८ वैशाख २०८१ शनिबार
अन्य

अव्यवस्थित तारले दुर्घटनाको जोखिम

नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्र दूधपाटी भक्तपुरबाटै देखिन्छ, भक्तपुरको सल्लाघारीस्थित यति कार्पेट इन्डस्ट्रिज। कार्यालयबाट पाँच मिनेटको हिँडाइमा पुगिने उद्योगमा गत वर्षको वैशाखको अन्तिम हप्तामा सम्भवतः नेपालकै अहिलेसम्मकै ठूलो आगलागी भयो। यसको कारण थियो– विद्युत सर्ट हुनु। भक्तपुर विद्युत कार्यालयको तार व्यवस्थापनको बेवास्ताले विद्युत सर्ट भएको थियो।

भक्तपुर नगरपालिका वडा नं २ सल्लाघारीस्थित कारखानामा राति ११ बजदेखि लागेको आगो बिहान ७ बजेसम्म पनि नियन्त्रणमा लिन सकिएन।

गत वैशाख २३ गते भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ हनुमानचास्थित गोर्खा इको प्यालनमा पनि आगलागी भयो। आगलागीका कारण कारखानाका ५० लाख भन्दा बढीका मेसिन तथा अन्य सामान जलेर नष्ट भए।

केही समयअघि भक्तपुरकै अति व्यस्त कमलविनायक–देकोचामा सडकका तारमा आगलागी भयो। आगलागीबाट ठूलो धनजनको क्षति नभए पनि आसपासका हजारौं मानिस त्रस्त बने।

यी त उदाहरण मात्रै हुन्, भक्तपुरमा अव्यवस्थित तारका कारण हप्तैपिच्छे साना–ठूला आगलागीका घटना भइरहेका छन्। यसले स्थानीय त्रस्त छन्। तर, यसतर्फ भक्तपुर विद्युत कार्यालयको ध्यान जान सकेको छैन।

‘यो एउटा टोलको मात्रै समस्या होइन, सबैतिरको समस्या हो,’ एक सहप्राध्यापक विश्वमोहन श्रेष्ठ भन्छन्, ‘आज हो कि भोलि आगलागी भई टोल नै समाप्त हुने त्रास सबैतिर भए पनि सरोकारवाला विद्युत कार्यालयको ध्यान जान नसक्नु विडम्बनापूर्ण छ।’

भक्तपुरमा अव्यवस्थित तारका कारण हप्तैपिच्छे साना–ठूला आगलागीका घटना भइरहेका छन्।


हप्तैपिच्छे सानाठूला आगलागी भएर करोडौको धनमाल नष्ट भए पनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको भन्दै उनी आक्रोश व्यक्त गर्छन्।

उनी प्रश्न गर्छन्, ‘धेरै निर्दाेष मानिस मरिसकेपछि मात्रै ध्यान जाने हो कि?’

अव्यवस्थित तारका कारण दुर्घटनाको डर बढेको मात्रै होइन, भक्तपुरलाई कुरूप पनि बनाएको छ। कलात्मक सुन्दर घरलाई नै कुरूप बनाउने गरी सबैतिर माकुरोको जालो जस्तै रहेका तारले आकर्षक घरलाई मात्रै होइन, सिंगो नगरलाई नै कुरूप बनाइदिएको छ।

यही कारण भक्तपुर नगरभित्रका तारलाई भूमिगत बनाउने योजना रहेको बताइएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति भक्तपुरलाई अव्यवस्थित तारले कुरूप बनाएकाले यसलाई भूमिगत बनाउने योजना रहेको सुनाउँछन्। विद्युतका साथै टेलिफोन, इन्टरनेट, केबल टेलिभिजन लगायतका तार पनि भूमिगत गरिने उनले बताए।

सर्वसाधारण जनतालाई अनेक बहानामा दुःख दिन जान्ने तर लाखौं जनताको जिउज्यानसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस्तो संवदेनशील विषयमा ध्यान नदिने भक्तपुर विद्युतको कार्यशैलीप्रति स्थानीय जनता रुष्ट छन्। उनीहरू भन्छन्, ‘एउटा कामका लागि निवदेन हाल्यो भने हप्तौपछि पनि आउँदैनन्, आएर काम गराएपछि पनि फिल्डमा आउने कर्मचारीलाई पैसा नदिई कामै गराउन नसकिने।’

प्राधिकरणको भक्तपुर वितरण केन्द्र दूधपाटी भक्तपुरका प्रमुख प्रज्ज्वलमान श्रेष्ठले सबैतिर तार अस्तव्यस्त भएको स्वीकारे। तर पनि जनशक्ति परिचालन गर्न नसकिने उनले बताए। ‘आवश्यक प-यो भने मात्रै कर्मचारी पठाउँछौं,’ उनले भने, ‘तार जल्यो, चुड्यो भनेमात्रै कर्मचारी जान सक्छन्, नभए जाँंदैनन्।’

प्रकाशित: ३ जेष्ठ २०७६ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App