलाएर बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा चियापान आयोजनासमेत गरेका थिए।

आरोह अवरोहका एक वर्ष

नेकपाका नेता खिमलाल देवकोटाका अनुसार नेकपाको एक वर्ष सुखदसँगै दुःखद रहेको बताउँछन्। ‘धेरै योजना पनि बनेको थियो, एकतापछि देशभर ठूला सभाहरु गर्ने भन्ने थियो। तर यो पूरा हुन सकेन्। हुन त एक वर्षको अवधिमा त्यति धेरै काम त गर्न सकिदैन तर कार्यकर्ताले नेताहरुसँग जे अपेक्षा राखेका थिए त्यो पनि पूरा हुन सकेन। त्यसो केन्द्रीय कमिटीको बैठक नबस्दा केन्द्रीय सदस्यहरुले आफ्ना कुराहरु राख्न पाएनन्। यो भने अलि दुःखद नै रह्यो। तर हजारौं नेता र कार्यकर्ताको व्यवस्थापन गर्ने जटिल काम गरेकाले सुखद पनि रह्यो।’

उनका अनुसार एकता प्रक्रियालाई टुंग्याउन नदिन धेरै भित्रि र बाहिरि शक्तिहरुले न्वारनदेखिको बल लगाएर चलखेल गरेका थिए। नेकपाकै नेताहरु प्नि इगो र बार्गेनिक गर्न थालेको उनले बताए। ‘नेकपाको जेट विमानले बिचमा अलि गति लिनुपथ्र्यो तर लिन सकेन’ देवकोटाले नागरिकन्यूसँग भने ‘अब उडान भर्दैछ।’

 

 

 

प्रकाशित: ३ जेष्ठ २०७६ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App