८ वैशाख २०८१ शनिबार
समाज

एक तिहाइभन्दा कम जनसंख्या रोजगारीमा

पोखरा–गण्डकी प्रदेशमा कुल श्रमशक्तिको एक तिहाइभन्दा कम जनसंख्या मात्र रोजगारीमा रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक विभाग घरपरिवार सर्वेक्षण शाखा काठमाडौंले बिहीबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी तथ्यांक विभागले गत २०७४ साल असारदेखि २०७५ साल जेठ मसान्तसम्ममा गरेको सर्वेक्षणमा १५ वर्ष वा सोभन्दा माथि उमेर समूहको एक तिहाइभन्दा कम जनसंख्या रोजगारीमा रहेको तथ्यांक सार्वजनिक गरेको हो।

गण्डकी प्रदेशमा १५ वर्ष वा सोभन्दा माथि उमेर समूहको जनसंख्या १८ लाख ६८ हजार रहेको छ। त्यसको ३२।४४ प्रतिशत रोजगारीमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। गण्डकी प्रदेशमा ६ लाख ६ हजार श्रमशक्ति रोजगारीमा रहेको केन्द्रीय तथ्यांक विभाग घरपरिवार सर्वेक्षण शाखा काठमाडौंका अधिकृत पृथ्वीविजयराज सिजापतिले जानकारी दिए। रोजगारीमा रहेका ६ लाख ६ हजारमध्ये तीन लाख ४० हजार पुरुष र दुई लाख ६६ हजार महिला रहेको उनले बताए। रोजगारीमा रहेका श्रमशक्तिमध्ये तीन लाख ८८ हजार सहरी क्षेत्रमा र दुई लाख १८ हजार ग्रामीण क्षेत्रमा रहेको पनि तथ्यांकले देखाएको छ। विभागका अनुसार रोजगार जनसंख्याको ६८ प्रतिशत सहरी क्षेत्रमा र ३२ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको देखिएको छ।

देशको कुल जनसंख्याको ३४.२ प्रतिशत रोजगारीमा रहेको पनि जनाइएको छ। नेपालमा १५ वा सोभन्दा माथि उमेर समूहका जनसंख्या कुल दुई करोड सात लाख ४४ हजार रहेको छ। जसमध्ये ७० लाख ८६ हजार जनसंख्या रोजागरीमा रहेको तथ्यांकले देखाएको छ।

गण्डकी प्रदेशमा १५ वर्ष वा सोभन्दा माथि उमेर समूहका १८ लाख ६८ हजार जनसंख्यामध्ये ३२.४४ प्रतिशत रोजगारीमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

तथ्यांक विभागले १५ वर्ष वा सोभन्दा बढी उमेर समूहका ६० हजार जनसंख्या बेरोजगार रहेको जनाएको छ। बेरोजगारमध्ये बसोबासको आधारमा ४५ हजार जनसंख्या सहरका छन् भने बाँकी १५ हजार ग्रामीण क्षेत्रमा रहेको छ। देशमा १५ वा सोभन्दा माथि उमेर समूहको कुल जनसंख्यामध्ये नौ लाख आठ हजार जनसंख्या बेरोजगार रहेको जनाइएको छ।

विभागका अनुसार रोजगार र बेरोजगारबाहेक अन्यलाई घरायसी काम गरे पनि अन्य ठाउँमा काम पाए पनि नगर्ने जनशक्तिको रूपमा परिभाषित गरेको छ। १५ वर्ष वा सोभन्दा बढी उमेर समूहका १२ लाख दुई हजार जनसंख्या जागिर पाए पनि नगर्ने खालको जनसंख्या रहेको स्पष्ट पारेको छ।

गण्डकी प्रदेशमा बेरोजगारी दर नौ प्रतिशत रहेको छ। गण्डकीमा पुरुषको बेरोजगारी दर ९.४ प्रतिशत रहेको छ भने महिलाको बेरोजगारी दर ८.४ प्रतिशत रहेको विभागले जनाएको छ। बेरोजगारी दर सहरमा १०.३ प्रतिशत र ग्रामीण क्षेत्रमा ६.५ प्रतिशत रहेको विभागका निर्देशक शिवाकोटीले जानकारी दिए।

गण्डकी प्रदेशमा श्रमशक्ति सहभागिता दर ३८.५ प्रतिशत रहेको र त्यसको ४१.७ प्रतिशत सहरमा र ३२.९ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको जनाइएको छ। गण्डकीमा पुरुष श्रमशक्तिमा सहभागिता दर ५३.८ प्रतिशत र महिलाको २६.३ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

गण्डकी प्रदेशमा मुख्य काममा अक्सर काम गर्ने समय हप्तामा ४५ घण्टा रहेको छ। पुरुषको साप्ताहिक काम गर्ने समय ४८ घण्टा र महिलाको ३९ घण्टा रहेको तथ्यांकले देखाएको छ। अर्थतन्त्रको हिसाबले हेर्दा औपचारिक ३९.७ र अनौपचारिक ६०.३ प्रतिशत रहेको तथ्यांकले भनेको छ। रोजगारीको हिसाबले औपचारिक १७.१ प्रतिशत र अनौपचारिक ८२.९ प्रतिशत रहेको जनाइएको छ।

गण्डकी प्रदेशको तलब ज्याला प्राप्त गर्ने औसत मासिक आम्दानी १९ हजार रहेको तथ्यांकले देखाएको छ। तलब ज्याला पुरुषले मासिक २३ हजार एक सय ६ रुपैयाँ र महिलाले मासिक १२ हजार आठ सय तीन रुपैयाँ प्राप्त गर्ने गरेको उल्लेख छ।

रोजगारीको वितरणअनुसार गण्डकी प्रदेशमा कृषिमा २१.५, वनमा १७.५, माछापालनमा १५.१, थोक तथा खुद्रा बिक्रीमा १३.८ र मोटरगाडी तथा मोटरसाइकल मर्मत–सम्भारमा ७.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

तथ्यांक सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा।गिरिधारी शर्माले तथ्यांकले प्रदेशको योजना बनाउन सहयोग पुग्ने बताए। उनले अनौपचारिक पेसाका कारण रोजगारले पनि भनेजस्तो तलब नपाएको भन्दै अनौपचारिक पेसा/व्यवसायमा ढाल्नुपर्नेमा जोड दिए। उनले घरबाटै वर्क कल्चर सिकाउनसके भविष्यमा बेरोजगारको संख्या घट्ने बताए।

प्रकाशित: ३ जेष्ठ २०७६ ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App