८ वैशाख २०८१ शनिबार
अन्य

‘वडावासीलाई खुसी पारेको छु’

गणेश केसी, वडा अध्यक्ष ललितपुर महानगरपालिका–१३

जनप्रतिनिधिको रूपमा निर्वाचित भएर काम गरिरहँदा कस्तो अनुभूति भइरहेको छ?
नयाँ र जिम्मेवारीपनाको अनुभूति भइरहेको छ। यसरी जनताका समस्यामा प्रत्यक्ष सामेल भएर काम गर्ने अधिकार पाउँदा खुसी लागेको छ। यसलाई मैले एउटा अवसरको रूपमा लिएको छु। आफ्नो वडामा विकास निर्माणको योजनाकार बन्नु एउटा ठूलो अवसर पनि हो। लामो समयदेखि समस्या भोग्दै आएका जनतालाई विकास निर्माण र उनीहरूका अन्य आवश्यकता परिपूर्ति गर्दै काम गरिरहेका छौं। जनताको समस्यालाई केन्द्रमा राखेका छौं। प्रशासनिक कार्यलाई व्यवस्थित र चुस्त पारेका छौं। सबैभन्दा पहिले कम्तिमा उहाँहरूमा आधारभूत आवश्यकता पूरा गरौं भन्ने सोचमा काम भइरहेको छ।

निर्वाचित भएयता जनताले महसुस गर्ने किसिमका के–के काम गर्नुभयो?
धेरै काम भएका छन्। काठमाडौंमा सबैभन्दा ठूलो समस्या खानेपानी नै हो। मेलम्ची आउँछ भन्ने हिसाबमा पाइप ओछ्याइएको छ। दिव्यनगर, कुसुन्ती हाइट, पञ्चेश्वर साइटलगायत धेरै ठाउँमा पाइप हालियो। तर, मेलम्ची आउने योजना टाढिएको छ। मेलम्ची समयमै नआउने भएपछि खानेपानीको बन्दोवस्त मिलाउने, भूकम्पपीडितका समस्या हल गर्ने, शिक्षा, स्वास्थ्य, यातायात र सडकको क्षेत्रमा धेरै काम भएका छन्। यहाँ फर्पिङको पानी मेरो वडामा आउँछ। यो पर्याप्त छैन। म आए पनि आदर्श टोल, दिव्यनगर र अल्का पछाडिको सडक कालोपत्रे भएको छ। कुसुन्तीको धेरै ठाउँमा ब्लक राखेका छौं। ढल व्यवस्थापन पनि भइरहेको छ। नख्खुमा १५ लाखसम्मको ढलको काम भयो। यसबाहेक कुसुन्ती हाइटबाट पञ्चेश्वरसम्मको बाटो चौडा भएर कालोपत्रे हुँदैछ। अन्य सांसद पम्फा भुसालले पनि यस क्षेत्रको सडकमा बजेट हाल्नुभएको छ। यसबाहेक चक्रपथ सडक निर्माणको क्रममा भएको गल्ती पनि सच्याइरहेका छौं। ठेकेदारले ढल व्यवस्थापन राम्ररी नगरेकोले चक्रपथमा ढलको समस्या देखिएको छ। वर्खामा यो समस्याले झन् सास्ती हुन्छ। मेरो क्षेत्रकै मचगामा क्रियापुत्री भवन बन्दै छ। कुसुन्तीमा पनि नक्सा तयार भएको छ।

वडावासी कस्तो कस्तो समस्या लिएर आउँछन्?
त्यस्तो ठूलो समस्या बोकेर आउनुहुन्न। उहाँहरू सामान्य सडक, घरभित्रको झगडा, साँध सिमाना तथा खानेपानीको समस्यालगायत लिएर आउनुहुन्छ। मैले उहाँहरूको समस्या हेरेर समाधान गरेको छु। अब राजनीति गर्दिनँ भन्ने सोच राखेको थिएँ, चुनावको बेला पनि जनताले नै मलाई छान्नुभयो। उहाँहरूकै आग्रहपछि म चुनावमा उठेको हुँ र त्यही अनुसारको परिणाम पनि पाएँ। अहिलेको जनताको काममा केन्द्रित भएको छु। वडाको बजेट सही ठाउँमा प्रयोग गरेर जनताको समस्या हल गरिहरहेको छु। यसरी काम गर्न पाउँदा खुसी पनि लागेको छ र जिम्मेवारी बोध पनि भइरहेको छ।

वडाको बजेट सही ठाउँमा प्रयोग गरेर जनताको समस्या हल गरिरहेको छु। यसरी काम गर्न पाउँदा खुसी पनि लागेको छ र जिम्मेवारी बोध पनि भइरहेको छ।

भनेपछि वडावासी खुसी छन्?
त्यो कुरा वडावासीसँगै बुझ्दा अझ राम्रो हुन्छ। मेरो बुझाई र काम गराई अनुसार वडावासी मप्रति खुसी नै हुनुहुन्छ होला भन्ने अनुमान मैले गरेको छु। आफूलाई दिएको अधिकारमा टेकेर काम गरेको छु। बजेट दुरुपयोग हुन दिएको छैन । अर्को कुरा, मैले सकेसम्म चुनावमा जसरी अहिले पनि टोलटोलमा पुगेर स्थानीयका समस्या सुन्ने गरेको छु। उहाँहरूका हरेक समस्यामा सारथि बनेको छु।

तपाईंको वडामा भूकम्पको समस्या कस्तो छ?
दुइटा घर भएकाले अनुदान नलिनु भने पनि स्थानीयले मानेका छैनन्। धनी वर्गले झन् छिटो अनुदान लिन खोजेका छन्। बिचल्लीमा परेकाभन्दा सहरभित्रका धनी भूकम्पपीडितले नियम मिचेका छन्। यसमा हामीले विशेष ध्यान दिइरहेका छौं।

तपाईंको वडाको खड्गटोलमा रहेको गणेश मन्दिरमा विवाद भइरहेको छ, वडाअध्यक्षले नक्कली कागजात बनाएर मन्दिर भत्काउन लगायो भन्ने आरोप तपाईंमाथि छ नि?
त्यसो होइन। यो सरासर गलत हो। मैले सक्कली कागजमा जे छ त्यही अनुसार काम गरेको छु। पीडितलाई न्याय दिएको छु। केही स्थानीयले व्यक्तिको जग्गालाई सार्वजनिक जग्गा भनेका छन् त्यो होइन, मन्दिर भएको जग्गा व्यक्तिको नाममा रहेकाले हामीले सबै पक्ष बुझेर त्यो भत्काउन स्वीकृति दिएका छौं। यस विषयमा कसैले पनि अन्यथा नसोचे हुन्छ। मन्दिरको विषयमा वडा र नगरपालिकाले सही निर्णय गरेको छ। कुनै प्रलोभनमा हामी परेका छैनौं।

आफ्नो कार्यकालमा वडालाई कस्तो बनाउने सपना छ?
सोच त सबैलेभन्दा राम्रो र उत्कृष्ट बनाउँ भन्ने नै हुन्छ। तर, हामीले बनाउँछु भनेर मात्रै पनि भएन। धेरै काम त केन्द्रीय सरकारमै भर पर्छ स्थानीय तहलाई कस्तो बनाउने भनेर। यदि केन्द्रीय सरकारले पुग्दो बजेट दिएको भए हामीले त्यसै अनुसारका विकास निर्माणका काम गर्ने थियौं। बजेट नभएर हामीले विदेशी प्रोजेक्ट भित्र्याएरै भए पनि विकास निर्माण गर्नुपर्ने अवस्था छ। त्यसैले मेरो कार्यकालमा वडालाई व्यवस्थित, शिक्षित, सुन्दर नगरपालिका बनाउँछु। त्यसको लागि जनप्रतिनिधि भएदेखि नै कम्मर कसेर विकासका काममा लागिपरेको छु। परिकल्पना अनुसार नै काम गरिरहेको छु।
प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: ३ जेष्ठ २०७६ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App