८ वैशाख २०८१ शनिबार
समाज

आरन पेसा जोगाउनै मुस्किल

भानु नगरपालिका–५ मैवलमा आरनमा हसिँया अर्जाप्दै। तस्बिरः नागरिक

तनहुँ– पुख्यौली पेसा गरेर जीविका चलाउँदै आएका मैवलका स्थानीय दलसिंह विकलाई पेसा लोप हुने चिन्ता छ। पेसा लोप हुने समस्यासँगै जीवन गुजारा गर्न निकै कठिन भएको उनी बताउँछन्।

भानु नगरपालिका–५ मैवल बस्दै आएका विकको पुर्खेली पेसा लोप हुने अवस्थामा पुगेको छ। लामो समयदेखि हँसिया, खुर्पा, बन्चरो बनाएर परिवार पाल्दै आएको विकले बजारमा आएका आधुनिक सामग्रीका कारणले आफ्नो पेसा संकटमा पर्दै आएको बताए। ‘बजारमा अहिले आएर आधुनिक हातहतियार र भाँडाकुडा आउने हुँदा आफूले बनाउँदै आएको हँसिया, खुर्पालगायतका सामग्री बिक्दैनन्,’ उनले भने, ‘बनाउनसमेत आउँदैनन्।’

पुर्खादेखि गर्दै आएको आरन पेसाले परिवार पाल्न कठिन भएपछि पेसाबाट नै विस्थापित हुन अवस्थामा पुगेको विकले बताए। फलामलाई आगोमा पगालेर बनाइने सामग्री र बजारमा आयातीत सामग्रीको गुणस्तरमा धेरै फरक हुन्छ। बजारमा सस्तो पाइने हुँदा आफ्नो आरनमा कारोबार नै ठप्प हुन पुगेको विकले बताए। विगतमा यही पेसाको माध्यमबाट परिवार पाल्दै आए पनि अबको पुस्ता यो पेसाबाट गुजारा गर्न नसक्ने विकले बताए।

‘फलामलाई कोइलामा ताप दिएर आकार दिँदै बनाइने खुर्पालगायतका औजार बलियो र किफायती भए तापनि समयको गतिसँगै विस्थापित भएर जाने क्रममा रहेको छ,’ उनले भने।

बजारमा आएको प्लास्टिकलगायत मेसिनबाट निर्मित औजार सस्तो भएसँगै यो पेसा बिस्तारै विस्थापित हुन लागेको बताए। ‘आरन पेसाबाट मासिन दुई हजार पनि कमाइ गर्न गारो भएको छ,’ विकले भने।

आरन पेसाबाट गुजारा गर्न कठिन भएपछि अब के गर्ने भन्ने समस्या भएको विकले बताए। ‘मैले जानेको यही पेसा हो, यसबाट परिवार पाल्दै आएको थिएँ, अब भने पेसाबाट विस्थापति हुने भइयो,’ विकले चिन्ता व्यक्त गरे, ‘विगतका वर्षहरूमा आरनमा हँसिया, कोदालो, बन्चरो बनाउन आउने मानिसको संख्या अत्यधिक थियो अहिले सबै हरायो,’ उनले भने।

प्रकाशित: ३ जेष्ठ २०७६ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App