४ वैशाख २०८१ मंगलबार
राजनीति

सीमामा भारतको लापरवाहीपूर्ण निर्माणले नेपाली क्षेत्रमा समस्या

भारतीय सडक निर्माणका कारण भत्किएको बाटो

दार्चुला- दार्चुलाको उत्तरी ब्याँस गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा  निर्माणाधिन सडकले नेपालमा क्षति पर्‍याउँदै आएको छ। भारतमा सडक निर्माणको बहानामा नेपाली भुमीको दोहन समेत  भईरहेको  छ। सीमा पारी निर्माण हुने सडकमा प्रयोग गरिएका विष्फोटक पदार्थले नेपाल तर्फ गम्भीर क्षति पर्याएको, पैदल मार्ग समेत भत्किएको  र वन पैदावार समेत नोक्सान पुगेको छ।

भारतले सीमाक्षेत्रमा बनाइरहेको सडक निर्माणका कारण नेपालतर्फको पैदलमार्ग  पूर्ण अवरुद्ध भएको छ। हाल भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत लखनपुर, नजङ, मालपा, लामारी, बुदी क्षेत्रमा भारतले सडक निर्माण गरिरहेको छ।

महाकाली नदीको किनारै  किनारमा भइरहेको सडक निर्माणले नेपाली बाटो क्षतिग्रस्त बनेको व्यास क्षेत्रका स्थानीयले बताएका छन्। सडक निर्माणमा अत्यधिक जिलेटिनको प्रयोग गरिएको छ। विस्फोटले ठूल्ठूला ढुंगा महाकाली नदीमा जम्मा हुँदा नदीको वहाव नै रोकिएको छ। घाटिबगड क्षेत्रमा महाकाली नदीमा कृतिम ताल बाँधिएको व्यास गाउँपालिका वडा नम्बर १ का स्थानीय दानसिह तिंकरीले बताए ।

भारततर्फको सडक निर्माणमा जिलेटिन विस्फोट गरिदा नेपालतर्फ ठूल्ठूला ढुंगा पुगेका छन्। उनले भने,‘व्यास गाउँपालिका वडा नम्बर २ तम्बाकुदेखि माथि बुँदीसम्मको क्षेत्रमा नेपालतर्फको पैदलमार्ग ठाँउठाँउमा क्षतिग्रस्त भएको छ।’  कडाँ चट्टानी भूभाग भएकाले सडक निर्माणमा अत्यधिक विस्फोटक पदार्थ प्रयोग गरिएको छ। करिब १० किलोमिटर लामो क्षेत्रमा ठाँउठाँउमा महाकाली नदीको वहाव अवरुद्ध हुनुका साथै नेपालतर्फको बाटो क्षतिग्रस्त भएको व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिह बोहराले बताए।  व्यास गाउँपालिकाले गत वर्ष र चालु वर्षमा मर्मत गरेको व्यास जोड्ने पैदलमार्गमा समेत  क्षति पुगेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिह बुढाथोकीले बताए। व्यास गाउँपालिकाले मर्मत गरेको पैदलमार्गअन्तर्गत घाटिबगड क्षेत्र डुवानमा परेको छ। उनले भने, ‘भिरालो र चट्टानी भूबनोट भएकाले अर्को विकल्प छैन, त्यसक्षेत्रमा आवतजावत बन्द भएको छ।’

बाटो मर्मत गर्न भारतीय पक्षको ढिलाई

भारतीय सडक निर्माणका कारण क्षतिग्रस्त भई अवरुद्ध भएको नेपालको पैदलमार्ग सुचारु गर्न भारतीय पक्षले ढिलाई गरेको छ। डेढ महिनाअघि पिथौरागढमा सम्पन्न सीमा बैठकमा दुई देशका अधिकारीबीच स्थलगत निरीक्षण गरी आपसी समन्वयमा  पैदलमार्ग तत्काल मर्मत गर्ने सहमति भएको थियो।

चैत्र १७ गते भएको सीमा बैठकको छलफल र सहमतिअनुसार भारतीय पक्षले क्षतिग्रस्त बाटोको मर्मत गर्न पहल  गर्नुपर्ने  प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टल बताए। ‘हामीले भारतीय पक्षलाई यसबारे  निन्तर समन्वय र पत्राचार समेत गरेका छौ।’ सीमा बैठकमा भारतीय सडक निर्माणले महाकाली नदीको वहाव प्रभावित भएको र नेपालतर्फको बाटो क्षतिग्रस्त भएकोबारे नेपाली पक्षले ध्यानाकर्षण गराएको थियो। उक्त बैठकमा पिथौरागढका डिएमले ‘तत्काल स्थलगत निरीक्षण गरी महाकालीको वहावमा भएको अवरोध हटाउन र नेपालतर्फको बाटो निर्माण गर्न धारचुलाका एसडिएमले मौखिम निर्देशन समेत दिएका थिए। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा बैठकको सहमति कार्यान्वयन गर्न पिथौरागढका डिएमलाई पत्राचार गरेको छ। वैशाख १० गते गरिएको पत्राचारमा चैत्र १७ गते सम्पन्न बैठकको निर्णयअनुसार यथाशीघ्र सहमति कार्यान्वयनको व्यवस्था गर्न आग्रह गरिएको छ।

भारतीय सडक निर्माणका कारण व्यास गाउँपालिकाको वडा नम्बर २ घाटिबगडदेखि वयाली  धारसम्मको क्षेत्रमा पैदलमार्ग क्षतिग्रस्त भएको नेपाली प्रशासनको भनाई छ। महाकाली नदी किनारमा थुप्रिएको ढुंगा, माटो हटाई पानीको प्राकृतिक वहाव सुचारु गर्न भारतीय पक्षलाई आग्रह गरिएको छ। ‘क्षतिग्रस्त मार्ग पुनर्निर्माणमा सहयोग एवं सिमा क्षेत्रमा निर्माण कार्य गर्दा एकअर्कोको क्षेत्रमा असर नपर्ने गरी समन्वय गर्ने’ बैठकको निर्णय समेत भारतीय पक्षलाई स्मरण गराइएको छ।

नेपालको पैदलमार्ग अवरुद्ध हुँदा व्यास क्षेत्रको आवतजावतमा समस्या भएपछि जनप्रतिनिधि र स्थानीयवासीले स्थानीय प्रशासनलाई सहयोगका लागि अनुरोध गरेका छन्। व्यास क्षेत्रको बसाईसराईनै प्रभावित बनेकाले यसबारे तत्काल पहल गरी बाटो मर्मत गराउन प्रशासनलाई अनुरोध गरिएको व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिह बोहराले बताए ।  हाल महाकाली नदी किनारको उत्तरतिर दुम्लिङ मात्रै नेपाल प्रहरीको उपस्थिति रहेको छ। अहिले बाटो भत्किएको  र महाकालीको बहाव थुनिएको क्षेत्र प्रहरी चौकीबाट चार  घण्टादेखि आठ घण्टासम्मको दूरीमा पर्छ।

 

 

 

 

 

 

 

प्रकाशित: ३ जेष्ठ २०७६ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App